फ्रान्सको उपाधि रक्षा अभियानमा अघि सरेका कीर्तिमानी जिरोउड – Nepal Press

 फ्रान्सको उपाधि रक्षा अभियानमा अघि सरेका कीर्तिमानी जिरोउड

दोहा। अन्तर्राष्ट्रिय गोल संख्याको हिसाबले ओलिभर जिरोउड फ्रान्सका ‘अन्डररेटेड’ खेलाडी हुन् भन्दा फरक पर्दैनन्। फ्रान्सका जिनेदिन जिदान, थिएरी हेनरी वा केलियन एमबाप्पे जसरी उनको चर्चा भएको छैन।

तर ३६ वर्षको उमेरमा पनि उनी राष्ट्रिय टोलीमा परिरहेका छन्, गोल गरिरहेका छन्। केही राम्रा खेलाडी चोटका कारण अनुपस्थित रहेपनि फ्रान्सको विश्वकप उपाधि रक्षा अभियानमा गतिलो सुरुवात दिलाउन जिरोउडको भूमिका महत्वपूर्ण रह्यो। जिरोउडकै दुई गोल मदतमा फ्रान्सले मंगलबार राती अस्ट्रेलियालाई ४-१ गोलले हरायो।

पछिल्लो प्रदर्शनले जिरोउड राष्ट्रिय कीर्तिमान बराबरी र नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल छन्। उनले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने फ्रान्सेली खेलाडीका रुपमा हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान बराबरी गर्न सफल भए। जिरोउड फ्रान्सका लागि विश्वकपका गोल गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी पनि बनेका छन्।

फ्रान्सको टोलीमा पछिल्लो समय शानदार प्रदर्शन गरिरहेका करिम बेन्जेमादेखि मिडफिल्डमा जमिरहेका पल पोग्बा र एन्गोलो कान्टे चोटका कारण नरहेपनि जिरोउडले युवा स्ट्राइकर केलियन एमबाप्पेलाई गतिलो साथ दिने देखिएको छ। मंगलबार एमबाप्पेले पनि एक गोल र एक असिस्ट गरे।

जिरोउड सन् २०११ देखि फ्रान्सको सिनियर राष्ट्रिय टोलीमा छन्। उनले एक सय १५ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले सन् २०११/१२ सिजन फ्रान्सको लिग वानमा २१ गोलसहित सर्वाधिक गोलकर्ता बन्नुबाहेक उल्लेख्य व्यक्तिगत अवार्डहरु हात पार्न सकिरहेका छैनन्। उनले यो सिजन एसि मिलानका लागि १९ खेलमा ९ गोल र यो वर्ष राष्ट्रिय टोलीका लागि ५ खेलमा ५ गोल गरेका छन्।

जिरोउड यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकप जित्दा र सन् २०१६ मा युरोकप उपविजेता बन्दा पनि टोलिमा थिए। उनले क्लब फुटबलमा चेल्सीका लागि च्याम्पियन्स लिग र युरोपा लिग, एसि मिलानका लागि इटालियन सिरिए, मन्टेपिलरका लागि लिग वान र आर्सनलका लागि एफए कप जितेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर