सूर्य थापा भन्छन् : प्रचण्डको नेतृत्व स्वीकार्य छैन, कांग्रेससँग सहकार्य हुनसक्छ – Nepal Press

सूर्य थापा भन्छन् : प्रचण्डको नेतृत्व स्वीकार्य छैन, कांग्रेससँग सहकार्य हुनसक्छ

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूुरो सदस्य सूर्य थापाले कम्युनिष्ट एकताको नाममा पटक-पटक धोका दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् ।

बिहीबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्र्दै प्रतिनिधिसभा सदस्य थापाले कांग्रेसको नेतृत्वमा मोर्चा बनाएर एमालेलाई सत्ताच्युुत गर्ने, चुनावमा पराजित गर्न भएभरका शक्ति प्रयोग गर्ने अनि कतै पनि पार नलाग्ने अवस्थामा पुन एमालेमा घुस्रिन आउनेलाई नेता मान्न नसकिने तर्क गरेका छन् ।

नेकपा एमालेले वामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताउँदै थापाले भने, ‘प्रचण्डको नेतृत्व फेल भएको, असफल भएको प्रमाणित भइसक्यो, एमालेका अध्यक्षलाई चार पटक फालेर पार्टी नै कब्जा गर्न खोजिएको दुनियालाई अवगत छ, अझै किन ल्याएर पूजा गर्ने ? कुनै हालतमा मिल्दैन, कतैबाट आए म नोट अफ डिसेन्ट लेखेर मैदानमा आउँछु ।’

‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन, एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ नभए नेपाली कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ, अहिलेको जनादेशले स्थितरता रहने अवस्था छैन’ थापाले भने ।

विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ । ‘चुनावको बेला कांग्रेसपन्थी हुनेलाई अहिले बामपन्थी एकताको भूत चढेको छ, यो पराजित अवस्थाको छटपटि हो, एमालेजनले पुरानो चोट भुलेका छैनन्, अब गल्ती गर्न हुँदैन, थापाले भने, ‘अबको अस्थिर अवस्थाको विकल्प एमाले कांग्रेस मिलेर ५ वर्षको सहमति सरकार बनाउन सकिन्छ, सहमति नै गरेर आधाआधा कार्यकाल चलाए भैगायो नि, हिजो पनि ठूला ठूला आन्दोलनको नेतृत्व मिलेरै भएका छन्, देशको आवश्यकता नै अस्थिरता हटाउने हो ।’

नेता थापाले प्यूठानमा गठबन्धनको मत १० हजार अगाडि भएपनि जनताले एमालेलाई ५ हजार मतान्तरले जिताएर गठबन्धनलाई पराजित बनाएको बताए । उनले अब जिल्लामा मसालको विषय इतिहास भएको दाबी गरे ।

नेता थापाले स्थानीयका माग र जिल्लाको विकासका धेरै अपेक्षा भएपनि प्राथमिकताका आधारमा ५ वर्षमा आफूले गर्नसक्ने कामहरुको सूची बनाएको बताए । उनले चुनावपछि पनि सबै क्षेत्रमा पुगेर स्थानीयसँग खुशी साट्दै उनीहरुका आवश्यकताका विषयलाई सूचीकृत गरेको बताए ।

प्रतिक्रिया

One thought on “सूर्य थापा भन्छन् : प्रचण्डको नेतृत्व स्वीकार्य छैन, कांग्रेससँग सहकार्य हुनसक्छ

  1. फेरि त्यहि प्रचण्ड र माधवसँग एकता गर्ने । अनि विकास र स्थायित्व दिने बेलामा तिनले फुटाउनेछन् र भारतको चाकडी गर्नेछन् । त्यस्ता अनैतिक र देशद्रोहीसँग एकता गरियो भने त्यहि दिनदेखि एमाले त्यागिन्छ र खेत जोतेर जिन्दगी बिताईन्छ । ती सकिदै गएकालाई फेरि मिलाएर जगाईदिने अनि आफैलाई सिध्याउन दिने । यस्तो खेलमा एमाले बिल्कुल लाग्नु हुँदैन । र अर्को कुरा चुनावताका एमाले छिर्ने अनि टिकट हत्याउन दिने काम पनि एमालेको गम्भीर त्रुटि हो । अन्य पार्टीमा टिकट नपाउने भएपछि, अन्य पार्टीले कारवाही गर्ने भएपछि एमाले छिर्यो टिकट हत्यायो । वर्षौंदेखि पार्टीमा काम गरेका हिस्स । अनि पार्टीमा किन दुख गर्ने ? दिनेश कोईरालालाई समर्थन गर्नुभन्दा आफ्नै उम्मेद्वार उठाएको भए जित्थ्यो । वारामा हिजो जसपा छोडेकोलाई आज एमालेले टिकट दिएर भयो के ? उमाशंकरले के नापे ? मोरङ्गका मण्डलले एमाले नभए पनि जिते त । जसपा किन ? एकनाथ किन ? कमल थापालाई किन सूर्य चिन्ह ? हृदयस त्रिपाठी कहिल्यै एमालेको पक्षमा छैनन । अनि किन उनलाई सधै समर्थन ? २ भोट आए पनि आफ्नै उम्मेद्वार हुनुपर्थ्यो । नेतृत्व गम्भीर बनोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर