आयोगको निर्देशनपछि रुपन्देही २ मा पुन: मतगणना सुरु
रुपन्देही । शुक्रवार बिहानदेखि रोकिएको रुपन्देही क्षेत्र नं २ को मतगणना पुनः सुचारु भएको छ । निर्वाचन आयोगले कानूनी प्रक्रिया अनुसार नै गणना सुचारु गर्न निर्देशनसहितको पत्र पठाएपछि गणना सुरु भएको हो ।
निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालय बुटवललाई निर्देशन दिएको थियो ।
विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले ‘ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्न निर्देशन गरेको थियो ।
गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ ।
मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ ।
असन्तुष्ट दलहरूले गणनामा सहभागिता भने जनाएका छैनन् ।
मतगणना रोकिने समयसम्म एमालेका विष्णु पौडेलले २४९६६ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २३९११ र सत्तारुढ दलको समर्थन रहेका जनमुक्तिका केशव थापाले १९३४८ मत पाएका थिए ।
करिब ६ हजार हाराहारीमा मत गन्न बाँकी रहेको समयमा मतपेटिकामा भएको संख्या र मुचुल्कामा लेखिएको संख्याका विषयमा विवाद बढेपछि गणना रोकिएको थियो ।