ज्ञानेन्द्र कार्कीको सकसपूर्ण जित : भोजपुरले पत्याएन, सुनसरीले दोहोर्‍यायो – Nepal Press

ज्ञानेन्द्र कार्कीको सकसपूर्ण जित : भोजपुरले पत्याएन, सुनसरीले दोहोर्‍यायो

इटहरी । भोजपुरबाट लगालग तीन चुनाव हारेका ज्ञानेन्द्रबहादुर कार्की दोस्रो संविधानसभामा भने समानुपातिक सूचीमा परे । सांसद बने, मन्त्री पनि बने । बहालवाला अर्थमन्त्री भएका कार्कीले पुनः भोजपुर जान चाहेनन् । उनी भोजपुरबाट सुनसरी झरे । क्षेत्र नम्बर ४ मा आएर कार्कीले ६ हजार बढी मतान्तरले जित निकाले ।

देशभर वाम गठबन्धनको माहोल हुँदा सुनसरीमा जितेर उनले नेपाली कांग्रेसको सीटमात्रै थपेनन्, राजनीतिक जीवनमा पहिलोपटक संसदीय चुनाव जिते । २०७४ सालको चुनावमा ज्ञानेन्द्रबहादुर कार्कीको ३२ हजार ३४७ मत आएको थियो भने उनका निकटतम प्रतिस्पर्धि वाम गठबन्धनका नेकपा (एमाले) उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याए । दुईजना बीच ६ हजार ५९७ मतान्तर थियो ।

चार वर्ष अगाडि दुई दल मिलेर लडेकोको चुनावमा ६ हजारभन्दा बढी मतले जितेका कार्कीले अहिलेको चुनावमा भने ११२ भन्दा बढीको फरक पार्न सकेनन् । बिहीबार अन्तिम परिणाम आउँदा कार्कीको ३० हजार ४८३ मत छ । निकटतम प्रतिस्पर्धी जयदीशप्रसाद कुसियैत ३० हजार ३७१ मा रोकिए ।

अघिल्लो चुनावमा ६ हजार र अहिले ११२ को मात्रै अन्तर हुनुमा नेपाली कांग्रेसका नेताकार्यकर्ताहरूले भनाईअनुसार दुई कारण छन् । एक, पहिलेका उम्मेदवार राप्रपाबाट एमाले प्रवेश गरेका थिए । उनमा धेरै भूगोलको अनुभव थिएन । भूगोलमा पनि एमाले वृत्तसँग उनको राम्रो पकड बन्न पाएको थिएन । तर, अहिले जगदीशप्रसाद कुसियैत चिनिएका नाम हुन् । प्रदेश १ सरकारका पूर्वमन्त्रीसमेत रहेका उनको चुनावी इतिहास बहुदल आएदेखि नै हो ।

दुई, पहिले ज्ञानेन्द्रबहादुर कार्की नयाँ अनुहार थिए । सुनसरी ४ को काग्रेस नेताकार्यकर्ताले उनलाई बुझ्न पाएकै थिएनन् । त्यही भएकोले उनको मत राम्रो आयो । नेपाली कांग्रेसबाट घात भएन । अहिले भने महाधिवेशनदेखि स्थानिय चुनावमा आफ्ना आसेपासेलाई प्राथामिकता दिएर पुराना कांग्रेस नेताकार्यकर्ताहरूलाई स्थान नदिएको सुनसरी ४ का नेताकार्यकर्ताहरूको आरोप छ । आफ्नो क्षेत्रमा प्रदेशका दुवै सांसदहरू रुखकै पार्ने नाममा सुनसरीका अन्य क्षेत्रमा रुखलाई निल गरेको कुरामा पनि कार्कीविरोधी आक्रोश थियो । जस्तै सुनसरी क्षेत्र नम्बर १ को संघमा र प्रदेश ख दुवैमा रुख चिन्ह थिएन । इटहरीमा सुनसरी २ (क) र ३ (क) दुवैमा प्रदेश सांसदमा रुख थिएन । आफ्नो क्षेत्रअनुकूल बनाउने नाममा अन्तलाई ‘माइनस’ गरेकोमा कांग्रेसका नेताकार्यकर्ता ‘बिच्किएका’ थिए । कार्कीलाई आउने कतिपय मत हलो, घण्टीमा र केही सूर्यमै गएको सुनसरी ४ को चुनावलाई नजिकबाट हेरिरहेका बताउँछन् । सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने बराहक्षेत्र नगरपालिकाका एक कांग्रेस पदाधिकारी भन्छन्, ‘कार्कीले गुट आतंक नगरेको भए सबै कांग्रेसको मत जान्थ्यो । मतान्तर पहिलेको चुनाव जत्तिकै ५/६ हजार हुन्थ्यो ।’

भोजपुरमा नफापेको कार्कीका चुनावी दुःख

भोजपुरको देउरालीका रैथाने कार्कीलाई त्यहाँको चुनावले साथ भने दिएन । २०५१, २०५६ र २०६४ सालका तीन चुनाव भोजपुरमा लडेका उनी सबै चुनाव हारे । २०५१ सालको मध्यावधि चुनावमा भोजपुर क्षेत्र नम्बर १ बाट उनले नेकपा (एमाले) का नेता हेमराज राईसँग पराजित भए । २०५६ सालमा भोजपुर क्षेत्र नम्बर १ बाटै उनी चुनव लड्दा एमालेकै उम्मेदवार घनेन्द्र बस्नेतले हराए । पहिलो संविधानसभाको २०६४ सालको चुनावमा कार्कीले भोजपुर १ बाटै लडे । त्यो चुनावमा पनि उनी माओवादी उम्मेदवार पदम राईसँग पराजित भए ।

कहिल्यै ‘कित्ली कांग्रेस’ त कहिले आफ्नै पार्टी नेता-कार्यकर्ताको घात उनको विजयमा बाधक बन्यो ।

२०३६ सालमा नेविसंघका सभापति भएका कार्की राष्ट्रिय राजनीतिको मूलधारमा विद्यार्थी कालबाटै थिए । तर, संसदीय चुनावमा आफ्नै गृहजिल्लाले उनलाई पटकपटक पत्याएनन् । तारकातार पराजित भएपनि कार्कीले २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा जलश्रोत राज्यमन्त्री भएर क्याबिनेट प्रवेश गरेका थिए । दोस्रो संविधानसभामा समानुपातिक भएर संसद छिरेपछि उनी किस्ता-किस्तामा देउवा क्याबिनिेटका मन्त्री छन् ।

सुनसरीबाट दोस्रो जित निकालेका बहालवाल सञ्चारमन्त्री कार्की ७४ को चुनाव जित्दा पनि बहालवाला अर्थमन्त्री थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर