अमेरिकी सांसद हिंसामा डोनाल्ड ट्रम्प दोषी भएको निष्कर्ष, राजद्रोहको मुद्दा चलाउन सुझाव – Nepal Press

अमेरिकी सांसद हिंसामा डोनाल्ड ट्रम्प दोषी भएको निष्कर्ष, राजद्रोहको मुद्दा चलाउन सुझाव

काठमाडौं । युएस क्यापिटल हिल (अमेरिकी संसद) हिंसाको मामलामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरिएको छ। घटनाबारे छानबिन गरिरहेको कांग्रेस कमिटीले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

६ जनवरी २०२१ मा घटेको उक्त घटनामा ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसमा छिरेर तोडफोड तथा आगजनी गरेका थिए । सो घटनाको बारे छानबिन गरिरहेको कमिटीले सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै ट्रम्प विरुद्ध अघि बढाउन सुझाव दिएको छ।

प्रतिवेदनमा १ हजार जना प्रतक्षदर्शीको बयान समावेश गरिएको जनाइएको छ । ट्रम्पले भने आफू माथि लगाइएका आरोपहरुको खण्डन गरेका छन् । उनले ट्रुथ सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘म माथि लगाइएका सबै आरोप झुटा छन् । छानबिन समितिले छानबिन गरिरहेको उक्त मुद्धामा यसअघि नै महाभियोगको रुपमा कारबाही भइसकेको छ । फेरि पनि त्यही आरोप लगाउनु मलाई र रिपब्लिकन पार्टीलाई किनारा लगाउने षड्यन्त्र हो ।’

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार कांग्रेस कमिटीले ट्रम्पमाथि विद्रोह उक्साएको आधिकारिक कार्यमा बाधा पुर्‍याएको, षड्यन्त्र गरेको झूटा बयान र सरकारलाई धोका दिएको आरोप लगाएको छ। यससँगै राष्ट्रपति चुनावमा पराजयको निर्णय उल्टाउने, करसम्बन्धी मामिला लुकाउने र ह्वाइट हाउसबाट गोप्य कागजात बोकेर हिँडेको मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

यद्यपि छानबिन समितिको प्रतिवेदनमा आएका सिफारिसहरू मान्नुपर्ने बाध्यता भने हुँदैन । यो एक सिफारिस मात्र हो। यस सन्दर्भमा ट्रम्पलाई देशद्रोहको मुद्दा चलाउने वा नचलाउने निर्णय न्याय विभागले गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *