सिन्धुपाल्चोकमा माओवादीका तीन ‘स’ को जित – Nepal Press

सिन्धुपाल्चोकमा माओवादीका तीन ‘स’ को जित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा माओवादी भित्र तीन ‘स’ को नामबाट परिचित माधव सापकोटा ‘सुवोध’,सरल सहयात्री र युवराज दुलाल ‘सरद’ तीनै जनाले  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाजी मारेका छन् ।

जनमूक्ति सेना पृष्ठभूमिबाट माओवादी राजनीतिमा उदाएका यी तीनै नेता एकै पटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् । युवराज दुलाल दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् भने माधव सापकोटा र सरल सहयात्री पहिलो पटक संसदमा पुगेका हुन् ।

माओवादी युद्धकालमा उनीहरु पार्टीभित्र तीन ‘स’ ले परिचित थिए। पार्टी शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएपछि तीन ‘स’ मित्रता झन् घनिभूत हुन थाल्यो। तीन जना सुवोध, सरल र शरदको छोटकारी रुप तीन ‘स’ उपनामले उनीहरु चिनिए । उनीहरु आफ्नो वास्तविक नामभन्दा पनि सुवोध, सरल र शरदले जिल्लामा चिनिन्छन्। उनीहरु तिनै जना उमेरले भर्खर ४० पुगेका माओवादीका युवा नेता हुन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल सँग निकट सम्बन्ध राख्ने तीन नेता मध्ये दुलाल दाहालको अंगरक्षक भएर लामो समय दाहाल सँगै थिए । माओवादी अध्यक्ष दाहालका छोरा प्रकाश दाहाल सहित सरद र सरलले सगरमाथाको आरोहण समेत गरेका थिए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटा ‘सुवोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ३० हजार ३७४ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केन्द्रीय सदस्य सरेश नेपाललाई ३ हजार ३५६ मतले पछि पार्दे उनी निर्वाचित भएका हुन् ।

नेपालले २७ हजार १८ मत ल्याएका थिए । २०७४ को प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ प्रदेश सभा –२ बाट प्रदेश सभामा निर्वाचित भएका एमाले नेता सरेश नेपाल वागमती प्रदेश सभाका पुर्व मन्त्री थिए ।

माओवादी नेता सापकोटा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । उमेरले भर्खर ४० पुगेका नेता सापकोटालाई नेपाली कांग्रेस सहित सत्ता गठबन्धनको साथ रहेको थियो ।

माओवादी भित्र अर्काे ‘स’ बाट परिचित सरल सहयात्री पौडेल दोस्रो प्रयासमा संसदमा पुगेका छन् । उनी सिन्धुपाल्चोक–१ प्रदेश सभा–२ बाट निर्वाचीत भएका छन् । सरलले १७ हजार २५६ मत सहित प्रदेश सभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होमनारयण श्रेष्ठले १३ हजार १३ मत पाएका थिए । सरलले श्रेष्ठ भन्दा ४ हजार ४३ बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठ २०७४ को स्थानीय निर्वाचनमा जुगल गाउँपालिकाबाट अध्यक्षमा निर्वाचीत भएका थिए । सर २०७० को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट उमेदवार भएर पराजीत भएका थिए ।

आफ्नै पुर्व सहकर्मीलाई हराउदै माओवादी पोलिटब्युरो सदस्य युवराज दुलाल दोस्रो पटक भारी मतसहित प्रदेश सभामा विजयी भएका छन् । दुलालले २० हजार ९०६ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमान सिं तामाङले १२ हजार १३९ मत ल्याएका थिए । दुलाले तामाङ भन्दा ८ हजार ७६७ मत बढी ल्याएका थिए । दुलाल २०७४ को प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक–२ प्रदेश सभा –१ बट निर्वाचित भएका थिए ।

अहिले पनि सोही क्षेत्रबाट निर्वाचित भएका छन् । एमाले उम्मेदवार तामाङ २०७४ मा नेकपा माओवादीको तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचीत भएका थिए । उनी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको एक महिना अघि मात्रै माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए ।

क्षेत्र नम्बर १ मा गठबन्धनको ‘क्लिनसीप’

एमाले विरुद्ध गठबन्धन बनाएर निर्वाचनमा होमिएको गठबन्धनले सिन्धुपाल्चोक–१ मा एमालेलाई ‘क्लिनसीप’ बनाएको छ । १ प्रतिनिधि सभा र १ प्रदेश सभामा माओवादी केन्द्रले जितेको छ भने एउटा प्रदेश सभामा कांग्रेस उमेदवार विजयी भएका छन् । सिन्धुपाल्चोक–१ प्रदेश सभा–१ मा नेपाली कांग्रेसकी उमेदवार मसिना खडका विजयी भइसकेकी छन् ।

२०७४ को निर्वाचनमा यो क्षेत्रका २ प्रदेशमा एमाले नेताहरु ले माओवादीसँगको गठबन्धनमा जित हाँसिल गरेका थिए । भने एमालेसँगको गठबन्धनबाट माओवादी नेता अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा विजयी भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर