विश्वकप खेलाइरहेका ३२ प्रमुख प्रशिक्षक : को कस्ता ? – Nepal Press

 विश्वकप खेलाइरहेका ३२ प्रमुख प्रशिक्षक : को कस्ता ?

काठमाडौं । कुनैपनि खेलमा सफलता हात पार्न टिममा राम्रा खेलाडी भएर मात्र पुग्दैन,राम्रा प्रशिक्षक पनि चाहिन्छ । त्यसैले त टिमले खराब नतिजा निकाल्ने शृंखला चलेपछि प्रशिक्षकलाई हटाएर तीभन्दा राम्रा ल्याउने प्रयास गरिन्छ । विश्वकपजस्तो विश्वस्तरको प्रतियोगितामा सहभागी र राम्रो प्रदर्शन गर्न अब्बल प्रशिक्षकको तानातान नै हुन्छ ।

त्यसका लागि विदेशमा नाम चलेका प्रशिक्षकहरु रोजाइमा पर्नु स्वाभाविक हो । जारी विश्वकपमा सहभागी ३२ टोलीका ३२ प्रमुख प्रशिक्षकमध्ये केबल  ९ जनामात्र त्यस्ता छन् जो सम्बन्धित देशका नागरिक होइनन् । क्यामरुन, घाना, मोरक्को, सेनेगल, ट्युनिसियादेखि अधिकांश युरोपेली र दक्षिण अमेरिकी राष्ट्रका प्रमुख प्रशिक्षक ती देशकै नागरिक रहेका छन् ।

कतार विश्वकप खेलाइरहेका ३२ प्रशिक्षकमध्ये ९ प्रशिक्षक सम्बन्धित देशका नागरिक होइनन् । रेनार्डसहित इरान, कतार, , दक्षिण कोरिया, क्यानडा, कोस्टारिका, मेक्सिको, इक्वेडर र बेल्जियमका प्रशिक्षक मात्र विदेशी हुन्। अन्य २३ देशले आफ्नै देशका प्रशिक्षकलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएका छन् ।

जारी कतार विश्वकपमा मंगलबार अर्जेन्टिनामाथि साउदी अरबले प्राप्त गरेको ऐतिहासिक सफलताको श्रेय प्रशिक्षक हर्भ रेनार्डलाई गइरहेको छ । उनी फ्रान्सेली नागरिक हुन् । बुधबार जर्मनीलाई स्तब्ध बनाएको जापानिज टोलीका प्रशिक्षक भने जापानीज नै रहेका छन्।

खेलाडी जिवनमा डिफेन्डर रहेका रेनार्डले सिनियर अन्तर्राष्ट्रिय फुटबल खेल्ने अवसर भने कहिल्यै पाएनन्, तर प्रशिक्षण करिअरमा भने उनी चम्किए । उनले जाम्बियालाई सन् २०१२ मा र २०१५ मा आईभरिकोस्टलाई अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताएका थिए । रेनार्डकै प्रशिक्षणमा मोरक्कोले २० वर्षपछि सन् २०१८ को विश्वकप खेलेको थियो ।

तर, अफ्रिकन कप अफ नेसन्समा टोलिको खराब प्रदर्शनपछि ५४ वर्षीय रेनार्डले सन् २०१९ मा जिम्मेवारी छाडेका थिए । केही समयमै उनलाई साउदी अरबको प्रशिक्षक नियुक्त गरिएको थियो । इरानका प्रशिक्षक कार्लोस क्युरोज पोर्चुगल, कोलम्बिया, इजिप्ट, दक्षिण अफ्रिका र यूएईका पनि पूर्वप्रशिक्षक हुन् । उनी रियल  म्याड्रिडको पनि प्रशिक्षक रहिसकेका छन् । सन् २०११ देखि २०१९ सम्म इरानको प्रशिक्षक रहेका उनलाई यसै वर्ष फेरि जिम्मेवारी दिइएको हो ।

मोजाम्बिकमा जन्मिएका क्युरोज खेलाडी जीवनमा गोलकिपर थिए तर उनले अन्तर्राष्ट्रिय फुटबल खेलेनन् । सन् १९८९ मा पोर्चु्गलको यू-२० राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त उनलाई त्यसपछि सिनियर राष्ट्रिय टोलीको पनि जिम्मेवारी दिइएको थियो । ६९ वर्षीय क्युरोजले पोर्चुगलका लागि सन् १९८९ र १९९१ मा यू-२० विश्वकप र सन् १९८९ मा यू-१६ यूरोकप जितेका थिए ।

४६ वर्षीय फेलिक्स सान्चेज सन् २०१७ देखि कतारको प्रमुख प्रशिक्षक रहेका छन् । १० वर्ष वार्सिलोनाको एकेडेमी हेरेका सान्चेज सन् २००६ मा कतारको महत्वाकांक्षी परियोजना अस्पायर एकेडेमीमा भित्रिएका थिए। ७ वर्ष अम्पायरमा काम गरेपछि कतारको यूथ राष्ट्रिय टोलीको जिम्मेवारी उनलाई दिइएको थियो । उनकै प्रशिक्षणमा कतारले सन् २०१९ मा एसिया कपको उपाधि जितेको थियो भने एक वर्षअघि कन्काफ गोल्डकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो । सान्चेज कहिल्यै व्यवसायिक खेलाडी थिएनन् ।

५३ वर्षीय पोर्चुगिज पौउलो बेन्तो सन् २०१८ देखि दक्षिण कोरियाको राष्ट्रिय टोली सम्हालिरहेका छन् । उनी पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । खेलाडी जीवनमा डिफेन्सिभ मिडफिल्डर रहेका बेन्तोले बेनफिका, स्पोर्टिङ सिपीजस्ता क्लबका लागि पनि खेलेका थिए ।

सन् २००४ देखि उनी प्रशिक्षणमा संलग्न छन् । क्यानडाका ४७ वर्षीय प्रशिक्षक जोन हर्डम्यान सन् २०१८ देखि उक्त जिम्मेवारी छन् । त्यसअघि सन् २०११ देखि २०१८ सम्म उनी क्यानडाकै महिला राष्ट्रिय टोलीको प्रशिक्षक थिए ।

न्युजिल्यान्डले सन् २००६ देखि २०११ सम्म उनलाई महिला राष्ट्रिय टोलीको प्रशिक्षक बनाएको थियो । हर्डम्यान पनि व्यावशायीक खेलाडी थिएनन् । ६२ वर्षीय कोलम्बियन लुइस फर्नान्डो स्वारेज सन् २०२१ देखि कोस्टारिकोको प्रशिक्षक रहेका छन्। खेलाडी जीवनमा डिफेन्डर रहेका उनले अन्तर्राष्ट्रिय फुटबल भने खेल्न सकेनन् । यद्यपि प्रशिक्षकका रूपमा उनले यसअघि होन्डुरस, इक्वडेरसहित विभिन्न क्लबको जिम्मेवारी सम्हालिसकेका छन् ।

मेक्सिकोका प्रशिक्षक जेर्रार्डो मार्टिनो पूर्वअर्जेन्टिनी खेलाडी हुन् । ६० वर्षीय  मार्टिनोले तीन वर्षयता मेक्सिकोको प्रशिक्षण सम्हालिरहेका छन् । उनले त्यसअघि अर्जेन्टिना, बार्सिलोना, पाराग्वेसहित विभिन्न टोलीको प्रमुख प्रशिक्षक भएर काम गरिसकेका छन् । उनकै प्रशिक्षणमा मेक्सिकोले तीन वर्षअघि कन्काफ गोल्डकप जितेको थियो भने एक वर्षअघि फाइनलसम्म पुगेको थियो । मार्टिनो सन् १९९८ देखि व्यवसायिक प्रशिक्षणमा छन् । इक्वेडरका प्रशिक्षक गुस्ताभो अल्फारो अर्जेन्टिनी हुन् । उनी दुई वर्षयता इक्वेडरको प्रशिक्षक छन् ।

सन् १९९२ देखि प्रशिक्षणमा रहेपनि अल्फारोले राष्ट्रिय टोली सम्हालेको इक्वेडरमात्र हो । खेलाडी जीवनमा मिडफिल्डर रहेका उनले कहिल्यै अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएनन् । उनले प्रशिक्षणको अधिकांश समय अर्जेन्टिनी क्लबमै बिताएका थिए । बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज स्पेनिस हुन्। उनी सन् २०१६ देखि बेल्जियमको प्रशिक्षक रहेका छन्। त्यसअघि उनले एभर्टन, स्वान्सी सिटीजस्ता क्लबको प्रशिक्षण सम्हालेका थिए। खेलाडी जिवनमा मिडफिल्डर रहेका उनले अन्तर्राष्ट्रिय फुटबल खेल्ने अवसर भने पाएनन्। सन् २००७ देखि व्यावशायीक प्रशिक्षणमा रहेका ४९ वर्षीय मार्टिनेजकै प्रशिक्षणमा बेल्जियम अघिल्लो विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर