अब कता जाँदैछन् ‘बुलेट प्रुफ’ रोनाल्डो ? – Nepal Press

अब कता जाँदैछन् ‘बुलेट प्रुफ’ रोनाल्डो ?

लन्डन। कतार विश्वकपमा सहभागी हुन आउनुअघि म्यानचेस्टर युनाइटेडबारे कडा आलोचना गरेका पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो अहिले क्लबबिहिन बनेका छन्। रोनाल्डो र म्यान युनाइटेडबीचको सम्झौता तत्काल लागु हुनेगरि मंगलबारदेखि तोडिएको दुवै पक्षद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

फुटबल विश्लेषकहरुले पछिल्लो परिस्थिती निर्माण गर्नकै लागि रोनाल्डोले त्यसरी बोलेको अनुमान यसअघि नै गरेका थिए। म्यान युनाइटेडमा रोनाल्डोसँगै खेलेका रियो फर्डिनान्डले यी पोर्चुगिज खेलाडीले चाहे जसरी परिस्थिती निर्माण भएको बताएका छन्। उक्त निर्णयले दुवै पक्ष खुसी रहेको फर्डिनान्डको भनाई छ।  सन् २०२१ मा म्यान युनाइटेड र रोनाल्डोबीच दुई वर्षको सम्झौता भएको थियो, एक वर्ष थप हुन सक्ने सम्झौतासहित। तर पहिलो सिजनमा म्यान युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएपछि उनी तनावमा देखिएका थिए।

यो सिजन भने उनलाई प्रशिक्षक एरिक टान हागले सुरुवाती-११ मा खेलाउन आनाकानी गरिरहेका थिए। गत सिजन म्यान युनाइटेडका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डो यसपटक पहिलो रोजाईमा नपर्नुका पछाडि उनी र व्यवस्थापनबीच समस्या बढिरहेको  विश्लेषकहरुकोअनुमान थियो। रोनाल्डोले प्रशिक्षक एरिक टान हागले आफ्नो सम्मान नगर्ने भएकाले आफुले पनि उनको सम्मान नगर्ने बताएका थिए।

म्यान युनाइटेडमा आफ्नो उपस्थिती कमजोर देखिएपछि रोनाल्डो जसरी पनि अर्को क्लबमा जाने मनस्थितीमा देखिन्थे। तर उनले चाहेर मात्र त्यो परिस्थिति निर्माण हुने थिएन। तर म्यान युनाइटेडले सम्झौता तोडेसँगै अब रोनाल्डो आफुले चाहेको क्लबमा, आफ्नो सम्झौता र सहमतीबमोजिम जान सक्नेछन्।

त्यसअघि कतार विश्वकपको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले आफु बुलेट ब्रुफ भएको, चाहेको बेला बोल्न सक्ने स्वभाव भएको भन्दै आक्रोशित म्यान युनाइटेडलाई थप चिड्याउने काम गरेका थिए। अब प्रश्न उठ्छ, रोनाल्डोको अबको गन्तव्य कहाँ हुने छ? ३७ वर्षीय रोनाल्डो अन्य खेलाडिको हकमा जसरी भन्ने हो भने सन्याश लिनुपर्ने समयमा पुगिसकेका खेलाडी हुन्। तर रोनाल्डो यसरी प्रस्तुत भइरहेका छन् की उनी सन्याश भन्ने शब्द सुन्न र उच्चारण गर्न पनि चाहँदैनन्। उनले अझै केही वर्ष खेल्ने बताइरहेका छन्।

त्यसैले उनीसामु अबका वर्ष पैसाका लागि खेल्ने की ठुला प्रतियोगितामा सहभागी भइरहने भन्ने दुईवटा विकल्प देखिन्छ। युरोपका ठुला लिग खेलिरहेका खेलाडी करियरको अन्तिम समयमा कतार, चीनदेखि अमेरिकाका लिगमा गएको देखिन्छ, पैसाका लागि। त्यहाँ उनिहरुले मोटो रकम पाउँछन्।

जाभी, डेभिड बेकह्यामसहित चर्चित खेलाडीहरु यसरी व्यावशायीक करियर अन्त्य गरेका थिए। तर युरोपियन च्याम्पियन्स लिगजस्ता ठुला प्रतियोगिता खेल्नका लागि रोनाल्डोले युरोपकै कुनै ठुलो क्लबमा जानु पर्ने छ। तर उनले चाहेर मात्र हुँदैन, लैजाने पनि तयार देखिनुपर्छ। पायर्स मोर्गनसँगको पछिल्लो अन्तर्वार्तामा लियोनल मेस्सी आबद्ध पेरिस सेन्ट जर्मन-पीएसजीबाट खेल्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले फुटबलमा जे पनि सम्भव छ भन्ने जवाफ दिएका थिए।

मंगलबार जारी विज्ञप्तीमा रोनाल्डोले भनेका छन्, ‘ नयाँ चुनौती खोज्ने यो उत्तम समय हो।’ रोनाल्डो च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनी अन्तर्राष्ट्रिय फुटबलका पनि सर्वकालिन सर्वाधिक गोलकर्ता रहेका छन्। अब तत्काल उनको ध्यान विश्वकपमा हुने छ जुन प्रतियोगिता रोनाल्डोले हालसम्म जित्न सकेका छैनन्। स्वयं रोनाल्डोले पनि आफु अहिले विश्वकपमा केन्द्रित रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर