प्रचण्डले भने- गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्री को बन्ने सल्लाहमा टुंग्याउँछौं (भिडिओ) – Nepal Press

प्रचण्डले भने- गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्री को बन्ने सल्लाहमा टुंग्याउँछौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेका छन् । गोरखा-२ बाट उठेका प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रबाट भोट हालेका हुन् । उन हिजै चितवन पुगेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै प्रचण्डले यो निर्वाचन ऐतिहासिक महत्वको ठानेको बताए ।

‘संविधानमाथि नै घात हुने हो कि भन्ने स्थिति देखा परेको सन्दर्भमा स्थानीय चुनावको बेला भनेको थिएँ कुन पार्टीले कति मत ल्याए भन्दा पनि लोकतन्त्रमा आवधिक निर्वाचन सम्पन्न हुनु भनेको ठीक ढंगले सिष्टमले काम गर्दैछ भन्ने प्रमाण हो । योपटक पनि स्वच्छ धाँधलीरहित र निष्पक्षरूपमा चुनाव सम्पन्न हुनु ठूलो कुरा हो ।’

चितवन आएर भोट हाल्दै गर्दा गर्दा गर्व महसुस भएको प्रचण्डले बताए ।

‘देशभरिको माहोल सकारात्मक छ । संविधानमाथि नै प्रश्न चिन्ह उठाउनेहरूका लागि यो सहभागिता ठूलो कुरा हो । यो निर्वाचनले देशमा विकास र समृद्धिले नयाँ प्रक्रियामा लानेछ ।’

प्रधानमन्त्री को बन्ने भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले यो विषय आरामसँग टुंग्याउने बताए ।

‘गठबन्धनले आरामसँग बहुमत ल्याउँछ गठबन्धनकै सरकार बन्छ । प्रधानमन्त्रीका उम्मेदवार धेरै छन् अहिले नेपाली कांग्रेसभित्र पनि शेरबहादुर देउवाजीदेखि लिएर गगन थापा, अरुले पनि दाबी गरिरहेका छन् । मैले पनि सबैतिर भनेको छु । हाम्रो लागि प्रधानमन्त्री समस्याको विषय हुँदैन । आरामसँग सजिलैसँग सल्लाह गरेर हल गर्छौं । शेरबहादुरजी ले पनि डडेल्धुरामा सल्लाह गरेर टुंग्याउँछौं भन्नुभएको छ ।’

उनले प्रधानमन्त्रीका कारण गठबन्धन नटुट्ने बताए ।

‘संविधान र सुशासनमाथि प्रश्न चिन्ह रहिरहँदासम्म गठबन्धन रहिरहन्छ’, प्रचण्डको भनाइ थियो ।

गोरखा झरेपनि चितवन विकासमा लागिरहने उनको प्रतिबद्धता छ ।

‘मैले चितवन छाडेको होइन, गोरखा गएको चाहिँ हो’, प्रचण्डको प्रष्टोक्ति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर