गच्छदारसँग अग्रता फराकिलो पार्दै भगवती, प्रदेशमा पनि एमालेले उछिन्यो
काठमाडौं । सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छन् । उनले सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका विजय गच्छदारलाई पछि पारेकी हुन् ।
मतगणनाको पछिल्ला मत परिणामअनुसार चौधरीले ३२ हजार ४१७ मत ल्याउँदा गच्छदार २७ हजार ६५६ मतले पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बाबु मैनालीले छ हजार १५६ मत ल्याएका छन् । चौधरी र गच्छदारबीच चार हजार ७६१ मतको अन्तर छ ।
हाल बर्जु १ को दुई हजार २४१ मतको गणना हुँदैछ । जम्मा मत ९२ हजार ५३५ खसेकोमा अब २१ हजार मतगणना बाँकी रहेको छ ।
त्यसैगरी, सुनसरी ३(२) मा एमालेकै रामदेव यादवले लिड गरिरहेका छन् । उनी १३ हजार १२ मतसहित अघि हुँदा कांग्रेसका बिन्देश्वर यादव १२ हजार ४९६ मत ल्याएका छन् । एमालेका यादव ५१६ मतले अघि छन् । हाल बर्जु २ को गणना जारी छ ।