दलको नेतामा देउवाविरुद्ध उम्मेदवारीका लागि सहमतिको ‘अन्तिम’ कसरतमा शेखर-गगन समूह – Nepal Press

दलको नेतामा देउवाविरुद्ध उम्मेदवारीका लागि सहमतिको ‘अन्तिम’ कसरतमा शेखर-गगन समूह

काठमाडौं । कांग्रेस संसदीय दलको नेता छान्ने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । दिउँसो २ बजेदेखि सुरू हुने मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास भइरहेको छ ।

संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउन प्रयासमा छ । तर, देउवाविरुद्ध उम्मेदवार खडा गर्न इतर समूहमा दौडधुप जारी छ ।

संस्थापन इतरबाट शेखर कोइराला र गगन थापा दुवैले दाबी गरिरहेकाले एकजनामात्र उभ्याउने गरी नेताहरू सहमतिको प्रयासमा छन् ।

सोमबार अपराह्न छलफलमा जुटेपनि दुवै नेताले अडान नछाडेपछि आज बिहान शेखर-गगन समूहका नेताहरुको बैठक होटल एम्बास्डरमा जारी छ ।

निर्वाचनको अघिदेखि नै गगन थापाले संसदीय दलको नेता लड्न तयारी थालिसकेको बताएका थिए । सुरूमा केही संकेत नगरेका शेखरलाई नजिक रहेका सांसदले अहिले गगनलाई अघि बढाउन नहुने भन्दै गगनभन्दा आफूहरूसँग सांसद बढी भएकोले गगनलाई नछाड्न दबाब दिएको बताइएको छ ।

‘सिनियारिटीको हिसाबले पनि शेखर दाइको लागि सबै साथीहरूलाई सहमत गराउन लागिरहेका छौँ । प्रयास जारी छ । निष्कर्ष आइसकेको छैन’, इतर समूहका एक नेताले भने ।

यता अर्का महामन्त्री विश्वप्रकाश शर्माको समर्थन पाएका गगन पनि पछि हट्ने मनस्थितिमा छैनन् । उनले छलफलमा आफू एक्लै भएपनि लड्ने बताएका छन् ।

गठबन्धनबाट ९१ सीट उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ । समानुपातिकसहित प्रतिनिधिसभामा कांग्रेसको ८९ सीट छ ।

देउवाले टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । १४औँ महाधिवेशनपछि संस्थापनइतर पक्ष तितरबितर भएपछि देउवालाई पार्टीभित्र ‘कम्फरटेबल’ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर