रवि लामिछानेको विजयपछि चितवनमा विशाल र्‍याली, लगाएनन् अबिर-माला – Nepal Press

रवि लामिछानेको विजयपछि चितवनमा विशाल र्‍याली, लगाएनन् अबिर-माला

‘हाम्रो रवि हाम्रो देश.. प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन-२ बाट विजयी बनेपछि चितवनमा विशाल र्‍याली निस्केको छ । ठूलो संख्यामा चितवनवासी र्‍यालीमा सहभागी भएका छन् ।

आज आएको अन्तिम नतिजामा रविले ३४ हजारभन्दा बढी मतको जित हासिल गरेका थिए । जितपश्चात रविले तीनवटा ‘धन्यवाद सभा’ गर्ने घोषणा सामाजिक सञ्जालमा गरेका थिए । त्यसअनुसार अहिले ३ बजे भरतपुर १० को गेस्टहाउस चौरमा आमसभा सुरू हुँदैछ । आमसभातर्फ जाने क्रममा र्‍याली निकालिएको हो ।

विजय र्‍यालीमा समर्थकहरुले विभिन्न नाराबाजी गरिरहेका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर’, रवि आऊ देश बचाऊ’, ‘हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ…’ जस्ता नाराहरू सुनिएका छन् ।

गाडीमा सवार भएका रविले अबिर-माला र खादा केही पनि लगाएका छैनन् । उनले आफ्नो जितलाई विजयको रूपमा नभएर निर्वाचित भएको अर्थमा मात्रै बुझ्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत नै रविले आफूलाई फूलमाला, अबिर, खादा केही पनि नलगाइदिन अपिल गरेका थिए ।

रविको घोषणाअनुसार भोलि बिहान ११ बजे इच्छाकामना गाउँपालिकाको कुरिनटार फुटबल ग्राउन्डमा अर्को धन्यवादसभा गरिनेछ । यसैगरि, भोलि दिउँसो ३ बजे कालिका नगरपालिका पदमपुरस्थित सहिद स्मृति कलेज खेलमैदानमा तेस्रो सभा हुनेछ । आफ्ना सबै सभाहरूमा दुईवटा पेटिका पनि राख्ने रविले बताएका छन् । एउटा पेटिकामा उजुरी तथा गुनासो र अर्कोमा सुझाव तथा सूचनाहरू लेखेर खसाल्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर