एमाले उपाध्यक्ष विष्णुलाई ‘घन्टी’ बजाउने को हुन् गणेश ? – Nepal Press

एमाले उपाध्यक्ष विष्णुलाई ‘घन्टी’ बजाउने को हुन् गणेश ?

रुपन्देही । रुपन्देही क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघिका निर्वाचनमा फराकिलो मतान्तरले जितेका थिए । २०५१ सालमा पाल्पाबाट निर्वाचन जितेका उनी २०५६ सालदेखि यहाँबाट निर्वाचन लड्दै आएका छन् । जसअनुसार उनले २०६४ सालदेखि नियमित रुपमा जीत निकालेका छन् ।

२०५६ मा कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका उनले २०६४ मा उनै प्रधानलाई हराएका थिए । २०७० मा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा सूर्य प्रधान र २०७४ मा युवराज गिरीलाई पौडेलेले यही क्षेत्रमा पराजित गरेका थिए ।

त्यसपछि यहाँ पौडेललाई नेपाली कांग्रेसले एक्लै चुनौती दिने अवस्था भएन । अर्थमन्त्री हुँदा रुपन्देहीमा ठूल्ठूला पूर्वाधार आयोजनामा अर्बाैं बजेट ल्याएर विकासे नेताको छवि बनाएका पौडेलले यसपटकको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई पनि पराजित गर्ने विभिन्न सर्वेक्षणले प्रक्षेपण गरेका थियो । तर, मंसिर ४ मा भएको चुनावको मत गणनाको प्रारम्भिक नतिजा हेर्दा एउटा ‘फुच्चे र अपरिचित’ युवाले देशकै बलियो संगठन भएको दलका शक्तिशाली नेताको विजय यात्रामा ब्रेक लगाउने हुन् कि भन्ने संकेत देखाए ।

गत निर्वाचनमा २२ हजार बढी मत ल्याएर निर्वाचित पौडेललाई अहिले मतदातासँग अपरिचित नयाँ अनुहारले आच्छु आच्छु पारेका छन् । करिब १० हजार संगठित सदस्यता रहेका यो क्षेत्रमा केही वर्ष पहिले मात्र रुपन्देही आएका युवा गणेश पौडेलको घन्टी अभियानले एमाले नेता पौडेललाई सकस पारेको हो ।

विष्णु पौडेल २०५१ सालमा संसद बन्दा गणेश जन्मिएकासमेत थिएनन् । २०५२ सालमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका- ८ बेतारीमा जन्मेका गणेश सामान्य परिवारका युवा हुन् ।

पब्लिक हेल्थमा एमए अध्ययन गरेका उनले गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसबाट स्नातक पूरा गरेका थिए । सोही क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाट स्ववियु उपसभापतिकसमेत बनेका थिए गणेश । तत्कालीन अनेरास्ववियुका श्रीराम महत सभापति हुँदा उनी उपसभापति भएका हुन् ।

श्रीरामले रामकुमारी झाँक्री पराजित भएपछि नेकपा एकीकृत समाजवादीको गुल्मी जिल्ला अध्यक्षबाट राजीनामा दिएका छन् । सानैदेखि अध्ययन तथा सामाजिक क्षेत्रमा रुचि जागेको बताउने गणेश ५ वर्षअघि मात्रै अध्ययन र कामको खोजीमा बुटवलमा झरेका हुन् ।

अहिले बुटवल १२ मा बसोबास गर्ने उनका बुवा भारतीय पेन्सनर हुन् । परिवारमा तीन भाइ रहेका अविवाहित गणेशका दुई दाइ अहेव र भेटेनरीमा सरकारी सेवामा छन् ।

मतगणनाको सुरुवाती चरणमा एमाले नेता विष्णुलाई उछिनेर अग्रता लिने २९ वर्षीय युवा गणेशले ११०० मत गन्दा ३९९ मत पाएका थिए । विष्णुले ३६६ र सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २९३ मत पाएका थिए ।

गणेश न कुनै स्थापित ठूलो दलका उम्मेदवार हुन न त समाजमा राम्रो काम गरेर पहिचान बनाएका व्यक्तित्व नै । अनेरास्ववियुपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आवद्ध गणेश एमाले र माओवादी एकता हुँदा रेसुंगा बहुमुखी क्याम्पस कमिटीको उपाध्यक्ष भएका थिए । एमाले र माओवादी एकता भंग भएपछि उनी माओवादी छाडेर विवेकशील साझा पार्टी रुपन्देहीको सचिव भएका थिए । पछि विप्लव नेतृत्वको विद्यार्थी संगठनमा प्रवेश गरेर पनि केही समय काम गरे । तर, केही समयपछि पार्टी छाडेर स्वतन्त्र भएका हुन् ।

प्रतिनिधिसभा चुनावको केही समय अगाडि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । गणेश हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर लड्न चाहन्थे । तर, लौरो अभियानले कमल भुसाल (निकोलस) लाई उम्मेदवार बनाएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बने । उम्मेदवारी दर्तापछि खासै चर्चा नपाएका उनले सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीपछि आफूलाई समर्थन गर्न आग्रह गर्दै पत्रकार सम्मेलन पनि गरे ।

गणेशलाई नजिकबाट चिन्नेहरु उनी निकै महत्वाकांक्षी र अस्थिर स्वभावका व्यक्ति भएको टिप्पणी गर्छन् । जेसुकै भए पनि यिनै सामान्य प्रोफाइलका युवाले एमालेभन्दा पुरानो र बलियो दल कांग्रेसले समेत भत्काउन नसकेको लालकिल्ला भत्काउने प्रयास गरेर चर्चामा आए । ६ हजार मत गणना बाँकी रहँदा उनीमात्रै १ हजारले पछाडि छन् ।

विगतको राजनीतिक विषयमा जिज्ञासा राख्दा गणेशले ती कुराहरु नकोट्याउन आग्रह गर्दै भन्छन्, ‘अब ती पुराना कुरा भए । विचारले केही पार नलाग्ने भएर यो अभियानमा लागेको हुँ, तपाईंहरुले हिजोको कुरा जोडेर कसैलाई भनिदिनु राम्रो होइन । हिजो सबैलाई समर्थन गरियो होला, भोट दिइयो होला, त्यो ट्याग लगाएर सधैंभर कसैलाई अगाडि बढ्न रोक्नुहुँदैन नि !’

अहिले आफू सामाजिक अभियानमा रहेको र असहायको सेवा खटिएको भन्दै गणेशले थपे, ‘एमसीसीविरुद्धको आन्दोलनमा थिएँ, कोरोना पीडितको उद्धारमा खटिएको थिएँ, राजनीतिक रुपमा विगतका कुरा नगरौं ।’

आयस्रोतका विषयमा उनले सादगी जीवन बिताउन धेरै खर्च नलाग्ने र त्यसको लागि सामान्य मेहनतले पुगेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर