अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्यो : अर्थमन्त्री शर्मा (भिडिओ) – Nepal Press

अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्यो : अर्थमन्त्री शर्मा (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को बुधबार भएको साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधार्न राष्ट्र बैकको नीति र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

उनले निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै अर्थमन्त्री शर्माले आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको औंल्याए ।

‘राष्ट्रिय उत्पादन वृद्धि आवश्यक रहेकाले सबैलाई आयात प्रतिस्थापन गर्नुपर्छ भन्ने बोध गराउन जरुरी छ’, उनले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास भइरहेको बताए । अर्थतन्त्र निकै संवेदनशील अवस्थामा रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको उनको भनाइ थियो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधारअनुसार पोलिसी रिफर्मको काम पनि भइरहेको जानकारी दिए ।

कार्यक्रममा भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ सम्झना घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ सन्तोष रोकायलाई प्रदान गरिएको छ । सञ्चारकर्मी उर्वशी बस्नेतलाई नाफिज आर्थिक पत्रकार सम्मान २०७९ प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *