सरकारले पास गर्‍यो चार नीति, अब बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने – Nepal Press

सरकारले पास गर्‍यो चार नीति, अब बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने

काठमाडौं । सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई गरी चार नीति पास गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९/०८९ र स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७८ पारित भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले जानकारी दिए ।

त्यस्तै समितिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका राष्ट्रिय बालबालिका नीति २०७९ र अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ पास भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने उल्लेख छ । स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई पनि स्वास्थ्यमा समान अधिकारको विषय उल्लेख छ ।

बालबालिका नीतिमा बालबालिकाका चार अधिकारको ग्यारेन्टी गरिएको छ । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीतिमा उल्लेख गरिएको सचिव पाडेले जानकारी दिए ।

अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीतिमा अपांगको सबै निकायमा पहुँच, रोजगारी र सहुलियतको व्यवस्था तथा स्वास्थ्योपचारबारेको विषय प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *