आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारमा चनाखो रहन केन्द्रीय बैंकको निर्देशन – Nepal Press

आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारमा चनाखो रहन केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्तिको कारोबारमा सजग हुन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकलाई जारी गरिएको ‘एमएलरटीएफ रिस्क ऐसेसमेन्ट गाइडलाइन्स फर बैंक एण्ड फाइनान्स २०२२’ अनुसार बैंक तथा वित्तीय संस्थालाई यस्ता कारोबारमा चनाखो हुन भनिएको हो ।

केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम मूल्यांकनमा बैंक र वित्तीय संस्थाका सञ्चालक र उच्च व्यवस्थापनको महत्वपूर्ण भूमिका रहने जनाएको छ । सम्पत्ति शुद्धीकरण र अपराधिक गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिमको पहिचान, मापन, मोनिटर र न्यूनीकरण गर्न जनचेतना बढाउन उच्च व्यवस्थापन जिम्मेवारी हुने व्यवस्था मार्गदर्शनले गरेको छ । बैंक वित्तीय संस्थाले ब्याज आउने र नआउने दुवै खालका निक्षेप खाताको तथा कर्जा गतिविधिमा हुने जोखिम न्यूनीकरणलाई ध्यान दिन पनि राष्ट्र बैंकले भनेको छ ।

बैंक वित्तीय संस्थाले ल्याउने प्रडक्ट तथा प्रदान गर्ने सेवामा पनि सम्पत्ति शुद्धीकरण र अपराधिक क्रियाकलापमा लगानी बढाउने जोखिम हुन्छ । बैंकहरूले सञ्चालन गर्ने प्रडक्टहरूमा ठूलो आकारको नगद कारोबार, तेस्रो पक्षको सहभागिता हुने हुनाले यसमा नदेखिने खालको जोखिम हुनसक्ने मार्गदर्शनमा औंल्याइएको छ ।

जोखिम मूल्यांकन प्रक्रियामा कारोबारको आकार, औसत कारोबार, वैदेशिक कारोबारको हिस्सा, नगद कारोबारको लेभल, प्रडक्टको जटिलता र पारदर्शितालगायतका विषयमा ध्यान दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *