विदेशमा जन्मिएका १० खेलाडीलाई समेटेर विश्वकप खेल्दै घरेलु टोली कतार – Nepal Press

विदेशमा जन्मिएका १० खेलाडीलाई समेटेर विश्वकप खेल्दै घरेलु टोली कतार

दोहा । विदेशी भूमिमा जन्मिएका १० जना खेलाडीलाई समेटेर घरेलु टोली कतारले आइतबारदेखि सुरु हुने विश्वकप खेल्दै छ। कतारको राष्ट्रिय फुटबल टोलीमा रहेका खेलाडीमध्ये दुई जना सुडान र दुई जना इराक तथा घाना, इजिप्ट, फ्रान्स, अल्जेरिया, बहराइन र पोर्चुगलमा जन्मिएका एक एक खेलाडी छन्।

कतारको टोलीका हालका सदस्यमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गरेका अल्मोएज अलि सुडानमा जन्मिएका हुन्। उनले ८५ अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरेका छन्।

उनी एस्पायर एकेडेमीका उत्पादन हुन्। कतारको खेलकुदको विकाशका लागि विदेशी बालबालिका ल्याएर सिकाउन सन् २००४ मा सुरु गरिएको हो, एस्पायर एकेडेमी। त्यसका लागि प्रतिभावान् बालबालिकालाई विश्वका विभिन्न स्थानबाट छनोट गरिएको थियो। अल्मोएज पनि ७ वर्षको उमेरमा कतार आएका हुन्।

४७ खेलमा २ गोल गरेका अहमद अलाइलदिन इजिप्टमा जन्मिएका हुन्। १० वर्षको उमेरमा उनी कतार आएका थिए। ४८ खेलमा १३ गोल गरेका स्ट्राइकर मोहम्मद मुन्तारी घानामा जन्मिएका हुन्। घानामै हुर्केका मुन्तारी धेरै पछि मात्र कतार आएका हुन् । मोरक्को अल्झेरियन ‘ओरिजिन’ भएका करिम बौडियाफ फ्रान्समा जन्मिएका हुन्। एक सय १५ खेलमा ६ गोल गरेका यी मिडफिल्डर कुनै समय अल्जेरियाको यू-२३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि परेका थिए।

बौडियाफले सन् २०१३ मा कतारको नागरिकता लिएका थिए। बहराइनमा जन्मिएर त्यहीँ हुर्किएका मिडफिल्डर अलि अस्सादल्लालाई पनि कतारले नागरिकता दिएर आफ्नो नागरिक बनाएको हो। उनले ५९ अन्तर्राष्ट्रिय खेलमा १२ गोल गरेका छन्। इराकमा जन्मिएका मोहम्मद वाद, अल्जेरियामा जन्मिएका बौउलेम खौकी पनि कतारी टोलीमा छन्। बौउलेमले एक सय ५ अन्तर्राष्ट्रिय खेलमा २० गोल गरेका छन्।

अल्जेरियाको यू-२३ राष्ट्रिय टोलीका लागि पनि बौउलेमलाई बोलाइएको थियो। कतारमा व्यावसायिक फुटबल खेल्न आएपछि उनले कतारकै नागरिकता लिएका हुन्। इराकमा जन्मिएका बस्सम अल रवि एस्पायर एकेडेमीका उत्पादन हुन्। उनले पनि ५८ अन्तर्राष्ट्रिय खेलमा २ गोल गरेका छन्। सुडानमा जन्मिएका मुसाम खेदार र पोर्चुगलमा जन्मिएका रो रो पनि कतारको टोलीमा छन्। उनीहरू दुवै जना डिफेन्डर हुन्। कतार विगतमा विश्वकप नखेली यो प्रतियोगिता आयोजना गर्ने पहिलो टोली बन्दै छ।

आयोजकका रूपमा कतारले सोझै छनोट पाएको हो। कतार विश्वकप खेल्ने ८० औँ राष्ट्र रहेको छ। यसअघि सन् २०१९ मा आयोजित एसिया कपको सेमिफाइनल सकिएपछि यूएईले कतारविरुद्ध विदेशी खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो। यद्यपि त्यो उजुरी पछि खारेज भयो। उक्त खेल कतारले ४-० ले जितेको थियो भने यूएईका समर्थकले कतारका खेलाडीलाई जुत्ता पनि प्रहार गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर