अञ्जनको गोलमा पाकिस्तानविरुद्ध नेपाल विजयी  – Nepal Press

अञ्जनको गोलमा पाकिस्तानविरुद्ध नेपाल विजयी 

काठमाडौं । अञ्जन विष्टको निर्णायक गोलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलको ८३औँ मिनेटमा अञ्जनले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । उनले सुनिल बलको क्रसमा सुन्दर गोल गरेका थिए ।

तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान र नेपाल दुवै टिमले पाएका केहि अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल सुरु भएको ४० सेकेन्ड पनि बित्न नपाउँदै विमल घर्ती मगरले ६ यार्ड बक्सको दायाँ भागमा बल पाएका थिए । तर, उनले प्रहार गर्न ढिलो गर्दा पाकिस्तानका डिफेन्डरले क्लियर गरिदिएका थिए ।

मिडफिल्डर तेज तामाङले पनि सोही क्षेत्रमा ३७औँ मिनेटमा बल पाएका थिए । तेजले हानेको प्रहार पाकिस्तानका अब्दुल कादिर खानले हेडमार्फत क्लियर गरिदिएका थिए ।

विमलले वान भर्सेस वानमा बलमा कनेक्ट गर्न नसक्दा ५४औँ मिनेटमा नेपालले अग्रता लिने राम्रो अवसर खेर फालेको थियो ।

यस्तै, आजको खेलबाट मिडफिल्डर आभास लामिछानेले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । उनले खेलको ५८औँ मिनेटमा सेसेहाङ आङदाम्बेको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । नेपाल एपीएफ क्लबमा आबद्ध आभास स्पेनबाट फुटबल खेल्न नेपाल आएका हुन् ।

नेपाली पुरुष टिमले दशरथ रङ्गशालामा खेलेको यो ५०औँ खेल हो । र पाकिस्तानविरुद्ध खेलेको यो १७औँ खेल हो ।

पाकिस्तानले फिफा प्रतिबन्धपछि खेलेको यो पहिलो खेल हो ।

तस्बिरहरु : उमेश कार्की

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर