लोसपाका उम्मेदवार मेहताको मनोनयन खारेज – Nepal Press

लोसपाका उम्मेदवार मेहताको मनोनयन खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार सन्तोषकुमार मेहताको मनोनयन स्वतः बदर हुने निर्णय गरेको छ ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले निजको उम्मेदवारी प्रदेशसभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्थाबमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकूल हुने गरी प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन गरेकोसमेतका आधारमा उम्मेदवारी बदर गरिएको हो ।

मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाइ भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा लाने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्को मतपत्र डिजाइन तथा छपाइ गरी मतदान हुने दिनअगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको भन्दै मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर