संघीयता कार्यान्वयनमा लुम्बिनी पहिलो: मुख्यमन्त्री – Nepal Press

संघीयता कार्यान्वयनमा लुम्बिनी पहिलो: मुख्यमन्त्री

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबारबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थालेको छ । मंसिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानीमा सारिएको थियो ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय उद्घाटनलाई उत्सवमय बनाइएको छ । स्थानीय र प्रदेश सरकारबीचको समन्वयको आधारमा राजधानी कार्यान्वयनलाई उत्सवमय बनाइएको हो । गाउँगाउँबाट झाँकीसहित मानिसहरु राजधानी हेर्न पुगे ।

खुसी भए, अनी राजधानीले अवसर, विकास, रोजगारी ल्याओस भन्ने चाहना आम सर्वसाधारणको छ । प्रदेश संरचना स्थापना भएको पाँच बर्ष पूरा हुदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले आधुनिक राजधानी शहर अवको योजना हुनुपर्ने बताए । ‘काठमाण्डौंजस्तो साँघुरो होइन, यहाँ बन्ने राजधानी सबै हिसावले उत्कृष्ठ र आधुनिक हुनेछ’उनले भने,‘राजधानी आयो जग्गा महंगो मात्रै भयो भनेर मख्ख नपर्नुहोला, राजधानीको अनुचित भन्दा उचित लाभ लिने बारेमा सोच्नुहोला ।’

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशले संघीयता कार्यान्वयनमा पहिलो जित निकालेको बताएका छन् । ‘संघीयता कार्यान्वयनमा लुम्बिनीले जीत निकाल्न सफल भयो, यो प्रदेशका सबै जनताको जीत हो ।’ उनले भने ।

निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले शून्यबाट सुरु भएको प्रदेश सभा अहिले आफ्नै संरचनाबाट सुरु हुनु सुखद भएको बताए । प्रदेश प्रमुख सचिव डाक्टर दिपक काफ्लेले राजधानीबाट प्रदेशको प्रशासन चल्ने बताए ।

एक साताअघि बुटवलबाट सारिएको मुख्यमन्त्री कार्यालय तथा अन्य मन्त्रालय बुधबारबाट औपचारिक सुरुवात भएको घोषणा भएको छ । अवको महिना दिनभित्र अन्य मन्त्रालय यहि परिसरभित्र रहने र प्रदेश सभा पनि सोही स्थानबाट संचालन गर्ने सरकारको तयारी छ ।

६ मन्त्रालय राप्ती टेक्निकल शिक्षालय परिसर र बाँकी अन्य मन्त्रालयको लागि परिसर बाहिर भवनहरु खोजिएको छ । वडा कार्यालय तथा सरकारी भवनमा मन्त्रालयहरु राख्न थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर