पोखराको मिडलपाथ स्ट्रीट- फ्रेस इलेमेन्ट्सले बनाएको खानपिन र मनोरञ्जनको गन्तव्य (भिडिओ) – Nepal Press

पोखराको मिडलपाथ स्ट्रीट- फ्रेस इलेमेन्ट्सले बनाएको खानपिन र मनोरञ्जनको गन्तव्य (भिडिओ)

जापानबाट फर्किएर रमेश कार्कीले थालेको हस्पिटालिटी बिजनेस, आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्दैछ फ्रेस इलेमेन्ट्स

पोखरा । स्याङजाका रमेश कार्कीको संघर्षको कथा अलि फरक र कतै रहरलाग्दो कतै डरलाग्दो कहानीले भरिएको छ । तर, पर्यटकीय राजधानी पोखरामा ‘हस्पिटालिटी बिजनेस’को हब बनाइरहेका कार्की आफूलाई ‘अण्डरडग’ राख्छन् अर्थात आफू होइन आफ्नो व्यवसाय चिनाउन चाहन्छन् ।

गत साता पोखरामा भेटिँदा उनी पर्वतीय संग्रहालयभित्र अवस्थित क्यान्टिनको लोकल कुखुरा र खसी-बोकालाई चारो दिँदै थिए । कार्कीले माहुरी पनि पालेका छन् । तर, यो उनको व्यवसाय भने होइन ।

‘लो प्रोफाइल’ का ‘हाइ सक्सेस’ व्यवसायीका रुपमा स्थापित भइरहेका कार्कीले पोखरामा अब बाह्यमात्र होइन आन्तरिक पर्यटकको लागि पनि सबै सुविधा एउटै थलोमा उपलब्ध गराउन थालेपछि उनको ब्राण्ड बन्दैछ । मिडलपाथ होटलबाट सुरु भएको व्यापार क्लब सिक्सटिनसम्म पुग्दा आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनिसकेको छ ।

होटल मिडलपाथमा अतिथि पर्यटकसँग सञ्चालक रमेश कार्की ।

१२ वर्षअघि जापानबाट फर्किएर पोखरा आउँदासम्म रमेश कार्कीसँग अब के गर्ने भन्ने ठोस योजना थिएन । उनी जीवनमा धेरै ठूला दुःख र संघर्षका पहाड छिचोलेर पोखरा फर्किएका थिए । जापानको अनुभवले उनलाई सेवामूलक व्यवसायमा लाग्न सहयोग पुग्यो ।

भिडिओ

लेकसाइडको भित्री सडक जहाँ मान्छेहरुको आवतजावतसमेत हुँदैन थियो, त्यस ठाउँमा उनले मिडलपाथ होटलबाट आफ्नो व्यवसाय थाले । आफैंले जग्गा किनेर बनाएको होटलले उनलाई कहिल्यै निराश बनाएन । धेरै तडकभडक नभएको तर भित्र पसेपछि हरेक व्यक्तिलाई लोभ्याउने शैलीको मिडलपाथ होटलले उनलाई पोखरामा टिकायो र टेकायो ।

उनका आफ्नै ग्राहक बने । विदेशी पर्यटकले सधैं भरिने उनको होटलमा बुकिङको लागि पालो पर्खिनुपर्छ । बन्जर गल्लीमा कार्कीले थालेको मिडलपाथ होटलको सफलतासँगै उनले आफ्ना विदेशी पर्यटक ग्राहकलाई लक्षित गरेर मौलिक शैलीको रेस्टुरेन्ट सञ्चालन गर्ने योजना बनाए ।

उनी पर्यटकलाई नेपाली अर्ग्यानिक खानेकुरामा पल्काउन चाहन्थे र रेस्टुरेन्टको नाम अर्ग्यानिक राख्न चाहन्थे । तर, उनले ढाँटेर व्यापार गर्न चाहेनन् । अर्ग्यानिक भने पनि सबै अर्ग्यानिक सामग्री जम्मा गरेर रेस्टुरेन्ट सञ्चालन गर्न असम्भव छ । न अर्ग्यानिक उत्पादन नै व्यापारको तहमा सम्भव छ न त उपलब्ध गराउन नै सकिन्छ ।

अर्ग्यानिक भनेर ढाँट्नुभन्दा उनले उपाय निकाले अर्ग्यानिक खाना खुवाउन नसके पनि ताजा खुवाउन त सकिन्छ नि ! त्यसपछि उनको दिमागमा आयो ‘फ्रेस इलेमेन्ट्स’ । ताजा परिकार खुवाउने प्रतिबद्धतासहित उनले सन् २०१६ बाट मिडलपाथ होटलकै केही पर अर्को जग्गा लिएर फ्रेस इलेमेन्ट्स रेस्टुरेन्ट सुरु गरे ।

फ्रेस इलेमेन्ट्स रेस्टुरेन्टको मेनुमा पसेपछि जोकोही ग्राहक अर्कोपटक दोहोर्‍याएर नआउने कमै होलान् । कोभिड महामारीले उनको व्यापारलाई नयाँ मार्ग दियो । भनिन्छ सबै महामारी र संकटले विनाशमात्र गर्दैनन्, फ्रेस इलेमेन्ट्स पोखराको हकमा पनि कोभिड महामारीले नयाँ अवसर र व्यापार विस्तार दियो ।

लकडाउनको बेला सबै व्यवसाय बन्द थिए । उनका ग्राहक प्रायः विदेशी पर्यटक हुन् । पर्यटक आआफ्नो देश फर्किएपछि पोखराका होटल तथा रेस्टुरेन्टहरु बन्द भए । तर, फ्रेस इलेमेन्ट्स रेस्टुरेन्टको भने व्यापार बुम भयो । मीठो र ताजा खानाका सोखिन नेपालीहरु फ्रेस इलेमेन्ट्सका ग्राहक भए र लकडाउनकै बेला उनको व्यापार फस्टायो ।

अब फ्रेस इलेमेन्ट्स रेस्टुरेन्ट विदेशी पर्यटकको मात्र गन्तव्य रहेन । पोखरेली खानाका पारखीहरुको पहिलो रोजाइ बनेको यो ठाउँ काठमाडौंलगायत बाहिरबाट जाने आन्तरिक पर्यटकको समेत गन्तव्य बनेकाले बिहानदेखि मध्यरातसम्म गुल्जार बन्न थालेको छ ।

विशेषगरी पोर्क र चिकेनका अन्यत्र नपाइने परिकार तथा खानाको स्वादका कारण एकपटक फ्रेस इलेमेन्ट्स पुगेका मान्छे अन्यत्र जाँदैनन् । पोखरा जानेहरुले एकपटक फ्रेस इलेमेन्ट्स पुगेर खाइसकेपछि मात्र यसको खासियत थाहा पाउने भएकाले रमेश कार्की र उनका मेहनती टीमको व्यस्तता बढेको छ ।

मिडलपाथ होटलमा बस्नेहरुमात्र होइन अन्य होटलका ग्राहक तथा पोखराबासीको समेत चाप फ्रेस इलेमेन्ट्समा बढेपछि कार्कीले नयाँ आइडिया निकाले-पिउनेहरुका लागि नमुना बार बनाउने । फ्रेस इलेमेन्ट्समा परिवारसहित लन्च डिनर गर्नेहरुको आकर्षण बढेपछि उनले पिएर इन्जोय गर्नेहरुका लागि बार बनाउन थाले ।

रेस्टुरेन्टसँगै रहेको जग्गामा बार बनाउने क्रममा यो यति लामो क्षेत्रफलमा बन्यो कि त्यसपछि बारको नाम नै उनले ‘लङ्गेस्ट बार’ राखे । सञ्चालक रमेश कार्कीको दाबीअनुसार यो नेपालको त सबैभन्दा लामो बार हुँदै हो, अन्य देशमा पनि यति लामो बार हुन्न । लङ्गेस्ट बारमा करोडौं मूल्यका विदेशी वाइन र ह्विस्कीहरु पाइन्छन् ।

फ्रेस इलेमेन्ट्स रेस्टुरेन्टले खानेकुरामा पोखरामा जुन क्रान्ति ल्यायो, लङ्गेस्ट बार अर्को आकर्षण बनेको छ । खानाको परिवार र स्वादका कारण मान्छेको चाप बढेपछि उनले पिउने र रमाइलो गर्नेहरुका लागि लङ्गेस्ट बार खोलेका थिए । विस्तारै लङ्गेस्ट बारले युवाहरुलाई धान्न नसकेपछि कार्कीको ‘हस्पिटालिटी बिजनेश’ले छलाङ मारेको छ ।

होटल, रेस्टुरेन्ट र बारको सफलतापछि उनले फ्रेस इलेमेन्ट्स र लङ्गेस्ट बारसँगै सटाएर ‘क्लब सिक्सिटिन’ सञ्चालनमा ल्याएका छन् । संयोग नै मान्नुपर्छ रमेश कार्कीले जहाँ छोए त्यहाँ सफलता पाए । क्लब सिक्सटिन अहिले पोखरेली युवामात्र होइन आन्तरिक र बाह्य पर्यटकको समेत आकर्षणले राति ११ बजेदेखि बिहान ४ बजेसम्म व्यस्त रहन्छ ।

हिजोको अनकन्टार लेकसाइडको १६ नम्बर गल्ली आज मिडलपाथ होटल, फ्रेस इलेमेन्ट्स रेस्टुरेन्ट, लङ्गेस्ट बार र क्लब सिक्सटिनले गर्दा व्यस्त बनेको छ । अहिले सो गल्लीमा धेरै होटल, रिसोर्टहरु खुलेका छन् । अब यो गल्लीको नामसमेत मिडलपाथ मार्ग बनेको छ ।

रमेश कार्कीले फ्रेस इलेमेन्ट्स रेस्टुरेन्ट, लङ्गेस्ट बार र क्लब सिक्सटिन सबै फलामको संरचनाबाट बनाएका छन्, जुन यहाँ पहिलो प्रयोग पनि हो । संसारका सबै मुख्य खानाको रेसिपी एकै ठाउँमा उत्कृष्ट स्वादसहित पस्किनु नै फ्रेस इलेमेन्ट्सको सफलताको रहस्य हो । यसको फ्रेन्चाइजका लागि धेरै ठाउँबाट आग्रह आए पनि ‘क्वालिटी मेन्टेन’ नहुने डरले उनी अहिलेसम्म हौसिएका छै्रनन् ।

लङ्गेस्ट बार, फ्रेस इलेमेन्ट्स सबैको कपिराइट उनले दर्ता गरिसकेका छन् भने यसअघि उनले अग्र्यानिक गार्डेनको जुन परिकल्पना गरेका थिए, त्यसको पनि कपिराइट उनीसँगै छ । फ्रेस इलेमेन्ट्सले पोखरामा खानाको गन्तव्य र पारखी दुवैलाई एकै ठाउँमा ल्याइदिएको काठमाडौंका पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा बताउँछन् ।

फ्रेस इलेमेन्ट्स र लङ्गेस्ट बारमा पुगेर फर्किएका पर्यटकहरुकै कारण आफूले थाहा पाएर पछिल्लो समय आन्तरिक पर्यटकलाई समेत आफूले लेकसाइडको मिडलपाथ स्ट्रीट सिफारिस गर्न थालेको उनले बताए ।

‘खान र मनोरञ्जन गर्न एक्लै वा पारिवारिक रुपमा जानेहरु एकपटक फ्रेस इलेमेन्ट्स पुग्नैपर्ने गन्तव्य बन्नु हामी व्यवसायीका लागि पनि राम्रो हो’, अर्का पर्यटन व्यवसायी सुदर्शन न्यौपानेले भने ।

फ्रेस इलेमेन्ट्स, लङ्गेस्ट बार र क्लब १६ ले यस क्षेत्रका किराना तथा मदिरा व्यवसायीदेखि चिया बेचेर जिविका चलाउनेहरुलाई समेत व्यापार दिएका छन् । भर्खरै चम्किँदै गरेका रमेश कार्कीको एकै ठाउँबाट सबै सेवा उपलब्ध गराउने आइडिया साँच्चिकै लोभलाग्दो देखिन्छ । विशेषगरी खाने र मनोरञ्जन गर्ने उद्देश्य बोकेर पोखरा जानेहरुका लागि मिडलपाथ स्ट्रीटको फ्रेस इलेमेन्ट्स रेस्टुरेन्ट छुटाउन नहुने गन्तव्य बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *