जर्मनीका सबैभन्दा अनुभवी मुलर अर्थात नामै काफी – Nepal Press

जर्मनीका सबैभन्दा अनुभवी मुलर अर्थात नामै काफी

दोहा। ६० वर्षपछि पहिलोपटक पहिलो चरणबाटै बाहिरिएको चार वर्ष पुरानो इतिहास विर्सदै जर्मनीले बुधबार कतार विश्वकप यात्रा सुरु गर्दै छ, जापानसँग खेल्दै।

सन् २०१८ मा रुसमा आयोजित विश्वकपमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो। त्यसअघि जर्मनी पछिल्ला ९ मध्ये ७ विश्वकप संस्करणमा कम्तिमा सेमिफाइनलसम्म पुगेको थियो।

५ उपाधिसहित ब्राजिलको नाममा रहेको सर्वाधिक विश्वकप जित्ने कीर्तिमान बराबरी गर्न प्रयाशरत जर्मनी त्यसका लागि आँतुर छ। हरेक विश्वकपमा उपाधि दावेदार देखिने गरेको जर्मनीले सन् २०१४ मा ब्राजिलकै मैदानमा पुगेर विश्वकप जितेको थियो।

जर्मन फुटबलको एउटा विषेषता के रहेको छ भने त्यहाँको राष्ट्रिय टोलीमा प्राय त्यहीँकै घरेलु लिग खेलिरहेका खेलाडीको प्रभाव रहन्छ। त्यस्तै एक खेलाडी हुन् थोमस मुलर जो १२ वर्षयता सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् र जर्मनीका हरेक सफलतामा मुख्य सदस्य रहन्छन्।

मुलर जर्मन फुटबलका लागि एउटा सूपरिचित नाम हो। तत्कालिन पश्चिम जर्मनीका गर्ड मुलरले पेलेको उत्तरार्ध समयमा विश्व फुटबलमा राज गरेका थिए। सन् १९७२ मा युरोकप र सन् १९७४ मा विश्व कप जित्दा गर्ड मुलर पश्चिम जर्मनीका निर्णायक सदस्य थिए।

उनले सन् १९६६ देखि १९७४ सम्म अन्तर्राष्ट्रिय फुटबल खेले तर त्यसबीचमा ६२ खेल खेल्दै ६८ अन्तर्राष्ट्रिय गोल  गरेका थिए। घरेलु लिगमा र अन्तर्राष्ट्रिय फुटबल मा उनले बनाएको कीर्तिमान तोडिन दशकौँ लागेको थियो। तर यी थोमस मुलर पनि कम देखिएनन्।

सन् २०१० मा आयोजित विश्वकपमा सर्वोत्कृष्ट युवा खेलाडी र सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट दुवै जित्न सफल  भएका थिए। सन् २०१४ को विश्वकपमा पनि उनी दोस्रो सर्वाधिक गोलकर्ता रहेका थिए। दोस्रो सर्वोत्कृष्ट खेलाडीका रुपमा उनलाई सिल्भर बल पनि प्रदान गरिएको थियो। उनी बुन्डेस लिगा क्लब बायर्न म्युनिखमै हुर्के र त्यहीँ करियर बिताइरहेका छन्।

मुलरले व्यावशायीक खेलाडी जिवनमा ११ पटक बुन्डेस लिगा, दुईपटक च्याम्पियन्स लिग, दुईपटक क्लब विश्वकप, दुईपटक यूईएफए सुपर कपसहित ३० भन्दा बढी उपाधि जितेका छन्। उनलाई गत सिजन बायर्न म्युनिखको सर्वोत्कृष्ट सिजन खेलाडीको अवार्ड पनि दिइएको थियो। ६ फिट एक इन्च उचाईका यी ३३ वर्षीय स्ट्राइकर शारिरिकरुपमा पातलो देखिएपनि मैदानमा छरितो देखिन्छन्।

अहिले उनी जर्मन राष्ट्रिय टोलीको सबैभन्दा अनुभवी खेलाडी हुन्। यस्तै हालको टोलीका सदस्यमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका खेलाडी पनि। मुलरले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा एक सय १८ खेल खेल्दै ४४ गोल गरेका छन्। दोस्रो सर्वाधिक अनुभवी गोलरक्षक मानुयल नुयरले एक सय १४ सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टोलीमा नुयर र मुलरभन्दा सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी अरु छैनन्। मुलरले पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीका लागि १८ खेलमा ६ गोल  गरेका छन्।

हालको जर्मन टोलीमा मुलरपछि सर्वाधिक गोल गर्ने खेलाडीमा २० गोलसहित सर्ज जिनाब्री दोस्रोमा छन्। मारियो गोट्सेले १७ र इल्के गुन्डोगानले १६ गोल गरेका छन्। टोलीमा रहेका २६ मध्ये २० खेलाडी बुन्डेस लिगा खेलिरहेकै हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर