३१ वर्ष देखि चुनाव लड्दै आएकाहरु, यस पटक को जिते को हारे ? – Nepal Press

३१ वर्ष देखि चुनाव लड्दै आएकाहरु, यस पटक को जिते को हारे ?

कैलाली । २०४८ सालयता सातौँ संसदीय चुनाव सम्पन्न भएको छ । ०४८,०५१,०५६,०६४,०७०,०७४ र ०७९ को निर्वाचन सम्पन्न भयो । ३१ वर्षमा भएको सातौँ निर्वाचन सम्म केही नेताहरू पटक पटक होमिए । ती मध्ये केही पटक पटक हारे, केही जिते ।
२०४८ सालको निर्वाचनमा विजयी भएकाहरू मध्ये केही यस पटक पनि विजय भए केही पराजित भए ।

शेरबहादुर देउवा

शेरबहादुर देउवाले ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९को निर्वाचन जित्ने एक मात्र पात्र भएका छन् । उनी डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका छन् । २०४८ सालमा निर्वाचन जितेर गृह मन्त्री भइसकेका देउवा पाँच पटक सम्म प्रधानमन्त्री समेत भइसकेका छन् ।

केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ देखि नै संसद्मा छन्। तर, ०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए। ०४८, ०५१ र ०५६ मा झापा ६ बाट निर्वाचित ओलीले ०७० को दोस्रो संविधानसभा चुनाव झापा ७ बाट निर्वाचन जिते । ०७४ र २०७९ को निर्वाचनमा उनी झापा ५ बाट उठे र फराकिलो मतान्तरले विजयी भए ।

झलनाथ खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि २०४८ देखी निर्वाचन लड्दै आएका नेतामा पर्छन् । तीन दशक देखी निर्वाचनमा होमिएका खनाल यस पटक भने इलामा १ बाट पराजित भए ।यस अघि उनी २०६४ मा पनि पराजित भएका थिए ।

महन्त ठाकुर

लोसपा अध्यक्ष महन्त ठाकुर पनि २०४८ सालयता सबै चुनावमा लगातार उम्मेदवारी दिँदै आएका नेतामा पर्छन् । २०४८, २०५१ र २०५६ सालसम्म उनले काङ्ग्रेसबाट चुनाव लडे। २०६४ मा उनले आफ्नै अध्यक्षतामा तमलोपा गठन गरे। त्यसपछि २०६४ र २०७० मा तमलोपाबाट चुनाव लडे। २०७४ को निर्वाचनमा ठाकुरले तत्कालीन राजपाबाट चुनाव लडे। २०४८, २०५१ र २०५६ मा सालमा उनको निर्वाचन क्षेत्र सर्लाही थियो। २०७४ बाट उनको निर्वाचन क्षेत्र फेरियो। २०७४ मा महोत्तरी ३ बाट जितेका उनी अहिले पनि सोही क्षेत्रबाट निर्वाचित भएका छन् ।

रामचन्द्र पौडेल

२०४८ देखी निरन्तर चुनाव लड्दै आएका राम चन्द्र पौडेल ०७४मा पराजित भए । त्यस बाहेक सबै चुनाव जितेका रामचन्द्र पौडेल यस पटक पनि तनहुँ २ बाट निर्वाचित भए ।

०४८ मा तनहुँ–१ बाट र ०५१, ०५६, ०६४ र ०७० सालमा तनहुँ–२ बाट निर्वाचित भएका पौडेल स्थानीय विकास तथा कृषि मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् ।

कृष्णप्रसाद सिटौला

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आठौँ पटक चुनाव लडे ०४८ मा तत्कालीन झापा १ (हाल झापा–३)बाट उम्मेदवार बनेका उनी त्यो बेला पराजित भए । एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएपनि ०५० को उपनिर्वाचनमा उनी निर्वाचित भए । क्षेत्रीको निधन भएकाले उपनिर्वाचन भएको थियो ।

त्यसपछि ०५१, ०५६, ०६४ र ०७४ मा पनि पराजित भए । ०७० को संविधानसभा निर्वाचनमा भने राप्रपाका राजेन्द्र लिङ्देनलाई हराएर जितेका उनी ०७४ फेरि तिनै लिङ्देनसँग झापा–३ मा सिटौला पराजित भए । उनी यस पटक पनि लिङ्देनसँगै भारी मतले पराजित भए ।आठ पटक निर्वाचनमा होमिदा सिटौला ६ सम्म पराजित भइसकेका छन् ।

विजय गच्छदार

२०४८ सालमा नेपाली काँग्रेसबाट निर्वाचन जितेका गच्छदारले क्रमशः २०५१ र २०५६ सालसम्मका निर्वाचन नेपाली काँग्रेसमा नै रहेर जितेका हुन् । मधेस आन्दोलन पछि नेपाली काँग्रेस छोडेर मधेसी जनअधिकार फोरमा पुगेका गच्छदार २०६४ सालको निर्वाचन फोरमको मसाल छाप चिन्न लिएर जितेका थिए ।

२०६६ सालमा उपेन्द्र यादवसँग छुट्टिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बनाएका उनले २०७० सालको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्न दुई हातले गरेको नमस्कार लिएर जितेका थिए ।

२०७४ मा वाम गठबन्धनबाट नेकपा एमालेकी नेतृ भगवती चौधरीलाई २६१ मतले पराजित गरेका गच्छदार अहिले पनि निर्वाचनमा थिए । २०४८ साल देखी निरन्तर जित्दै आएका गच्छदारलाई अहिले सातौँ जितका लागि निर्वाचनमा छन् । तर, उनको परिणाम अझै आइसकेका छैन । अहिले सम्म एमालेकी भगवती चौधरीले अग्रता बनाइरहेकी छन् । चौधरी अघिल्लो दुई पटक पनि गच्छदारसँग पराजित भएकी थिइन् ।

कमल थापा

२०४८ को आम निर्वाचनमा मकवानपुर -१ मा कमल थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। २०५६ मा थापा मकवानपुर -१ मा दाहालसँग पराजित भए। त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए। २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्।

श्रीमती प्रमिला थापालाई मकवानपुर-१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद पड्काएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै फेरि उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीन पटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए। यस पटक राप्रपाका दीपकबहादुर सिंह विजयी हुँदा थपा तेस्रो भए ।

राजेन्द्र महतो

०४८ मा तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेर संसद् पुगेका लोसपा नेता राजेन्द्र महतो ०७० को दोस्रो संविधानसभामा महेन्द्र रायसँग पराजित भए । अघिल्लो पटक धनुषा ३ बाट कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका महतो अहिले पनि सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भए ।

विरोध खतिवडा

२०४८ मै प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यस पटक पराजित भए ।
मकवानपुर क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य मन्त्री खतिवडालाई ४ हजार ५२० मतान्तरले एमालेका महेश बर्तौलाले पराजित गरेका हुन् । ०४८ देखी हाल सम्म उनले दुई वटा निर्वाचनमा टिकट पाएनन् । तर, खतिवडाले प्रतिस्पर्धा गरेका सबै चुनाव जितेका थिए । २०४८ यता चार पटक निर्वाचन जितिसकेका खतिवडा यस पटक पराजित भए ।

कृष्णगोपाल श्रेष्ठ

मदन भण्डारीको मृत्यु भएपछि काठमाडौं–५ को उपनिर्वाचनमा श्रेष्ठ निर्वाचित भएका थिए । ०५१ मा काठमाडौं–५ बाट निर्वाचित भएका श्रेष्ठ ०५६, ०६४ र ०७० सालको चुनावमा काठमाडौं–९ बाट लगातार पराजित भए । ०

७० को एउटै चुनावमा उनी दुई पटक पराजित भए । काठमाडौं–९ बाट पराजित श्रेष्ठ माधव नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचनमा पनि पराजित भए । ०७४ को चुनावमा भने काठमाडौं–९ बाटै उनी निर्वाचित भए । अहिले सोही क्षेत्रमा पुन निर्वाचित भएका छन् ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि २०४८ सालदेखि चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले नेकपा एमालेबाट सुनसरी २ मा उम्मेदवारी दिएका थिए। त्यसपछि २०४८, २०५१ र २०५६ मा उम्मेदवारी दिएनन्। २०६४ यता उनले निरन्तर उम्मेदवारी दिँदै आएका छन्। यस पटक सप्तरी २ बाट उम्मेदवारी दिएका उनी फराकिलो मतान्तरले हारे ।

राजेन्द्र पाण्डे

राजेन्द्र पाण्डे ०४८ यताका सबै चुनाव लड्ने अर्का नेता हुन् । एमालेबाट ०४८, ०५१, ०५६ र ०७० को संसदीय निर्वाचनमा विजयी भएका पाण्डे ०७४ को चुनावमा प्रदेशसभा सदस्यमा चुनाव लडे । उनी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भए । २०४८ यता सङ्घमा ४ पटक र प्रदेशका एक पटक सम्म विजयी भएका पाण्डेले यस पटक पनि धादिङ १ बाट बाजि मारे ।

तीन दशक बढि समय देखि निर्वाचनमा होकिएकाहरुको सूची लामै छ । एमालेका वसन्त नेम्बाङ पनि०४८ मा सांसद बनेका थिए। उनले ०५६ र ०७४ को निर्वाचन जिते । अहिले पनि उ पनि निर्वाचन लडेर विजयी भए ।

एमाले लालबाबु पण्डित र कांग्रेसका बालकृष्ण खाँण, ०४८ सालमै निर्वाचित भएका थिए। दुबै जना अहिले पनि उम्मेदवार थिए तर, यस पटक भने  दुबैजना पराजित भए । राप्रपाका दीपक बाेहाेरासँग खाण पराजित  भएका  हुन्  ।

२०४८ मै निर्वाचित भएका दिलेन्द्रप्रसाद बडू अहिले पनि निर्वाचित भए । गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पछि २०४८ देखी लड्दै आएकामा पर्छन् ।

४८ मा एमालेबाट चुनाव जितेका अशोक राई अहिले पनि सुनसरी १ बाट निर्वाचनमा विजयी भएका छन् ।  २०४८ देखी निरन्तर उम्मेदवार बन्दै आएका कांग्रेसका पूर्व मन्त्री राम जनम चौधरी यस पटक पनि उम्मेदवार थिए । तर, उनी जित्न सकेनन् । ०४८ देखी ७० सम्म लगातार पाँच पटक संसद् प्रदेश गरिसकेका चौधरी अघिल्लो पटक र अहिले लगातार दुई पटक पराजित भए ।

अघिल्लो पटक कैलाली ३ मा गौरीशङ्कर चौधरीसँग पराजित भएका थिए भने अहिले नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठसँग कैलाली १ मा पराजित भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर