ब्राजिलले पचाएपछि यसरी बनेको थियो नयाँ विश्वकप ट्रफी – Nepal Press

ब्राजिलले पचाएपछि यसरी बनेको थियो नयाँ विश्वकप ट्रफी

दोहा । विश्व फुटबल महासंघ (फिफा) का तत्कालीन अध्यक्ष जुलेस रिमेतले सन् १९२८ मा विश्वकपको योजना अघि सारेपछि दुई वर्षलगत्तै सम्भव भएको थियो ऐतिहासिक संस्करण र बनेको थियो विजेतालाई प्रदान गरिने आकर्षक ट्रफी ।

फ्रान्सका मूर्तिकार अबेल लाफलेउरले बनाएको ट्रफी ग्रिक सभ्यतामा विजयीका भगवान मानिने ‘नाइक’ले माला लगाएर दुई हातले टाउकोमा राखेर ट्रफी समातिरहेको स्वरुपको थियो ।

३५ सेन्टिमिटर उचाइ र ३ किलो ८०० ग्राम तौलको उक्त ट्रफीको ‘बेस’ नीलो रङको बहुमूल्य ढुंगा लापिस लाजुलीबाट बनेको थियो । बेसको चारै भागमा सुनका प्लेट जोडिएको थियो । जहाँ लेखिन्थ्यो विश्वकप विजेताको नाम । रिमेतले फिफा अध्यक्षका रुपमा कार्यकाल सम्हालेको २५ वर्ष पूरा भएको अवसरमा उनको योगदानलाई समर्पित गर्दै उक्त ट्रफीको नाम जुलेस रिमेत ट्रफी राखियो ।

विश्वकप विजेताको नाम अट्ने ठाउँ बढाउन सन् १९५४ मा जुलेस रिमेत ट्रफीको बेस हटाएर त्यसमा अझ अग्लो बेस राखियो । तर, सन् १९७० को विश्वकपले फिफालाई समस्यामा पार्‍यो । ब्राजिलले तेस्रोपटक विश्वकप जितेर ट्रफी पचाएपछि अर्को ट्रफी बनाउनुपर्ने बाध्यता फिफालाई आइपरेको थियो । त्यतिवेलासम्म तीनपटक विश्व विजेता बने ट्रफी सधैंभरिका लागि लैजान पाउने ‘पचाउने’ व्यवस्था थियो ।

हालको विश्वकप ट्रफी सन् १९७४ देखि प्रदान हुँदै आएको हो । त्यतिवेला नयाँ ट्रफी बनाउन विश्वभरका मूर्तिकारका लागि विज्ञापन आह्वान गरिएको थियो । ७ वटै महादेशबाट ५३ वटा आवेदन परेको थियो । अन्ततः इटालीका मूर्तिकार सिल्भियो गज्जानिगाको आवेदनलाई ‘अवार्ड’ गरियो । यसपटक ट्रफीमा भगवान अटाएनन् । बरु मानिसले विश्व जितेको ‘थिम’ले स्थान पायो ।

दुई मानिसले पृथ्वी उचालेको स्वरुपमा गज्जानिगाले बनाएको विश्वकप ट्रफी ३६.५ सेन्टिमिटर अग्लो र ६.१७५ केजीको छ । गोलाकार रहेको बेसको डायमिटर १३ सेन्टिमिटर रहेको छ । पृथ्वीलाई सुनौलो ढाँचामा प्रस्तुत गरिएको ट्रफीमा ७५ प्रतिशत सुनको मात्रा छ । ट्रफीको भित्री भाग भने खाली छ । ट्रफीको पिँधमा लेखिन्छ, विजेताहरुको नाम र हरेक संस्करणमा त्यहाँ थपिन्छन् विजेता ।

सन् १९९४ को विश्वकपपछि ट्रफीको पिँधमा प्लेट जडान गरेर विजेताको नाम ठाडो क्रममा लेख्न थालिएको थियो । सन् २०१४ को विश्वकपपछि विजेताको त्यसरी नाम लेख्ने तरिका फेरियो । धैरै विजेताको नाम अटोस् भनेर त्यसो गरिएको थियो । प्लेट विजेताको नामले भरिएपछि यही ट्रफीमा अन्य कुनै विकल्प खोजिन्छ वा अर्को ट्रफी तयार हुन्छ भन्नेबारे केही भनिएको छैन ।

तर, ब्राजिलले पचाएजस्तो अबको ट्रफी कुनै देशले पचाउन पाउने छैन । किनभने जतिपटक विश्वकप जिते पनि कुनै पनि देशले यो ट्रफी राख्न वा पचाउन पाउँदैनन् । जुरिचस्थित फिफा हेडक्वार्टरमा यसलाई राखिन्छ । ट्रफी टुर, विश्वकपको ड्र सार्वजनिक र फाइनल तथा समापन समारोहमा मात्र यसलाई बाहिर ल्याउने गरिएको छ ।

विश्वकप विजेतालाई फिफाले सुनको जलप लगाएको पित्तलको ट्रफी प्रदान गरिन्छ । फिफा वर्ल्डकप विनर्स ट्रफीका रुपमा प्रदान गरिने यो ट्रफी भने विजेताले आफूसँगै स्थायी रुपमा राख्न पाउँछन् । यस्तो ट्रफी सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकप दौरान नेल्सन मन्डेलालाई पनि प्रदान गरिएको थियो ।

विश्वकप ट्रफीको इतिहासमा व्यक्ति विशेषलाई दिइएको यही एकमात्र घटना हो । यस्तै राज्य प्रमुख र विश्वकप विजेतालाई मात्र विश्वकपको ‘सक्कली’ ट्रफी छुन दिने गरिएको छ । ट्रफी नक्कली पाए पनि विश्वकप विजेताले उपाधि राशि भने सक्कली नै पाउनेछन् । कतार विश्वकपमा यसपटक विजेताले ४२ मिलियन अमेरिकी डलर पाउनेछ ।

यस्तै उपविजेताले ३० मिलियन, तेस्रो स्थानको टोलीले २७ मिलियन, चौथोले २५ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । क्वार्टरफाइनल पुग्ने टोलीले १७-१७ मिलियन र प्रि-क्वार्टरफाइनल पुग्ने टोलीलाई १३-१३ मिलियन अमेरिकी डलर दिइनेछ ।

समूहगत चरणबाटै बाहिरिने टोलीले पनि ९-९ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । चार वर्षअघि रुसमा सम्पन्न विश्वकपको विजेता फ्रान्सले ३८ मिलियन अमेरिकी डलर र उपविजेता क्रोएसियाले २८ मिलियन अमेरिकी डलर पाएको थियो । सन् २००६ को विश्वकपअघिसम्म विजेताले १० मिलियन अमेरिकी डलरभन्दा बढी उपाधि राशि पाएको इतिहास थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर