त्यसैले म रवीन्द्र मिश्रको पक्षमा – Nepal Press

त्यसैले म रवीन्द्र मिश्रको पक्षमा

काठमाडौं । सायद अहिलेको माओवादी र कांग्रेसको गठबन्धन देख्दा सबैभन्दा दुःखी ती कांग्रेसी र तिनका परिवारजनहरु होलान्, जो हिजो चारतारा झण्डा र रुख चिन्हलाई माया गरेकै कारण मारिए । बेपत्ता बनाइए । म कांग्रेस हुँ भन्दा साम्राज्यवादीको मतियार भन्दै घाइते भए । कांग्रेस भएकै कारण गाउँबाट लखेटिए ।

र अहिलेको गठबन्धनबाट सबैभन्दा धेरै खुशी कोेही छन् भने तिनै छन् जसलाई जसरी पनि सत्तामा पुग्नुछ । जसलाई भ्रष्टाचार गर्नुछ । जसलाई व्यथिति र विकृतिहरुलाई निरन्तरता दिनु छ । तिनले एउटा सजिलो उपाय अवलम्बन गरेका छन्- रुख र चारतारे झण्डा देखाएर कार्यकर्तालाई भावुक बनाउने ।

आँखै बिझाउने दृश्यहरु

हालै बानेश्वरमा एउटा दृश्य देखियो । माओवादी नेता डा. बाबुराम भट्टराई र नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँगै मत माग्न मात्र हिँडेनन्, एउटाले अर्कोको प्रशंसा गरे । चारतारा र हसिँया हथौडा अंकित झण्डा सँगसँगै देखियो ।

यसो हेर्दा यो गठबन्धनका लागि भनिए पनि अलि गहिरिएर हेर्दा दुवै नेताको व्यक्तिगत लाभको लोभले सम्भव बनाएको थियो एकअर्काको प्रशंसा । प्रकाशमान सिंहलाई काठमाडौं १ बाट जित्नु छ । डा. भट्टराईलाई काठमाडौं ७ बाट आफ्नी छोरीलाई जिताउनु छ ।

अझै गहिरोसँग त्यो दृश्यलाई हेर्दा माओवादी द्वन्द्व भोगेका नेपालीहरुलाई विगतको कहालीलाग्दो दिनहरुको सम्झना आउनु स्वभाविक हो । २०५२ सालमा तिनै बाबुराम भट्टराईले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एउटा मागपत्र बुझाएका थिए । मागपत्रमा जे जे पूरा गर्नुपर्ने भनेर लेखिएको थियो ती मागहरु आज पनि सम्बोधन भएका छैनन् । जबकी विगत दुई दशकमा माओवादी निरन्तर सत्तामा छ । आफैं १५/२० वर्ष निरन्तर सत्तामा रहँदा पूरा गर्न नसक्ने मागहरुका निम्ति भन्दै १७ हजारको ज्यान लिने युद्धको औचित्य के थियो ?

नेपाली समाजमा माओवादीलाई प्रश्न गरिँदैन, किनभने तिनले जे गरेपनि त्यसलाई ‘अग्रगमन’ ठानिन्छ । अनि हिजो आफैंले आतंककारी घोषणा गरेको कांग्रेस आज माओवादीसँग कुम जोडेर हिँड्दा त्यसको पनि जवाफ दिनै पर्दैन ।

ल ठिकै छ मानौं कांग्रेस र माओवादीबीच आज प्रेम पलायो । तर हिजो मारिएका नेपाली जनताले न्याय पाउन पर्ने कि नपर्ने, आज पनि बेपत्ता आयोगमा बेपत्ता बनाइएका व्यक्तिका परिवारजन न्याय माग्दैछन्, तिनले न्याय पाउनुपर्ने कि नपर्ने ? हिजो द्वन्द्वको नाममा बलात्कृत भएका महिलाहरुले न्याय पाउनुपर्ने की नपर्ने ? हिजो सामन्ती भन्दै गाउँ छाड्न बाध्य बनाइएका व्यक्ति तथा परिवारले न्याय पाउनुपर्ने की नपर्ने ?

मलाई विश्वास छ, काठमाडौं एकका नागरिकहरुले यी प्रश्नहरुको जवाफ पक्कै खोज्नुहुनेछ । काठमाडौं १ मात्र होइन, यी प्रश्नको जवाफ त देशैभरका नागरिकले खोज्नुपर्छ ।

संविधानको रक्षा ?

प्रकाशमान सिंह र बाबुराम भट्टराई सँगै भोट माग्न हिँड्दै गर्दा एउटा कुरा खुबै दोहोर्याए- यो गठबन्धन संविधानको रक्षाको लागि हो । यो सफेद झुट हो । विगतका नेताहरुको गल्ती नेपाली जनताले छिट्टै भुल्छन् र हामीले जे बोल्दा पनि हुन्छ भन्ने मानसिकता छरपष्ट हुन्छ यस्तो कथनबाट ।

२०७२ असोजमा यो संविधान जारी हुने बेलामा संविधान जलाउनपर्छ भन्ने अभिव्यक्ति दिने नेताहरुमा अग्रपंक्तिमा थिए डा. भट्टराई । धेरै नेपालीलाई अहिले पनि सम्झना छ उनले जनकपुर पुगेर दिएका अभिव्यक्तिहरु । अर्थात संविधानसभा मै भएर पनि उनले यो संविधानप्रति कुनै स्वामित्व ग्रहण गरेका थिएनन् । उनी अझै चर्को आन्दोलनको पक्षमा थिए । उनी देशैभर प्रदर्शन गर्न चाहन्थे । उनी फेरी यो देशलाई एकपटक हिँसामा लैजान चाहन्थे । कम्तिमा मधेशमा नागरिकलाई उचालेर हिँसा भड्काउन सकिन्छ की भन्ने आशय उनका तत्कालीन अभिव्यक्तिहरुमा पाईन्थ्यो ।

आज तिनै बाबुरामले यो संविधानको रक्षा भन्दा आमजनताले पत्याईदिन पर्ने ? कसैले बाबुरामलाई सोधिदिए हुन्थ्यो- अन्तिम समयमा संविधानसभा किन छाडेको ? अन्तिम समयमा जनकपुरमा भाषण गर्दा के बोलेको ?

यसको सिधासिधा अर्थ के हो भने मार्ग परिवर्तनबारे नेपालमा बामपन्थीहरुलाई कहिल्यै प्रश्न नै गरिएन। प्रश्नहरुभन्दा माथि राखियो । मानौं, कम्युनिष्ट हुनु नै तिनको अग्रगमनको प्रमाणपत्र हो ।

कम्युनिष्टहरुले फैलाएका घृणा

नेपालमा लामो समयदेखि न्यारेटिभ वा संकथन वा कथ्यको हिसाबले सधैं बामपन्थी ठिक भनेर पढाईयो । मार्क्स , स्टालीन, लेनिन, स्टानिन, एंगेल्सका साहित्य गाउँगाउँमा पुगे । तर लोकतान्त्रिक धाराका साहित्य, रचना तथा भिजन पेपरहरु त्यसरी गाउँगाउँ पुग्नै सकेन ।

अहिले हुर्किएको पुस्ता बामपन्थको गुणगान सुनेर हुर्किएको छ । तीनलाई एउटा बामपन्थीले गल्ती गर्नै सक्दैन जस्तो लाग्छ । र कोही नरम संवर्दनवादी वा नरम दक्षिणपन्थी भयो भने त्यसले त देशै डुबाउला जस्तो लाग्छ । त्यसैले कोही बामपन्थी भयो भने जयजयकार हुन्छ । परिवर्तनशील वा प्रगतिशीलको ट्याग भिराईन्छ तर कोही दक्षिणपन्थी हुँ भनेर खुल्नै सक्दैन ।

यो देशमा धेरैजसोले त आफ्नो मनभित्र भएको भावना तथा विचार व्यक्त गर्नसक्दैन । बामन्थी तप्काले अस्वीकार गरेको विचार प्रवाह गर्नासाथ बौद्धिक जगतमा एक्ल्याईन्छ । त्यो विचारलाई पश्चगामी भनिन्छ । बामपन्थी हुनुमात्र प्रगतिशील र फरक मत राख्ने सबै पश्चगामी भन्ने चिन्तनले नेपाली समाजमा जरो गाडेको छ ।

त्यही नै हो एउटा कारण १७ हजार को हत्या गर्नेहरुलाई ज्यानमारा भन्न नेपाली समाज हिच्किचाउँछ मात्र होइन तिनैलाई अग्रगामी मानिदिन्छ । यो बिरोधाभाषले जरा गाडेको छ हाम्रोमा ।

कांग्रेस-माओवादीमा आएका विचलनहरु

कांग्रेस तथा माओवादी कार्यकर्ताले अहिले एउटा सजिलो शत्रु पाएका छन्- रवीन्द्र मिश्र । यसको कारण छ, रवीन्द्र मिश्र कसैको हत्या गर्दैनन् । रवीन्द्र मिश्र कसैको अंगभंग गर्दैनन् । रवीन्द्र मिश्र विचारको प्रतिवाद विचारले मात्र गर्नुपर्छ भन्ने विश्वास राख्छन् । मिश्रले राज्यसत्ताको पैसा दुरुपयोग गर्दै पाखुरेहरुलाई गाउँगाउँ परिचालन गर्न सक्दैनन् ।

कतिपय अवस्थामा बौद्धिक जगतले पनि रवीन्द्र मिश्रमाथि भएको ज्यादतीपूर्ण आक्रमणको विरोधमा बोल्न सकेको देखिन्न । किनभने आज मिश्र विश्वविद्यालयको नियुक्ति बाँडफाँड गर्ने ठाउँमा छैनन् । उनी राजदूतको पद दिन सक्दैनन् ।

तर नेपालका समग्र जनता र बौद्धिक जगत के कुरामा अवगत छ भने नेपाली समाजमा बामपन्थीहरुमा जत्तिको विरोधाभाष, विचलन र स्खलन अरु कुने शक्तिमा छैन । केही उदाहरण हेरौंः

क. हिजो जसले पण्डित तथा पुजारीको हत्या गरे आज तिनै महायज्ञको शुभारम्भ गर्न पुग्छन् ।

ख. हिजो जसले गाउँगाउँमा पूजा नगर भने, पूजाआजा गर्नेहरुलाई घृणा गरे । आज तीनै भैंसीको पुजा गर्छन दशा काट्न ।

ग. हिजो धर्म निरपेक्ष भन्दै मन्दिर जानेहरुको उपहास गरे, आज तिनै आफ्ना बाबुआमा बोकेर मनकामना मन्दिर पुग्छन् ।

र तिनमा यति ढोंग छ। हामीजस्तो खुल्ला समाजको पक्षपाति, व्यक्तिगत स्वतन्त्रताको हिमायति र नरम दक्षिणपन्थी भनेर घोषणा गरेको व्यक्तिले यस्तै गर्दा ती मलाई धर्मान्ध भन्छन्। अनि आफूले गर्दा संस्कृतिको नाम दिन्छन् ।

तर अचम्म यसमा लाग्छ कि तिनले हिजो पण्डितको हत्या किन गरेको पनि जवाफ दिन्नन्। आज भैंसी पुजा किन गरेको नी जवाफ दिन्नन् । अरुको बाहरुलाई मन्दिर लान किन रोकेको पनि जवाफ दिन्नन् र आफ्ना बालाई किन लगेको पनि जवाफ दिन्नन्। कुनै प्रश्नहरुको जवाफ नै नदिए पनि ती ‘अग्रगामी’ कहलाएका छन् ।

संसदीय प्रणालीमा विश्वास नभएका प्रचण्ड

हालै एक कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई शान्तिका नायक घोषणा गरे । अलिक पहिला अर्का काँग्रेस नेताले त महानायक नै घोषणा गरेका थिए । आजको नेपालको दुर्भाग्य नेपालको तप्काले यसलाई विचलन नै देख्दैन । यसमा प्रश्नै गर्दैन । प्रश्न गर्न आवश्यक पनि ठान्दैन । किनभने तिनलाई बामपन्थीले गरेछि त्यो सबै प्रगतिशील लाग्छ।

यस सन्दर्भमा रवीन्द्र मिश्रका केही कुरा मनन गरौं । उनी भन्छन्- क. विचलनकै कुरा गर्दा माओवादीका नेताहरुलाई आज पनि सोध्नुस, तिनलाई संसदीय व्यवस्थामा विश्वास छ ? तिनको जवाफ स्पष्ट छ, छैन । अलि पहिला एउटा टेलिभिजन अन्तरर्वार्तामा प्रचण्डले त खुलमखुल्ला भनिदिनुभयो, संसदीय प्रणालीमा विश्वास नै छैन ।

तर फेरि घोषणापत्रमा र उहाँहरुले भन्नुभएको बामपन्थी लोकतन्त्रवादी गठबन्धनको औचित्य भन्दै भाषण गर्दा संसदको गरिमा बढाउन पनि भन्नुहुन्छ । त्यो विचलन होइन ? त्यो नेपाली जनतामाथि गरिएको घात होइन ? त्यो विचलन होइन ? तर नेपाली मिडियाले प्रचण्डलाई यो पक्षमा प्रश्न किन गर्दैन ? किनभने मिडियाकर्मीलाई, बौद्धिक जगतलाई बामपन्थी वा कम्युनिष्ट शक्तिमा देखिएको ढोंग ढोंग जस्तै लाग्दैन । त्यो त सधैं प्रश्नभन्दा माथि ।

ख. मैले मार्ग परिवर्तन गरेको सत्य हो। त्यसको सार्वजनिक रुपमा घोषणा गरेको छु। मैले म उग्र कम्युनिष्ट हुँ भन्दै भोट मागेर जितेपछि नरम दक्षिणपन्थी

ग. बामपन्थीहरु प्रश्नभन्दा माथि छन्

तिनले आफ्ना छोराछोरीलाई एयरपोर्टमा पुर्याउँछन् । अमेरिका पठाउँछन् । र फर्केर अमेरीकी साम्राज्यबादको विरोधमा धुँवादार भाषण गर्न सक्छन् ।

बम हानेर, मान्छे मारेर अर्काको स्वतन्त्रता खोस्नेहरु आफ्ना छोराछोरीको चर्चा हुँदा त्यो व्यक्तिगत स्वतन्त्रता होइन? भनेर तर्क गर्न पनि भ्याउँछन्। यो जस्तो घीनलाग्दो दोहोरोपन, यस्तो द्धैध चरित्रमाथि हामीले प्रश्न गरेका छैनौं ।

घ. हिजो एउटा समयमा नेपालका उग्रबामपन्थी शक्तिहरुले के गरे ?

माओवादीको हिंसाको बिरोध गरेबापत, माओवादीको ज्यादतीको बिरोधमा उभिएबापत, माओवादी हुन अस्विकार गरेबापत, दुइछाक खानपुग्ने, अलिकति सहज जीवनशैली बाँचेका सारा काठमाडौंबासीलाई सुकिलामुकिला भनेर घृणा फैलाउने काम गरे। काठमाडौं र बाँकी नेपालको विचमा खाडल बनोस भन्ने चाहे।

त्यसको कारण थियो, काठमाडौंको ठुलो तप्काले अहिंसाको पक्षमा बोलेको थियो। हिजो सुकिलामुकिला नेपाली कांग्रेसका समर्थकहरुलाई भनिएको थियो। अलिकति खानलाउन पुग्ने एमालेलाई भनिएको थियो। राप्रपालाई भनिएको थियो। आज तिनैसँग काँध मिलाएर लोकतन्त्रको रक्षा गर्न लागिपर्नुभएको छ मेरा प्रतिस्पर्धी। उहाँहरु मिल्न पाउनुहुन्छ, तर मिल्नु थियो भने १७००० को मृत्यु किन पर्खेको ? किन नेपाली समाजलाई हिँसाको चपेटामा पारेको? त्यसको जवाफ त केन्द्रमा पहुँच भएका मेरा प्रतिस्पर्धी मित्रले पनि दिनुपर्ला नि ।

कांग्रेसका साथीहरुले, एमालेका साथीहरुले, अथवा स्वतन्त्र दल अथवा स्वतन्त्र रुपमा उठ्नुभएकै साथीहरुले पनि यदी भविष्यमा आफ्ना कुराहरु दील खोलेर राख्ने समाज निर्माण गर्छू भन्ने हो भने यो पटक रविन्द्र मिश्रलाई समर्थन गर्नुको विकल्प नै छैन।

कांग्रेसलाई पनि पश्चगामी भनिन्थ्यो त्यो दिनसम्म जुनदिनसम्म कांग्रेसले माओवादी विचार ग्रहण गर्न अस्विकार गरेको थियो। अहिले आउँदै गर्नुभएको नयाँ पुस्ताहरुको हकमा पनि त्यही हो। यदी जडताबाट बाहिर निस्कने हो भने यो पटक रवीन्द्र मिश्र भन्ने आँट सबैले गर्नुपर्छ। अन्यथा हामी अझै लामो समय पश्चगामी भईने डरले आफ्ना मनमा लागेका कुराहरु नबोली बस्नुपर्ने अवस्थामा रहन्छौं ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर