विश्वकपको पहिलो खेलमा साना टोलीको रवाफ, ठुला टोलीहरुको ‘मोरल डाउन’ – Nepal Press

विश्वकपको पहिलो खेलमा साना टोलीको रवाफ, ठुला टोलीहरुको ‘मोरल डाउन’

दोहा। साउदी अरबले मंगलबार दुईपटकको पूर्व विजेता र सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सी सम्मिलित अर्जेन्टिनालाई हराएर कतार विश्वकपमा शानदार सुरुवात गर्‍यो। अर्जेन्टिनाले सहजै जित्ने अनुमान गरिएको यो खेलमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गरेको थियो।

हारसँगै अर्जेन्टिना दबाबमा परेको छ। पहिलोपटक सहभागी हुनेक्रममा सन् १९९४ को विश्वकपमा पहिलो चरण पार गर्न सफल साउदी अरब त्यसयता चारपटक यो प्रतियोगिता खेलेपनि समूहगत चरणमै सिमित भएको छ। अर्जेन्टिनामाथि प्राप्त जितको खुसीयालीमा बुधबार साउदी अरबमा सार्वजनिक विदाको घोषणा गरिएको थियो।

छैटौँपटक विश्वकप खेलिरहेको ट्युनिसियाले मंगलबार नै भएको अर्को खेलमा गत युरोकपको सेमिफाइनल पुगेको डेनमार्कलाई गोलरहित बराबरीमा रोक्यो। ट्युनिसिया विश्वकपमा हालसम्म पहिलो चरण पार गर्न सकेको छैन र १६ खेल खेल्नेक्रममा केवल दुई खेल मात्र जितेको छ। बिहीबार भएको खेलमा अफ्रिकी टोली मोरक्कोले साविक उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोक्न सफल भयो।

छैटौँपटक विश्वकप खेलिरहेको मोरक्कोले अन्तिमपटक सन् १९९८ को विश्वकपमा जित हात पारेको थियो। त्यसयता अघिल्लो विश्वकप मात्र खेलेको उसले एउटा बराबरी र दुईवटा हारसहित समूहगत चरणबाटै विदा हुनुपर्‍यो। मोरक्को विश्वकपमा एकपटक पहिलो चरण पार भएको इतिहास छ, सन् १९८६ को विश्वकपमा।

सन् २०१८ को विश्वकपमा त्यतिबेलाको साविक विजेता जर्मनी पहिलो खेलमा मेक्सिकोसँग पराजित भएको थियो। पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले पहिलो खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो। अन्तत जर्मनी ६० वर्षपछि पहिलोपटक विश्वकपको पहिलो चरण पार गर्न असफल भएको थियो। समूहगत चरणको अर्को खेलमा जर्मनीलाई दक्षिण कोरियाले पनि हराएको थियो। दक्षिण कोरिया पहिलो चरण पार गर्न भने असफल भएको थियो।

सेनेगलले सन् २००२ को विश्वकपको पहिलो खेलमै त्यतिबेलाको साविक विजेता फ्रान्सलाई स्तब्ध बनाएको थियो। त्यो सेनेगलको पहिलो विश्वकप सहभागिता थियो। अफ्रिकी टोली सेनेगेल क्वाटरफाइनलसम्म पुग्यो भने फ्रान्सले पहिलो चरण पार गर्न सकेको थिएन। सन् १९९० को विश्वकपमा पनि अफ्रिकी टोली क्यामरुनले पहिलो खेलमै त्यतिबेलाको साविक विजेता अर्जेन्टिनालाई हराएको थियो। त्यो क्यामरुनको दोस्रो विश्वकप सहभागिता थियो ।

सन् १९८२ को पहिलो विश्वकप सहभागितामा समूहका तीनवटै खेलमा पराजित भएर पहिलो चरणबाट बाहिरिएको थियो। सन् १९९० मा क्यामरुन क्वाटरफाइनलसम्म पुगेर विश्वकपमा क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। पहिलो खल हारेपनि अर्जेन्टिना भने फाइनलसम्म पुगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर