रुपन्देहीमा पर्यटकीय गन्तव्य खोज्न ‘हाइकिङ’ – Nepal Press

रुपन्देहीमा पर्यटकीय गन्तव्य खोज्न ‘हाइकिङ’

रुपन्देही । रुपन्देहीमा पर्यटकको बसाइ लम्बाउने उद्देश्यसहित पर्यटन व्यवसायीले हरेक महिनाको पहिलो शनिबार विभिन्न क्षेत्रको पैदलयात्रालाई अगाडि बढाउने भएका छन् ।

पर्यटनका नयाँ गन्तव्यहरुको पहिचान गर्न यस्तो अभियान सुरु गरिएको व्यवसायीको भनाइ छ । यही अभियानअन्तर्गत शनिबार पहिलोपटक करिब ३ सय सरोकारवालालाई लिएर व्यवसायीहरुले बुटवल-नुवाकोट पैदलयात्रा तय गरेका छन् ।

शहर नजिकका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको ‘हाइकिङ’मा करिब ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीका अध्यक्ष रचना पन्तले जानकारी दिइन् ।

सामान्यतया शहर नजिकका क्षेत्रहरुको पैदलयात्रालाई नै हाइकिङ भन्ने गरिन्छ । सोहीअनुसार नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा यस्तो अभियान थालेको पन्तले बताइन् । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित बृहत पदयात्राको तयारी पूरा भएको पन्तको भनाइ छ ।

नुवाकोटमा सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसँगै पर्यटन पूर्वाधारहरुको समेत अवलोकन कार्यक्रममा हुने रुट संयोजक मदन ज्ञवालीले जानकारी दिए ।

यो कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका सदस्यहरु सहभागी हुने नाटाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । बुटवलको मणिमुकुन्द सेन उद्यानबाट नुवाकोट पुगेर फर्किने क्रममा वातावरण सफा राख्ने सन्देशसहित त्यस क्षेत्रमा रहेका प्लाष्टिकजन्य फोहरसमेत व्यवस्थापन गर्ने कार्यक्रम आयोजकले बताएको छ ।

आयोजकका अनुसार फूलबारीदेखि नुवाकोट साढे ३ र फर्कंदा साढे ३ गरी कुल ७ किलोमिटरको दुरीको यात्रामा सहभागीलाई टी-सर्ट, पिउने पानी, नास्ता, खानाको व्यवस्थापन गरिएको छ ।

व्यवसायी यो अभियानमा स्थानीय तथा प्रदेश सरकार, नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरी, विभिन्न संघसंस्था तथा क्लब, शैक्षिक संस्थाबाट स्वयंसेवकका रुपमा सहभागिता रहने आयोजकको भनाइ छ ।

रुपन्देही क्षेत्रमा आउने पर्यटकहरुको बसाइ लम्बाउन र पर्यटकीय क्षेत्रका सम्भावित योजनाहरु बनाउन यस्ता अभियानले साथ दिने व्यवसायी कुलचन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *