हृदयेश त्रिपाठी र एमालेबीच वाकयुद्ध सुरु – Nepal Press

हृदयेश त्रिपाठी र एमालेबीच वाकयुद्ध सुरु

रुपन्देही । पश्चिम नवलपरासीमा एमालेको समर्थनमा उम्मेदार बनेर पराजित भएका जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र नेकपा एमालेबीच वाकयुद्ध सुरु भएको छ ।

त्रिपाठीले आइतबार परासीमा पत्रकार सम्मेलन गरेर एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार अधिकारीसहित पोलिटव्युरो सदस्य बैजनाथ चौधरी, महासचिव शंकर पोखरेलको नामै लिएर आफूलाई हराउन लागेको र नेतृत्व पंक्ति आर्थिक प्रलोभनमा परेको आरोप लगाएका थिए । त्रिपाठीको सो आरोपको एमाले जिल्ला अध्यक्ष दिपेन्द्रकुमार  अधिकारीले खण्डन गरेको छन् ।

सोमबार पार्टी कार्यालय परासीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष दिपेन्द्रकुमार अधिकारीले त्रिपाठीले एमालेमाथि लगाएको आरोप झुटो र कपोलकल्पित भएको बताए । हार स्वीकार्न गर्न नसकेर इमान्दार पार्टी नेतृत्व पंक्ति र कार्यकर्तामाथि त्रिपाठीले अपमान गरेको अध्यक्ष अधिकारीको भनाइ छ ।

अधिकारीले कुनै पनि आर्थिक प्रलोभनमा परी वा नपरी त्रिपाठीविरुद्ध मतदान गर्न लागेको पुष्टि भए आफूले राजनीति नै छाड्ने दावी गरे । अधिकारीले त्रिपाठीको पार्टी जप्रपाले प्राप्त गरेको भोट र एमालेले प्राप्त गरेको भोटको आधारमा प्राप्त परिणामको तुलना गर्न भनेका छन् ।

त्रिपाठीको पार्टीले सो क्षेत्रमा समानुपातिकतर्फ जम्मा ३ हजार ९ सय ३६ मत प्राप्त गरेको र एमालेले १७ हजार १ सय ७२ मत प्राप्त गरेकोमा त्रिपाठीले प्रत्यक्षतर्फ २२ हजार ३ सय २८ मत प्राप्त गर्नुले एमालेले इमान्दारीतापूर्वक मतदान गरेको पुष्टि हुने एमालेको भनाइ छ । त्रिपाठी आफै अलोकप्रिय भएको कुरा उनकै पालिकाबाट प्राप्त मतले पनि पुष्टि गर्ने सचिव धिरज शर्मा बस्यालले बताए ।

त्रिपाठी स्वयम् नै एमालेका प्रदेश सभाका उम्मेदवारलाई हराउन लागेको चर्चा सर्वत्र भएको भन्दै एमालेले त्यसबाट बच्न त्रिपाठीले झुटो आरोप लगाएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर