जारी विश्वकपमा किन धेरै समय थप गरिएको छ ? यस्तो छ कारण – Nepal Press

जारी विश्वकपमा किन धेरै समय थप गरिएको छ ? यस्तो छ कारण

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा समूह चरण अन्तर्गतका केहि खेलहरू मात्रै सकिएका छन् । हरेक खेलमा १० मिनेट भन्दा बढी समय थप गरेको देखिन्छ । अनि, यही खेलहरूबाट हामीले फुटबलमा धेरै नयाँ प्रविधिको विकास भएको पनि महसुस गरेका छौँ र किन हरेक खेलमा धेरै समय थप गरियो भन्ने कुरा प्रायलाई चासोको विषय पनि बनेको छ ।

विश्वकपका पाँच खेलमा ८५ मिनेट भन्दा बढी समय थपिएको छ । त्यसमा इङ्गल्यान्ड र इरानबीचको खेल सकिन १ सय १७ मिनेट १६ सेकेन्ड लागेको थियो ।

इङ्गल्यान्ड र इरानबीचको खेलमा इरानका गोलकिपर अलिरेजा विरानभाल्ड विपक्षी खेलाडीसँग टाउकोमा टोकिएर केहिबेर मैदानमा लडेका थिए । मैदानमा मेडिकल टिमले जाँच गर्दा केहि समय लागेको थियो । त्यही समय रेफ्रीले ध्यानमा राखेर पछि थप गरेका थिए । यहाँ के बुझ्न सकिन्छ भने फिफाले कुनै पनि कारण खेल रोकिएको समयलाई मात्रै अनुगमन गरेर खेलका दौरान गरिने समय वर्वादीको समाधानको प्रयास गरिरहेको छ ।

मङ्गलवारको पहिलो खेलमा पनि यो क्रम जारी रह्यो । जहाँ साउदी अरबले अर्जेन्टिनालाई २–१ गोलको नतिजामा पराजित गर्दै विश्वकपमा सानदार सुरुआत गर्‍यो । उक्त खेलको पहिलो हाफमा सात मिनेट र दोस्रो हाफ सकिँदा लगभग १४ मिनेट समय थप गरिएको थियो ।

खेलाडीहरू घाइते भएर खेल रोकिएका कारण, भिडिओ असिसटेन्ट रेफ्रीको निर्णय आउन लाग्ने समय, सब्सिट्युट गर्ने समय, पेनाल्टी, रातो कार्ड जस्ता विभिन्न कारणले खेल रोकिएको हुन्छ । अनि कहिलेकाहीँ खेलाडी आफैले समय बिताउनका लागि ढिला सुस्ती गरिरहेका हुन्छन् । जसले गर्दा खेलमा बढी समय थप्नु परिरहेको हुन्छ ।

फिफा रेफ्री कमिटीका अध्यक्ष पिरलुईगी कोलिनाका अनुसार खेलका दौरान ‘फोर्थ अफिसियल’लाई खेर फालिएको समयको निगरानी गर्ने जिम्मा दिएको छ । यही नियम रसियामा २०१८ मा आयोजना भएको विश्वकपमा पनि कायम गर्ने प्रयास केहि हदसम्म गरिएको थियो ।

ओप्टाका अनुसार सन् १९६६ मा सुरु भएदेखि एउटा विश्वकपको खेलहरूमा सबैभन्दा धेरै समय थप गरिएको खेलहरु सोमबार र मङ्गलवारका पाँच ‘हाफहरू’ थिए ।

जारी कतार विश्वकपमा इङ्गल्यान्ड र इरानको पहिलो हाफमा (१३.५९ मिनेट), अर्जेन्टिना र साउदी अरबबीचको दोस्रो हाफमा (१३.५३) मिनेट, इङ्गल्यान्ड र इरानको दोस्रो हाफमा (१३ः०५) मिनेट, अमेरिका भर्सेज वेल्सको दोस्रो हाफ (१०ः३३) मिनेट र सेनेगल र नेदरल्यान्ड्सबीचको दोस्रो हाफमा (१०ः०३) मिनेट थप गरिएको थियो ।

अप्रत्याशित रूपमा थप समयमै केहि गोलहरू भए । मेदी तारेमीको इरानका लागि इङग्ल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्दा खेल समय १०२ः३० मिनेट भएको थियो । यस्तै, नेदरल्यान्ड्सका डेभी क्लासेनले गरेको गोल पनि खेलको ९८औँ मिनेटमा भएको थियो ।

फिफाको यो कडा नियमले यति बेला सामाजिक सञ्जालमा हलचल पैदा गरेको छ । कतिपयले फिफाको यो प्रयासलाई प्रशंसा गरेका छन् भने कतिपयले खेल लामो हुने भएकाले झमेलाको रूपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर