बालेनको पुरानो भिडिओ चर्चामा : चुनावअघि भनेका थिए- विकासका नाममा बस्ती उठाउनु गलत
काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती डोजर लगाएर मास्ने प्रयासका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेरि एकपटक चर्चामा छन् । सामाजिक सञ्जालमा उनको समर्थन र विरोधमा तीव्र बहस चलिरहेको छ ।
यही सिलसिलामा आलोचकहरूले बालेनको एउटा आर्काइभ भिडिओ उत्खनन् गरेर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् । सम्भवतः चुनाव अगाडिको हुनसक्ने भिडिओमा बालेन मतदाताहरूसँग कुराकानी गरिरहेका देखिन्छन्, जुन काठमाडौंको विकाससँग सम्वन्धित छ । बालेनले विकासका नाममा घर भत्काउने र बस्ती उठाउने कार्य गलत भएको बताएका छन् ।
बालेनको भनाइ जस्ताको तस्तैः
… मैले आफैं अध्ययन गर्दाखेरि के बुझ्या’छु भन्देखी, कहिले पनि कुनै विकास गर्दाखेरि बस्ती हटाउनु, बस्तीबाट बाटो निकाल्नु वा ठूलो पार्नुलाई विकास मान्दिनँ । विकास भनेको त मान्छे व्यवस्थित भएर बस्नुपर्यो । मान्छे खुशी हुनुपर्यो । कुनै पनि विकास गर्दा त्यहाँका नगरबासी खुसी छैनन् भने म विकासै मान्दिनँ । अरु ठाउँमा घरै भत्काइदिन्छन् । बस्ती नै उठाइदिन्छन् । यी कुराहरू गलत छन् । मान्छे व्यवस्थित रूपमा बस्न पाउनुपर्यो । कुनै पनि एउटा जात एउटा समुदायको होइन काठमाडौं । काठमाडौं भनेको पूरै नेपालभरिबाट आएको सबै समुदायको साझा हो । सबै कुरा नियम-कानूनसम्मत रूपमा जानुपर्छ । यो चिजहरूलाई व्यवस्थापन गरेर लैजानुपर्छ । यसलाई चाहीँ नियममा बसेर गर्नुपर्छ । मान्छेलाई दु:ख दिने काम गर्नुहुँदैन ।
उनले यति बोलिसकेपछि मतदाताले समर्थनमा हुटिङ गरेका छन् ।
“अरुलाई भन्न सिकाउन सजिलै हुन्छ”
यस्तो भेटेर भनेको है। pic.twitter.com/AwyQL4rtQ9— Bisesh Sangat (@BiseshSangat) November 30, 2022