लुम्बिनीमा १४ बाट ५ सीटमा खुम्चिएपछि प्रदेश अध्यक्ष सुदर्शन बरालको राजीनामा
बुटवल । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा दिएका छन् । गठबन्धन गर्दा पनि प्रदेशमा पार्टीको अपेक्षित परिणाम नआएको भन्दै बरालले राजीनामा दिएका हुन् ।
प्रदेश अध्यक्ष बराल आफैँ पनि गुल्मीबाट प्रदेश सभा सदस्यमा पराजित भएका छन् । उनी माओवादीबाट लुम्बिनीको मुख्यमन्त्रीको दाबेदार थिए ।
बरालले नेपाल प्रेससँग कुरा गर्दै गठबन्धनमा गम्भीर घात गरेर आफूलाई हराइएको बताए ।
उनले विगतमा लुम्बिनी प्रदेशमा पार्टीले १४ सीट जितेकोमा यस पटक ५ सीटमा खुम्चिएकालै नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको बताए ।
उनले टिकट वितरणदेखि समानुपातिक उम्मेदवार चयनसम्ममा पार्टी नेतृत्वबाट भएको त्रुटिका कारण पनि कतिपय क्षेत्र गुमाउनुपरेको बताए ।