तीन महिनादेखि बन्द सहकारी खुल्न थाले – Nepal Press

तीन महिनादेखि बन्द सहकारी खुल्न थाले

काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो ।

बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

सहकारीको काम गर्न जिम्मेवारी दिएका कर्मचारी जिम्मेवारी नलिई हिँडेपछि समस्या आएको बताउँदै उहाँले नयाँ कर्मचारी नियुक्त गरेर काम थालिएको सुनाए । बचतकर्ता सबैको साँवा, ब्याजसहित फिर्ता गरिने सहकारीको प्रतिबद्धता छ ।

सहकारीले बचत फिर्ता गर्न छोडेको सात महिना पूरा भए पनि कार्यालय खोलेर कारोबारसहित बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि खुसी लागेको बचतकर्ता उमेश खतिवडाले राससलाई जानकारी दिए ।

सकारात्मक सोच लिएर कार्यालय खोलेपछि हामीले पनि सहयोग गर्न थालेको बचतकर्ताको भनाइ छ । पटक–पटक दिएको समयसीमामा पनि सहकारीले बचत फिर्ता गरेको छैन । दसैँपछिदेखि त कार्यालय नै खुल्न छोडेकामा गत हप्तादेखि कार्यालय खुल्न थालेपछि बचत फिर्ता हुने आशा पलाएको खतिवडाले सुनाए । सहकारीमा लाखौँ रुपैयाँ जम्मा गरे पनि आवश्यक पर्दा पाउन नसकेको भन्दै बचतकर्ताले गुनासो गर्दै आएका छन् ।

सहकारीले करिब ११ करोड बचत फिर्ता गर्नुपर्ने छ । बजारमा सात करोड ऋण लगानी रहेको अध्यक्ष लामाले बताए । पाँच करोडको घर सहकारीका नाममा छ । शेयर सदस्यको शुल्क एक करोड गरी १३ करोडको पुँजी रहेको पनि उनको भनाइ छ । आगामी पुस ९ गते सहकारीले आफ्नै भवनमा साधारणसभा बोलाएको छ ।

सहकारीमा लामा २०७५ सालदेखि अध्यक्ष हुनुहुन्छ । त्यसअघि साम्देन लामाले सहकारीको अध्यक्ष भएर काम गरेको थियो । साम्देन लामाले विसं २०६३ मा सहकारी स्थापना भएदेखि २०७५ सालसम्म सहकारीको अध्यक्ष चलाएको हो ।

सहकारीको अहिले रहेको करिब सात करोड ऋणमध्ये करिब ९० प्रतिशतभन्दा बढी साम्देन लामा अध्यक्ष भएका बेलामा लगेको अभिलेख सहकारीमा रहेको उपाध्यक्ष विजय तामाङले जानकारी दिए ।

‘धेरै ऋणीका घरमा ऋण उठाउन जाँदा साम्देन लामासँग ऋण लिएको हो, उहाँसँग कुरा मिलाइसकेको छु भन्छन्, पूर्व अध्यक्ष साम्देन लामा कार्यालयमा आउँछु, सबै मिलाउँछु भन्नुहुन्छ, तर आउनु हुन्न, अब साधारणसभामा यो विषय पनि लैजान्छौँ”, उनले भने।

सहकारीको ऋण उठ्न छोडेपछि सञ्चालक एकले अर्कोलाई दोष देखाउन थालेका थिए । केही पदाधिकारी एवं सदस्यले भने राजीनामा दिइसकेको बताउँदै अब आफ्नो कुनै जिम्मेवारी नरहेको भन्दै पन्छने गर्न थालेको बचतकर्ताको गुनासो छ ।

सहकारीबाट राजीनामा दिइसकेको बताउने पूर्व सचिव अमरनाथ घिमिरे स्थापना कालदेखि नै अध्यक्षमुखी भएर सञ्चालन गरेका कारण यस्तो अवस्था आएको बताउँछन् ।

‘सहकारी सबै सञ्चालक एवं शेयर सदस्यको सहकार्यमा चल्नुपर्ने हो, अरु सदस्यले पनि अध्यक्षको मात्र संस्थाजस्तो गर्ने र अध्यक्षले पनि व्यक्तिगत कम्पनीजस्तो गरी चलाउने गर्दा धेरै सहकारीमा समस्या आउने गरेको देखिन्छ, यसरी सञ्चालन गर्ने सहकारीको सिद्धान्त नै होइन’, उनले भने ।

सहकारीमा १४ वर्षदेखि खाता खोलेर बचत गर्दै आएका जोरपाटी माकालबारीमा फर्निचर सञ्चालन गर्ने पन्नालाल ठाकुर आठ महिनादेखि सहकारीबाट बचत फिर्ता पाउन नसकिएको गुनासो गर्छन् । करिब पाँच लाख सहकारीमा बचत गरेको ठाकुर दिनमा एक पटक सहकारी धाउने गरेपनि पछिल्लो समय खुल्न छोडेको कार्यालय खुलेसँगै डुबेको पैसा पाइने आशा जागेको बताउँछन्।

अन्य चार सहकारीका सञ्चालक अझै बेपत्ता

काठमाडौँ महानगरपालिका–६ बौद्धमा कार्यालय रहेको सुमो बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–६ मा कार्यालय रहेको मुक्ति बचत तथा ऋण सहकारी संस्था, गोकर्णेश्वर–५ मै कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कागेश्वरी मनोहरा नगरापालिका–८ शिवचोकमा कार्यालय रहेको कागेश्वरी बचत तथा ऋण सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकी कार्यालय बन्द गरेको जनाइएको छ ।

स्वर्णलक्ष्मी सहकारीले त बोर्ड पनि हटाएको प्रहरी बिट जोरपाटीले जनाएको छ । गोकर्णेश्वर–६ मा रहेको मुक्ति सहकारी संस्थाका बचतकर्ताले संस्थाका पदाधिकारी र सञ्चालकलाई वडा कार्यालयमै लगेर पैसा फिर्ता गर्ने सहमति गराएका छन् ।

सहमति गराउन वडाध्यक्ष नवराज लामाले पनि सहयोग गरेको बचतकर्ताले जनाएका छन् । तर वडाध्यक्ष लामाले भने मञ्जुश्री सहकारीबाट लिएको ऋण १० वर्ष पूरा हुँदा पनि नतिरेको भनी नाम सार्वजनिक भएको छ ।

मञ्जुश्री सहकारीका उपाध्यक्ष तामाङ वडाध्यक्ष लामालाई पटक–पटक पत्राचार गर्दा पनि अझै ऋण तिर्न नआएको बताउँछन् । अन्य ऋण नतिर्ने जनप्रतिनिधिको पनि नाम सार्वजनिक गरिने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *