तेस्रो शक्ति बन्न संघर्ष : माओवादीले रास्वपालाई उछिन्ने सम्भावना बलियो – Nepal Press

तेस्रो शक्ति बन्न संघर्ष : माओवादीले रास्वपालाई उछिन्ने सम्भावना बलियो

काठमाडौं । आम–निर्वाचन २०७९ को मतगणना जारी रहँदा प्रारम्भिक रुझानले परम्परागत दुई पार्टीहरू कांग्रेस र एमाले नै देशको पहिलो र दोस्रो शक्तिका रूपमा कायम रहने निश्चित देखिएको छ । यद्यपि, यी दुईमध्ये को अगाडि आउँछ भन्ने चाहिँ यकिन छैन ।

यकिन नभएका विषयहरू अरू पनि छन् । जस्तै, कांग्रेस–एमालेपछि तेस्रो शक्तिका रूपमा कुन पार्टी आउँछ ? चुनाव अघिसम्म सबैले माओवादीलाई नै सम्भावित तेस्रो शक्तिका रूपमा हेरेका थिए । तर, मत परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त लहरले राजनीतिक शक्ति सन्तुलन बदलिन सक्ने संकेत गरेको छ ।

अहिलेसम्मको मतगणनामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ माओवादीभन्दा रास्वपा अगाडि देखिन्छ । यद्यपि, अन्तिमसम्ममा यो माओवादीले उछिन्न सक्ने सम्भावना बलियो छ ।

अहिलेसम्म ३३ सिटको परिणाम आइसक्दा माओवादीले प्रत्यक्षतर्फ ३ सिटमा मात्रै जित हासिल गरेको छ । जबकि रास्वपाले चार सिट जितेको छ । ती चार वटै सिट राजधानी काठमाडौंका हुन् ।

तर, अग्रताको स्थिति हेर्दा रास्वपाभन्दा माओवादी निकै अगाडि छ । माओवादीले १४ सिटमा अग्रता लिइरहेको छ भने रास्वपाका उम्मेदवारहरू ४ सिटमा मात्रै अगाडि छन् ।

यसर्थ प्रत्यक्षमा रास्वपाले भन्दा माओवादीले केही सिट बढी ल्याउने पक्कापक्की छ । प्रत्यक्षमा रास्वपासँग १० सिटको अन्तराल कायम गर्न सकेमा माओवादी फेरि पनि तेस्रो शक्तिका रूपमा कायम रहन सक्छ ।

यता रास्वपालाई समानुपातिक मतबाट ठूलो आशा छ । अहिलेसम्मको ट्रेन्ड हेर्दा यो पार्टीले समानुपातिकमा एमाले र कांग्रेसपछि तेस्रो सर्वाधिक मत ल्याइरहेको छ । चुनावअघि पार्टीले समानुपातिकमा कांग्रेस–एमालेकै हाराहारीमा मत ल्याउने आशा राखेको थियो ।

तर, अहिलेसम्मको स्थितिमा उसको मत दुई ठूला दलको भन्दा उल्लेख्य कम छ । यद्यपि, समानुपातिकको मत धेरै गणना भइसकेको छैन ।

अघिल्लो चुनावमा माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेर दोस्रो शक्ति बनेको थियो । एमालेसँगको तालमेलमा माओवादीले प्रत्यक्षमा कांग्रेसले भन्दा बढी सिट जितेको हो । तर, समानुपातिकले कांग्रेसलाई टेवा दिएर समग्रमा माओवादीभन्दा ठूलो शक्ति बन्यो । त्यसबेला समानुपातिकमा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट मात्रै ल्याएका थिए ।

यसपालि रास्वपाले पनि प्रत्यक्षमा घटेको सिट समानुपातिकबाट भर्पाई गरेर माओवादीभन्दा ठूलो शक्ति बन्न सक्ने आशा राखेको छ ।
तर, अहिलेसम्मको ट्रेन्डले समानुपातिकमा रास्वपा र माओवादीबीच धेरै ठूलो दुरी देखिएको छैन ।

रास्वपाले १ लाख १६ हजार ८ सय ६६ मत ल्याउँदा माओवादीले १ लाख ४ हजार ६ सय ८१ मत ल्याएको छ । अर्थात् दुई पार्टीबीच १२ हजार मतको मात्रै फरक छ ।

साथै, माओवादीको पकड रहेका धेरै स्थानहरूमा मतगणना सुरु भएको छैन । त्यसैले समानुपातिकतर्फ पनि माओवादीले रास्वपालाई उछिन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यस अर्थमा आगामी संसदमा पनि कांग्रेस र एमालेपछि माओवादी नै तेस्रो दलका रूपमा स्थापित हुनसक्ने टड्कारो सम्भावना देखिन्छ ।

तेस्रो दल बन्न महत्वाकांक्षा राखेको अर्को पार्टी राप्रपा पनि हो । यस पार्टीले पनि यो निर्वाचनमा निकै सुधार गरिरहेको छ । अहिलेसम्मको आँकडा हेर्दा राप्रपा तेस्रो शक्ति बन्ने गरी फड्को मार्न सक्ने स्थिति देखिन्न । बरु राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदै चौथो ठूलो दलको हैसियत बनायो भने त्यो पनि उसका लागि उपलब्धिपूर्ण मानिने छ ।

राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षमा कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत ल्याउनुपर्ने कानूनी व्यवस्था छ । अघिल्लो चुनावमा राप्रपाले प्रत्यक्षमा एक सिट जिते पनि समानुपातिकमा ३ प्रतिशत कटाउन सकेको थिएन ।

यसपालि भने समानुपातिकतर्फ पनि राप्रपाले राम्रो मत बटुलिरहेको छ । समानुपातिकमार्फत थ्रेस होल्ड कटाउन करिब तीन लाख मत ल्याउनुपर्ने देखिन्छ ।

अहिलेसम्म समानुपातिकतर्फ करिब ९ लाख मात्रै मत गणना भएको छ । यो भनेको १० प्रतिशतभन्दा कम हो । यति गणनामा राप्रपाले ६० हजार ७ सय ६२ मत ल्याएर चौथो स्थानमा छ ।

अब गन्न बाँकी करिब ९० लाख मतबाट राप्रपाले २ लाख ४० हजार मत ल्याउनुपर्छ राष्ट्रिय पार्टी बन्न । यही अनुपातमा मत ल्याइरहे त्यो कुनै चुनौतीको कुरा देखिँदैन । यी पाँच पार्टी बाहेक अरूले चाहिँ राष्ट्रिय पार्टी बन्न सहज छैन ।

प्रतिक्रिया

One thought on “तेस्रो शक्ति बन्न संघर्ष : माओवादीले रास्वपालाई उछिन्ने सम्भावना बलियो

  1. एमालेलाई देखाईदिन्छु भन्ने पार्टी काँग्रेसको लात खाएर अस्ति जन्मेको पार्टीसँग तेश्रो हुन संघर्षरत रहेको देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर