प्रदेशसभाका उम्मेदवारलाई रवि लामिछानेको ‘नो भोट’, मतपेटिका ढोगेर गरे यस्तो वाचा – Nepal Press

प्रदेशसभाका उम्मेदवारलाई रवि लामिछानेको ‘नो भोट’, मतपेटिका ढोगेर गरे यस्तो वाचा

मतदानस्थलमा रविसँग सेल्फी खिच्नेको भीड

काठमाडौं । यस आम चुनावका एक चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर ३ स्थित पानीट्यांकी मतदान केन्द्रबाट आफ्नो भोट खसाएका छन् । चितवन-२ बाट उम्मेदवारी दिएका लामिछानेले आफ्नो मतदाता नामावली रहेको काठमाडों-३ मा मतदान गरेका हुन् ।

लामिछानेले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरेका थिए । तर, प्रदेशसभाका उम्मेदवारलाई भोट नहालेको उनले बताए । प्रदेशसभाको मतपत्र खाली छोडेर उनले बाकसमा खसाएका थिए ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो पार्टी प्रदेशसभा चुनावमा सहभागी नभएकाले आफूले कसैलाई पनि भोट नदिएको बताए । प्रदेशसभाको विद्यमान संरचना आफूहरु असहमत रहेको उनको भनाइ थियो ।

लामिछानेले भने, ‘हामीले अहिलेको प्रदेश संरचनामाथि प्रश्न उठाइरहेका छौं । त्यसले प्रदेशको चुनावमा सहभागी भएनौं । मैले आफ्नो अधिकार प्रयोग गरेर प्रदेशको मतपत्र खाली छोडेको छु ।’

लामिछानेले प्रतिनिधिसभाको मत खसाएपश्चात मतपेटिकालाई ढोगेर निस्किएका थिए । उनले मुलुकलाई अहिलेको कठिन अवस्थाबाट बाहिर निकाल्ल्न आफ्नो पुस्ता तयार भएर आएको बताए ।

‘लोकतन्त्रको सुन्दर पक्ष मतदानबाहेक केही होइन । तीसौं वर्ष जुन असन्तुष्टि हामीले व्यक्त गर्‍यौं, त्यसलाई संस्थागत गर्ने अर्को उपाय छैन । मुलुक मुठ्ठीभर मान्छेको चंगुलमा फँसेको छ । यसबाट बाहिर निकाल्न हाम्रो पुस्ता तयार भएर आएको छ,’ रविले भने ।

आज राति कस्तो सपना देख्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूलाई निदाएर देखिने सपनाभन्दा ब्युँझिएको बेला देखेको सपनामा विश्वास रहेको बताए ।

उनले भने, ‘मैले देशको समृद्धि र सुशासनको सपना देखेको छु । त्यो पूरा गर्न आगामी दिनहरूमा कटिबद्ध भएर लाग्नेछु ।’

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर