उपेन्द्रसहित चार विश्वास पात्र- जसले चुनाव हारे – Nepal Press

उपेन्द्रसहित चार विश्वास पात्र- जसले चुनाव हारे

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भए । मधेशका मसिहा कहलाउने उनलाई १८ हजार मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भए ।

०७४ मा मधेशमा पहिलो पार्टीको रुपमा उदाएको जसपा यो चुनावमा तेस्रोमा सिमित भए । प्रदेशसभातर्फ जसपा ९ सिट जितेको छ । यद्यपी अध्यक्ष यादवका विश्वास पात्रहरु नै पराजित भए ।

दिपेन्द्र झा, जीतेन्द्र यादव, शैलेन्द्र साह र विजयी यादव जसपा अध्यक्ष यादवका विश्वास पात्र मानिन्छन् । तर यो चुनावमा यी चारैजना पराजय व्यहोरे ।

महोत्तरी ३ (१) मा जसपाबाट उम्मेदवारी दिएका दिपेन्द्र झालाई लोसपाका अभिराम शर्मा पराजित गरे । झा मधेश प्रदेशका पूर्व मुख्यन्यायाधिवक्ता हुन् । मधेश प्रदेशकै पूर्व सामाजिक विकास राज्यमन्त्री शर्माले झालाई १७४ मतान्तरले पराजित गरे । विजयी शर्मा ९ हजार ७१८ र निकटम प्रतिस्पर्धी झा ९ हजार ८९२ मत पाए ।

०७४ को चुनावअघि झा तत्कालीन लोसपाको समर्थक थिए । महन्थ ठाकुरसँग नजिक रहेका उनी मधेशमा जसपाले सरकारको नेतृत्व गरेपछि उपेन्द्र यादवतिर धल्किए । त्यसपछि झा मुख्यन्यायाधिवक्ता नियुक्त भएका थिए ।

०७९ मंसिर ४ मा सरकारले चुनावको मिति सार्वजनिक गरेको केही दिनपछि झा अचानक मुख्यन्यायाधिवक्ताबाट राजीनामा दिए । र, उपेन्द्र यादवबाट टिका थापेर जसपामा प्रवेश गरे । त्यतिबेला महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा उनको चर्चा चलेको थियो ।

तर एमाले-जसपाको तालमेल भएपछि जसपाले झालाई प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री हरिनारायण यादवलाई उठाए । यादव पनि चुनाव जित्न सकेनन् ।

जसपामा प्रवेश गरेको दिन झा बोल्न लाग्दा कार्यकर्ताले हुटिङ गरेका थिए । त्यो दिनको परिवेशले कार्यकर्ताले झालाई अस्वीकार गरेको देखियो । यद्यपी जसपा अध्यक्ष यादवले चुनाव जित्ने विश्वासका साथ झालाई उम्मेदवार बनाएका थिए ।
धनुषा ३ (१) बाट जसपा उम्मेदवार जीतेन्द्र यादव पनि पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका रामसरोज यादव तीन हजार ५७० मतले पराजित गरेका हुन् ।

पराजित यादव मुख्यमन्त्री लालबाबु राउतका सल्लाहकार हुन् । उनी सल्लाकारबाट राजीनामा दिएको खबर बाहिर आएको छैन । यादव लामो समय विराटनगरमा बसेका छन्, जहाँ जसपा अध्यक्ष यादवको घर छ । त्यहीबाटै उनी उपेन्द्र यादवको विश्वास पात्र बने । जसपा अध्यक्ष यादवले नै उनलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गराएका थिए ।

जीतेन्द्रका दाई शैलेन्द्र यादव पनि प्रदेशसभा सदस्यमा पराजित भएका छन् । ०७४ मा चुनाव जितेका शैलेन्द्र यो पटक धनुषा २ (१) बाट ४ हजार मतान्तरले हारेका हुन् ।

सिरहा २ (१) बाट जसपाका उम्मेदवार विजय यादव पराजित व्यहोरे । यादवलाई जनमत पार्टीका सचिव संजय यादवले पराजित गरेका हुन् । संजयले ११ हजार ५२७ मत ल्याएर विजयी हुँदा विजयले १२ हजार १७१ मत पाए । विजय मधेश प्रदेशका कृषिमन्त्री छन् । मधेश आन्दोलनदेखि हालसम्म कैयौं पटक उपेन्द्र यादव नेतृत्वको पार्टी विभाजन भयो, यादव पनि जहिल्यै उनकै साथमा रहे ।

पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका बेला यादव १३ दिनका लागि उद्योगमन्त्री भएका थिए । दोस्रो संविधानसभामा उनी पराजित भए । ०७४ मा प्रदेशसभा सदस्यमा जितेपछि उनलाई सुरुमा अर्थमन्त्री बनायो । पछि मुख्यमन्त्रीले अर्थमन्त्रीबाट असहज भएको गुनासो गरेपछि जसपा अध्यक्ष यादवकै निर्देशनमा विजयलाई कृषिमन्त्री बनाइयो ।

विजय ०७४ मुख्यमन्त्रीका दावेदार थिए । तर मुख्यमन्त्री बन्न सकेनन् । उनी यो चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर जसपा अध्यक्षले नै यो पटक मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी प्रदेशमा उठे र चुनाव जित्न सकेनन् ।

उपेन्द्र यादवका अर्का विश्वास पात्र शैलेन्द्र साह सप्तरी २ (१) बाट चुनाव हारेका छन् । सप्तरी २ बाटै उपेन्द्र यादव पनि पराजित भए । उपेन्द्रकै क्षेत्रको प्रदेशकै साह रहेकाले उनलाई पनि मुख्यमन्त्रीको रुपमा प्रचार गरिएको थियो ।

साहलाई जनमत पार्टीका सतिश कुमार सिंह ८ हजार मतान्तरले पराजित गरेका छन् । सिंह १६ हजार ७३४ मत पाएर विजयी हुँदा साह ८ हजार २९२ मै रोकिए ।

चुनाव हारेका यी चारै जना जित्नेमा जसपा अध्यक्ष यादव मात्र होइन्, प्रायः सबै नेता ढुक्क थिए । तर चकित पार्ने चुनावी परिणामले नेताहरु स्तब्ध बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर