अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा सत्ता गठबन्धनको ‘क्लिन स्वीप’ – Nepal Press

अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा सत्ता गठबन्धनको ‘क्लिन स्वीप’

४ प्रदेशसभा सदस्यमध्ये २ क्षेत्रमा कांग्रेस र दुई क्षेत्रमा माओवादी निर्वाचित

काठमाडौं । अछामका दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धन विजयी भएको छ । अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर एकमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँर निर्वाचित भएका छन् भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काग्रेसका उम्मेदवार पुष्पबहादुर शाह निर्वाचित भएका हुन् ।

क्षेत्र नम्बर एकमा कुँवर १९ हजार ५३४ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी झपटबहादुर बोहेराले १५ हजार ४५ मत प्राप्त गरेका छन् । कुँवरले बोहोरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका हुन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका राजन कुँवरले ४ हजार ३९२ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुईमा शाहले नेकपा (एमाले)का उम्मेदवार यज्ञबहादुर बोगटीलाई छ हजार ८४० मतान्तरले पराजित गरेका छन् । शाहले २२ हजार ९५४ मत प्राप्त गर्दा बोगटीले १६ हजार ११४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका बागी उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ३११ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा यस पटक निर्वाचित शाहलाई बोगटीले दुई हजार ८५९ मतान्तरले पराजित गरेका थिए । यस पटक शाहले तेब्बर मतान्तरले पराजित गरेको छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बोगटीले २१ हजार ९६५ मत प्राप्त गर्दा शाहले १९ हजार १०६ मत प्राप्त गरेका थिए ।

४ प्रदेशसभा सदस्यमध्ये २ क्षेत्रमा कांग्रेस र दुई क्षेत्रमा माओवादी निर्वाचित

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार देवबहादुर कुँवरलाई पाँच हजार ८४० को मतान्तरले पराजित गरेका छन् । खड्काले १२ हजार ३३७ मत प्राप्त गर्दा कुँवरले ६ हजार ४९७ मत प्राप्त गरेर पराजित भएका हुन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर १ कै प्रदेश सभा २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार झपटकबहादुर साउन निर्वाचित भएका छन् । साउँदले नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद जैशीलाई तीन हजार ९६ को मतान्तरले पराजित गरेका हुन् । साउँदले १२ हजार ११५ मत प्राप्त गरेर निर्वाचित हुदाँ जैशी ९ हजार १९ मत प्राप्त गर्र्दै पराजित भएका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल निर्वाचित भएका छन् । रावलले नेकपा (एमाले)का भिमबहादुर बिष्टलाई दुई हजार ७९७ को मतान्तरले पराजित गरेका हुन् । रावल ११ हजार २२० मतसहित निर्वाचित हुदाँ बिष्ट आठ हजार ४२३ मत प्राप्त गर्दै पराजित भएका थिए ।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ कै प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित भएका छन् । रावलले नेकपा (एमाले)का उम्मेदवार शिबप्रसाद उपाध्यायलाई दुई हजार ५५२ को मतान्तरले पराजित गरेका हुन् । रावल ११ हजार २१६ मतसहित निर्वाचित हुदाँ उपाध्याय आठ हजार ६६४ मत प्राप्त गर्दै पराजित भएका थिए ।

२०७४ को निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेका थिए भने यस पटक नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग तालमेल छ ।

 

प्रतिक्रिया

One thought on “अछामका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा सत्ता गठबन्धनको ‘क्लिन स्वीप’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर