स्वतन्त्र विजयी तारा जोशीलाई भित्र्याउन दलहरू सक्रिय, यस्ता छन् जोशीका चार विकल्प – Nepal Press

स्वतन्त्र विजयी तारा जोशीलाई भित्र्याउन दलहरू सक्रिय, यस्ता छन् जोशीका चार विकल्प

कैलाली । मंसिर २८ गते धनगढीमा नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक सम्पन्न भयो । बैठकमा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष प्रवेश हमाल पनि उपस्थित थिए । उक्त बैठकमा डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका डा. तारा जोशीलाई पार्टीमा भित्र्याउनुपर्नेमा सबैले जोड दिए ।

बैठकमा रिपोर्टिङ गर्ने जिल्ला इन्चार्ज र अध्यक्षहरूले तारा जोशीलाई पार्टीमा ल्याउन कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले आफूले जोशीसँग संवाद गरेको र जोशी आफ्ना मागहरू सम्बोधन हुने अवस्था आए पार्टीमा आउन तयार भएको बताएका थिए ।

त्यसअघि तारा जोशीले काठमाडौंमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका थिए । उक्त भेटमा माधव नेपालले संसदीय दलको सदस्य बन्न जोशीलाई आग्रह गरेका थिए । नेपाललाई यस विषयमा आफूले केही दिनपछि निर्णय लिने भन्दै जोशी फर्किएको स्रोतको दाबी छ ।

यता प्रदेश अध्यक्ष सिंहलाई पनि जोशीले आफ्ना एजेन्डाहरू प्रस्तुत गरेका थिए । विकासका एजेन्डामा गम्भीर बन्ने अवस्थामा पार्टीमा आउन तयार रहेको मंसिर २८ गतेको प्रदेश बैठकमा सिंहले सुनाएका छन् । केही दिन पहिले काठमाडौं पुगेका जोशीलाई नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि पार्टीमा फर्किन आग्रह गरेका थिए ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका जोशी केन्द्रीय सदस्य तथा उद्मशीलता विकास विभाग प्रमुखको जिम्मेवारीमा थिए । यस पटक गठबन्धनबाट उम्मेदवार बन्ने योजनामा रहेका जोशीले निर्वाचनको टिकट पाएनन् । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिए र सत्ता गठबन्धनका उम्मेदवार प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहरालाई हराउँदै निर्वाचित भए । बोहरा कांग्रेसका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा कांग्रेसका उम्मेदवारलाई हराएर निर्वाचित जोशीलाई अहिले नेकपा एकीकृत समाजवादीले मात्र होइन एमाले, कांग्रेस र माओवादी केन्द्रले पनि आफ्नो दलमा ल्याउन खोजिरहेका छन् ।

काठमाडौंमा रहँदा जोशीलाई प्रधानमन्त्री देउवापछि संसदीय निर्वाचन लड्ने गरी पार्टीमा आउन कांग्रेसबाट प्रस्ताव आएको स्रोतको दाबी छ । यता एमालेका महासचिव शङ्कर पोख्रेलसँग टेलिफोन संवाद गरेका जोशीले यस विषयमा प्रदेशमै छलफल भइरहेको बताएका थिए ।

जोशीलाई एमालेमा भित्र्याउन प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायतले पनि पहल गरिरहेका थिए । एमाले र माओवादी मिलेर नेकपा हुँदा जोशीले डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका थिए । त्यस अघि उनी जिल्ला अध्यक्ष थिए । लामो समय अध्यक्ष भएपछि सचिव बनाउँदा उनले पदत्याग गरेका थिए ।

अघिल्लो पटक एमालेबाट प्रदेशसभामा उम्मेदवार बन्दा जोशी कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित भएका थिए । अहिले मल्लकै पार्टी बीपी कांग्रेसको सहयोगमा उनी स्वतन्त्रबाट जित्न सफल भए ।

जोशीका चार विकल्प

अहिले जोशीसमक्ष चार विकल्प छन् । उनी अहिले सबै विकल्पमा छलफल गरिरहेका छन् ।
उनीसँग सबैभन्दा पहिलो विकल्प स्वतन्त्र नै रहने रहेको छ । ‘स्वतन्त्र उम्मेदवार भएर जितेपछि उहाँ स्वतन्त्र नै रहन पनि सक्नुहुन्छ’, जोशी निकट एक नेताले भने, ‘स्वतन्त्र भएर पनि जनताका समस्या बुलन्द पार्ने विषयमा छलफल गरिरहनुभएको छ ।’

जोशीसँग नेकपा एकीकृत समाजवादीमा गएर मन्त्री बन्ने अवसर पनि छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल उनलाई पार्टीमा ल्याएर मन्त्री दिन तयार छन् ।

जोशीसँग भएको अर्को विकल्प नयाँ पार्टी सुरु गर्ने हो । यो विकल्पमा पनि उनले छलफल चलाइरहेका छन् । ‘उहाँको विकास विचार महत्त्वपूर्ण छ । सुदूरपश्चिम र कर्णाली प्रदेश समेट्ने गरी राष्ट्रिय पार्टी सुरु गर्ने विषयमा पनि उहाँ छलफलमा हुनुहुन्छ’, उनी निकट स्रोतले भन्यो, ‘समाजवाद विचारमा पार्टी सुरु गर्ने उहाँको पुरानै योजना हो ।’

जोशीका लागि यो सबैभन्दा सकसपूर्ण विकल्प रहेको बताइन्छ । जोशीसँग भएको अर्को विकल्प एमालेमा फर्किने हो । तारा लामा तामाङले काठमाडौंमा यसको प्रयास सुरु गरेको बताइन्छ ।

उनी लामो समय एमालेको जिल्ला नेतृत्वमा रहेका थिए । ‘उहाँलाई एमालेमा ल्याउने विषयमा छलफल भइरहेको छ । तर, उहाँले अझै कुनै निर्णय दिनुभएको छैन’, एमाले स्रोतले भन्यो, ‘उहाँका माग र मुद्दा सम्बोधन हुने अवस्था आए फेरि एमाले नहुने भन्ने कुरा छैन। ’

तर, जोशी स्वयंले भने अहिलेसम्म स्वतन्त्र रहनेबाहेक धेरै विकल्प नसोचेको बताउँछन् । यो विकल्प पनि दीर्घकालीन हुनेमा भने उनलाई शङ्का छ । ‘अहिले स्वतन्त्र जितेको हो । स्वतन्त्र नै रहन्छु’, उनी भन्छन्, ‘त्यसपछिको विकल्प घटनाक्रमले निर्धारण गर्छ ।’

प्रतिक्रिया

One thought on “स्वतन्त्र विजयी तारा जोशीलाई भित्र्याउन दलहरू सक्रिय, यस्ता छन् जोशीका चार विकल्प

  1. ईमान्दार स्वच्छ छवि भएका निस्वार्थ छबि भएका बिकासप्रेमि नेता हुन तारा जाेशि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर