६ खेलयता जित हात पार्न नसकेको इङ्ल्यान्डले इरानसँग खेल्दै – Nepal Press

६ खेलयता जित हात पार्न नसकेको इङ्ल्यान्डले इरानसँग खेल्दै

दोहा। विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार समूहगत चरणका तीनवटा खेलहरु हुँदैछन्।

समूह ‘ए’को खेलमा नेदरल्यान्ड्सले सेनेगलको सामना गर्दै छ। यो खेल नेपाली समयअनुसार  पौने १० बजे सुरु हुने छ। समूह ‘बी’अन्तर्गत इङ्ल्यान्ड र इरान पौने ७ बजे र अमेरिका र वेल्स राती पौने १ बजे भिड्दैछन्।

प्रतियोगिताको उपाधि दावेदार मानिएको इङ्ल्यान्ड पछिल्लो समय खराब लयमा छ। उसले ६ खेलयता जित हात पार्न सकेको छैन। यसबीचमा तीन हार र तीन बराबरीको सामना गरेको छ। गत जुन ४ तारिखमा हंगेरीले ९ खेलको अपराजित यात्रा तोडेयता इङ्ल्यान्डको प्रदर्शन लगातार खराब रहेको हो।

इरानले पछिल्ला चार खेलमा दुई जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ। पछिल्लो खेलमा ट्युनिसियाले इरानलाई २-० गोलले हराएर तीन खेलको अपराजित यात्रा तोडेको थियो। इङ्ल्यान्ड र इरानबीच हालसमम्म प्रतिस्पर्धा भएको छैन। इङ्ल्यान्ड चार वर्षअघि विश्वकप र एक वर्षअघि युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डसले सन् १९६६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

यस्तै सेनेगलसँग भिड्न लागेको नेदरल्यान्ड्स १५ खेलयता अपराजित रहेको छ। यसबीचमा ११ जित र ४ बराबरीको नतिजा निकालेको छ। सेनेगलले भने पछिल्ला चार खेलमा दुई जित, एक बराबरी र एक हार ब्यहोरेको छ। यी दुई टोलीबीच पनि हालसम्म प्रतिस्पर्धा भएको छैन।

सेनेगल सन् २००२ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। उसले यसै वर्षमात्र पहिलोपटक अफ्रिकन नेसन्स कपको उपाधि जितेको थियो। सेनेगल इतिहासमा पहिलोपटक लगातार विश्वकप खेल्दै छ। अघिल्लो संस्करणमाम समूहगत चरणबाटै बाहिरिएको थियो।

यो समूहको सबैभन्दा बलियो टोली मानिएको नेदरल्यान्ड्स तीनपटकसम्म फाइनल पुगेर उपाधि जित्न नसकेको टोली हो। अघिल्लो संस्करणमा छनोट नै हुन नसकेको डच टोली विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको इतिहास छैन। नेदरल्यान्ड्स पछिल्ला ८ मध्ये पाँच विश्वकप सहभागितामा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ। यो समूहमा आइतबार राती घरेलु टोली कतारलाई २-० गोलले पराजित गरि इक्वेडरले शानदार सुरुवात गरेको थियो।

यता वेल्स र अमेरिका दुवै खराब लयमा रहेका टोलि हुन्। वेल्सले पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको छैन। यसबीचमा चार हार र एक बराबरीको नतिजा निकालेको छ। यस्तै अमेरिकाले पछिल्ला पाँच खेलमा ३ बराबरी, एक हार र एक जित निकालेको छ। यी दुई टोलीबीच हालसम्म दुईपटक प्रतिस्पर्धा भएमा अमेरिकाले एक जित र एक बराबरी खेलेको थियो।

अमेरिका चार वर्षअघि आयोजित विश्वकपमा भने छनोट भएको थिएन। युरोपली टोलीविरुद्धका पछिल्ला ९ भिडन्तमा अमेरिकाले जित हात पार्न सकेको छैन।  यता वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्दै छ।  उसले अन्तिमपटक सन् १९५८ मा विश्वकप खेलेको थियो। केवल  दोस्रोपटक विश्वपकप खेल्न लागेको वेल्स यसअघिको सहभागितामा क्वार्टरफाइनलसम्म पुगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर