युरोप र दक्षिण अमेरिकी महारथीलाई एसियाको सशक्त झड्का, २० वर्षअघिको झल्को – Nepal Press

युरोप र दक्षिण अमेरिकी महारथीलाई एसियाको सशक्त झड्का, २० वर्षअघिको झल्को

काठमाडौं । विश्वका दुई महारथीलाई हराउँदै कतार विश्वकपमा एसियाले सशक्त झड्का दिएको छ। मङ्गलवार भएको खेलमा साउदी अरबले दुई पटकको विजेता र सात पटकका फिफा वर्ष खेलाडी लियोनल मेसी सम्मिलित अर्जेन्टिनालाई २–१ गोलले हराएको थियो।

बुधवार चार पटकको विजेता जर्मनी अर्को एसियाली टोली जापानसँग २–१ गोलले नै पराजित भयो। ग्रुप अफ डेथमा रहेका कारण जर्मनी पहिलो हारसँगै समस्यामा परेको छ। जर्मनीले समूहका बाँकी दुई खेलमा स्पेन र कोस्टारिकाको सामना गर्ने छ।

जर्मनी चार वर्षअघि आयोजित रुस विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो। विश्वकप इतिहासमा जर्मनी ६० वर्षपछि पहिलो पटक पहिलो चरणमा सीमित बनेको थियो। त्यसअघि सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो। सन् २०१८ मा जर्मनी पहिलो चरणबाट बाहिरिने क्रममा अन्तिम खेलमा एसियाली टोली दक्षिण कोरियासँग पराजित भएको थियो।

मङ्गलवार र बुधवारका दुई नतिजाले २० वर्षको अघिको विश्वकपको झल्को दिएको छ। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेकामा एसियाली टोलीले ऐतिहासिक सफलता हात पारेका थिए। त्यति बेला दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो भने जापान पनि नकआउट चरण प्रवेश गरेको थियो।

त्यति बेला जापानले पहिलो चरणमा बेल्जियमलाई २–२ गोलको बराबरीमा रोकेको थियो भने रुस र ट्युनिसियालाई हराएको थियो।

यस्तै दक्षिण कोरियाले पोल्यान्ड र पोर्चुगललाई हराएको थियो भने अमेरिकासँग बराबरी खेलेको थियो। दुवै टोली समूह विजेता बनेर नकआउट चरण प्रवेश गरेका थिए। विश्वकप इतिहासमा एसियाली टोली सेमिफाइनल पुगेको त्यही एक मात्र अवसर थियो।

दोस्रो पटक एसियामा आयोजना भइरहेको विश्वकपमा युरोपको जर्मनी र दक्षिण अमेरिकाको अर्जेन्टिनालाई पराजित गरेसँगै एसियाले कतार विश्वकपमा आफ्नो दमदार उपस्थिति देखाएको छ।

एसियाबाट ६ टोली सहभागी भएकामा इरान र कतार भने पहिलो खेलमा पराजित भइसकेका छन्। अब दक्षिण कोरियाले मात्र पहिलो खेल खेल्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर