लुम्बिनीमा प्रदेश प्रमुखबाटै सबै सांसदलाई सपथ – Nepal Press

लुम्बिनीमा प्रदेश प्रमुखबाटै सबै सांसदलाई सपथ

रुपन्देही । लुम्बिनीमा प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखले नै सामूहिक रुपमा सपथ गराउने तयारी भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

अन्य प्रदेशमा भने ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले सपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले सपथ गराउने तयारी भइरहेको छ । २०७४ सालमा ज्येष्ठ सदस्य बलदेव पोखरेलले अन्य सदस्यलाई सपथ गराएका थिए ।

प्रदेशसभाको पहिलो कार्यकालमा भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सपथ गराउने उल्लेख गरेका कारण सोहीअनुसार तयारी थालिएको प्रदेशसभा सचिव पुनले बताए ।

लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य रहेका छन् । सांसदहरुको सपथग्रहणअघि लुम्बिनी सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष आग्रह गर्नेछ । सोहीअनुसार पहिलो बैठक बस्नुअघि प्रदेश प्रमुखले सांसदहरुलाई सपथ गराउनेछन् ।

तर, अहिलेसम्म प्रदेशसभाको बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन । प्रदेशसभा सचिव पुनले सरकारले निर्णय गरेपछि मात्रै बैठकको टुंगो लाग्ने बताए ।

प्रदेश प्रमुखले सपथ गराएपछि सभामुखको चयन नहुँदासम्म प्रदेशसभा बैठकको अध्यक्षता ८७ जना सदस्यमध्ये ज्येष्ठ गुल्मीबाट निर्वाचित डिल्लीराज भुसालले गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा एमालेबाट निर्वाचित भुसालको जन्म मिति २०१० साल जेठ ७ गते उल्लेख छ ।

अहिले स्थायी राजधानी दाङको देउखुरीमा निर्माण भएको प्रदेशसभा भवनमै सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर