एमालेले सच्यायो समानुपातिक उम्मेदवारको नाम – Nepal Press

एमालेले सच्यायो समानुपातिक उम्मेदवारको नाम

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको पत्राचारअनुसार समानुपातिकतर्फको नाम सच्याएको छ । एमालेले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको थियो । त्यसपछि आयोगले एमालेलाई सच्याएर पेश गर्न पत्राचार गरेको थियो । तर, एमालेले सोमबार आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश गरेको थियो ।

आयोगले मंगलबार पुनः पत्राचार गर्दै समानुपातिक सांसदको नाममा भएको त्रुटि सच्याउन केही घण्टाको समय दिएको थियो । दोस्रो पटक आयोगले पत्राचार गरेपछि एमालेले नाम सच्याएर पठाएको समानुपातिक निर्वाचन प्रणालीका सहायक निर्वाचन अधिकृत सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

आयोगका अनुसार एमालेले प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको बन्दसूचीमा अल्पसंख्यकतर्फ लहरुमाया जिमीको सट्टा अल्पसंख्यकको प्राथमिकताक्रम ८ का यशोदा कायस्थको नाम कायम गर्न पत्राचार गरेको छ ।

यस्तै मधेस प्रदेशमा प्राथमिकता क्रम १८ मा रहेका शीला यादवको सट्टा अल्पसंख्यकभित्रको प्राथमिकता क्रम संख्या ८ की राजपतीदेवी जैसलवालको नाम कायम गर्न पत्राचार गरेको छ ।

मधेस प्रदेशकै प्राथमिकता क्रम ४० मा रहेकी नाजिमा खातुनको सट्टा क्रम संख्या १ का जैनव खातुनको नाम कायम गर्न पत्राचार गरेको छ ।

यसअघि एमालेले प्रदेश नम्बर १ मा आदिवासी जनजाति समूहतर्फ अल्पसङ्ख्यक समूहको दोस्रो नम्बरमा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी तेस्रो नम्बरमा समावेश उम्मेदवारको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो । तर, एमालेले आयोगको निर्देशनलाई अवज्ञा गर्दै पुरानै नाम पठाएको हो ।

त्यसैगरी मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस गर्नुपर्नेमा दलले पेस गरेबमोजिम आयोगबाट स्वीकृत अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाममात्रै सिफारिस गरेको थियो । अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचीकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले निर्देशन दिएको थियो ।

मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस नगरी दोस्रो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो । बन्दसूचीमा मुस्लिम समूहको पहिलो नम्बरमा जैनब खातुनको नाम भए पनि दोस्रो नम्बरमा रहेकी नाजिमा खातुनको नाम एमालेले सिफारिस गरेको थियो ।

नाम पेस गर्नुअघि एमालेले जैनब खातुनलाई कारबाही गरेको थियो । उनी प्रभु साह निकट रहेको भन्दै उनको सट्टा नाजिमालाई राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर