माओवादीका बागी काशीचन्द्र भन्छन्- गठबन्धन कागजी बाघ हो, कालिकोटमा तीन हजार मतले जित्छु – Nepal Press
नेपाल टक

माओवादीका बागी काशीचन्द्र भन्छन्- गठबन्धन कागजी बाघ हो, कालिकोटमा तीन हजार मतले जित्छु

सुर्खेत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने मंसिर ४ गते नजिकिएसँगै सत्ता गठबन्धन दलका शीर्ष नेताहरु कर्णाली केन्द्रित भइरहेका छन् । दुई महिनाको अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका विभिन्न जिल्लामा २ पटक सम्बोधन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सम्बोधन गरिसकेका छन् । गठबन्धनभित्र माओवादीबाट उम्मेदवार भएका, संगठन कमजोर र बागी परेका क्षेत्रहरुमा शीर्ष नेताहरु केन्द्रित भएका देखिन्छन् । गत असोज ६ गते सुर्खेत आएका शीर्ष नेताहरुले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई मनोनयन फिर्ता लिन साझा आह्वान गरे । माओवादी अध्यक्ष प्रचण्ड बागीहरुलाई गठबन्धनमा कुनै न कुनै ठाउँमा अवसर दिने बाचा गर्दै फकाउने प्रयास गरेर फर्किए ।

गठबन्धनभित्र गडबड भएका निर्वाचन क्षेत्र केन्द्रित भएका शीर्ष नेताहरुले संघमा मन्त्री बनाउने आश्वासन दिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् । गत कार्तिक २२ गते कालिकोट, जुम्ला र हुम्लामा भएको कार्यक्रममा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले मन्त्रीको आश्वासन दिएर फर्किएका थिए । गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई साथमा लिएर कालिकोट पुगेका प्रचण्डले पूर्वमुख्यमन्त्रीसमेत रहेका माओवादीका महेन्द्रबहादुर शाहीलाई संघीय मन्त्री बनाउने घोषणा गर्दै विजयी बनाएर पठाउन आह्वान गरे । माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका शाहीलाई जिताउन गठबन्धनले ठूलो मेहनत गरेको देखिन्छ । शाही २०६४ को पहिलो, २०७० मा दोस्रो संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

संघीय ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाहीको संसद यात्रामा मुख्य चुनौती उनकै पूर्वसहकर्मी देखापरेका छन् । रास्कोट नगरपालिकाका निवर्तमान नगर प्रमुख माओवादीका काशीचन्द्र बरालले शाहीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएपछि अहिले यो क्षेत्र चर्चामा छ । बराललाई अध्यक्ष प्रचण्डले फकाउने थुप्रै प्रयास गरेको भए पनि उनले शाहीलाई समर्थन गर्न मानेका छैनन् । २०४८ सालमा अनेरास्ववियूको राजनीतिबाट आएका बराल २०५४ मा तत्कालीन एमालेबाट फुकोट गाविस अध्यक्ष जितेका थिए । उनी केही सयम नेपाली कांग्रेसमा लागेका थिए । २०५८ मा माओवादीमा विलीन भएका बराल २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट रास्कोट नगरपालिकाको मेयर विजयी भएका थिए । नेकपा विभाजनपछि एमालेको कित्तामा उभिएका बराल कारबाहीमा परेर पद जाने भएपछि माओवादीमै फर्किएका थिए । उनले यसपटक पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका छन् । बरालले करिब ३ हजार मतान्तरले शाहीलाई हराउने दाबी गर्दै आएका छन् । उनै स्वतन्त्रबाट पुतली चिह्न लिएर चुनाव लडेका काशीचन्द्र बरालसँग गरिएको कुराकानीको सम्पादित अंश:

– चुनाव प्रचारप्रसार कस्तो चल्दैछ ?

राम्रो चल्दैछ । मतदाताका घरदैलोमा गइरहेको छु । मतदाताबाट पनि राम्रो रेस्पोन्स पाइराखेको छु ।

यो गठबन्धन कागजी बाघ हो । यो गठबन्धन खास पवित्र पनि होइन ।

– गठबन्धनका आधिकारिक उम्मेदवार तपाईंकै पार्टीका महेन्द्रबहादुर शाही हुनुहुन्छ । खासमा तपाईंले किन स्वतन्त्र उम्मेदवारी दिनुभएको ?

मैले भन्दै आइरहेको कुरा के हो भने यो गठबन्धन कागजी बाघ हो । यो गठबन्धन खास पवित्र पनि होइन । यो गठबन्धन एउटा खालको स्वार्थसिद्ध गर्ने योजनामा निर्माण गरिएको निश्चित नेताहरुको एउटा योजनाको यात्रामात्र हो । पहिलो कुरा, यो भयो तपाईंहरुले यो किन भन्ने प्रश्न गर्नुभएको छ, मैले त प्रस्टै भने पार्टीभित्र एउटा खालको एकमनाबाजी शासन चलाउने व्यक्तिवादी प्रवृत्तिको विकास गरे । व्यक्तिवादी प्रवृत्ति हावी गर्ने जुन संस्कृति विकास गरे, त्यस व्यवस्थाको विरुद्ध, त्यस व्यवस्थालाई सही ठाउँमा सामूहिक प्रणालीमा लान विद्रोह आवश्यक ठानेर उम्मेदवारी दिएको हुँ ।

पार्टीभित्र पूरै नेतृत्वको तर्फबाट भइराखेको निरन्तर कमिसन चक्कर, जनतामाथिको धोका र समुदायमाथिको पूरै ब्रह्मलुट जो देखियो त्यसको जनताले निकास खोजिराखेको अवस्थामा कालिकोटका जनताले विकल्प खोजेकाले साझा र वैकल्पिक उम्मेदवार आवश्यक पर्‍यो, जनताका आवश्यकता र सल्लाहलाई मध्यनजर गर्दै मैले उम्मेदवारी दिएको हुँ ।

– तपाईंको उम्मेदवारीका सम्बन्धमा पार्टी अध्यक्ष प्रचण्डले चासो लिएको भनिन्छ । प्रचण्ड र तपाईंबीच के कुरा भयो ? यदि पार्टीमा तपाईंलाई कुनै अवसर दिएको खण्डमा शाहीलाई समर्थन गर्ने सम्भावना के छ ?

त्यो सम्भावनाको कुरै भएन । मैले खारेज गरिसकेको हो । प्रचण्ड कमरेडलाई मैले पहिल्यै भनेको हो । कालिकोटमा पार्टी एकताबद्ध छैन, तपाईं एकताबद्ध गर्नुस्, पार्टीमा नेताहरु र कार्यकर्ताबीच सन्तुलित कार्य विभाजन भएको छैन, त्यतातिर पनि तपाईंहरुले सोच्नुस् र नेतृत्व विकासमा एक जना व्यक्ति होइन, यहाँ सयौं नेताहरुको जमात छ । त्यसको उचित ढङ्गमा सोच्नुस् भनेको तर, उहाँले यस विषयलाई गम्भीर रुपमा लिनुभएन । खासगरी यत्रो जनताको बीचमा आन्दोलन अगाडि बढिराखेको छ । सारा नेता-कार्यकर्ताको माहोल र बुझाइ एकातिर छ, कालिकोटका केही खुरापाते मान्छेहरु र दलालहरुको वरिपरि लागेर उहाँ जुन भ्रममा रहनुभएको छ त्यही भ्रममा रहेर उहाँले पार्टीलाई पार्टीको रुपमा अगाडि लान सक्नुभएन र निश्चित दुई चार जना मान्छेका भरमा उहाँले जुन कदम चाल्नुभयो, त्यो गलत हो भन्ने मेरो बुझाइ हो ।

जनताका आवश्यकता र सल्लाहलाई मध्यनजर गर्दै मैले उम्मेदवारी दिएको हुँ ।

अर्को, टिकट वितरण गर्ने बेलामा तपाईंले एउटा गल्ती गर्नुभयो । दोस्रो, अहिले यहाँ प्रचारप्रसारका क्रममा जनताका आवाजलाई तपाईंले बुझ्न सक्नुभएको छैन, तपाईं भ्रममै हुनुहुन्छ भनेर मैले राखेको कुरा भयो । त्यसपछि उहाँहरुको तर्फबाट सीधै प्रश्नोत्तरमा छलफल गरेर निकास निस्किने सम्भावना मैले देख्दैन र देखिनँ । अर्को कुरा उहाँहरुसँग छलफल गरिराख्नुपर्छ जस्तो नलागेर बहसमै सहभागी भइनँ ।

– गठबन्धन र एमालेका बीच खास तपाईंको चुनाव जित्ने आधार के हो ?

म तीन हजार मत ल्याएर जित्छु । म राजनीतिक यात्री र सामाजिक यात्रीको रुपमा अगाडि बढ्दै गर्दा मैले कालिकोटमा गरेका कामहरुको बारेमा बताइराख्नु पर्ने स्थिति छैन । आम जनताले बुझ्नुभएको छ । अहिले मुख्य कुरा के हो भने यो हरेक पार्टीभित्रको सिण्डिकेट प्रणाली र सेटवाद जो छ, त्यसलाई भंग गर्न मेरो उम्मेदवारी अगाडि बढेको हुनाले आम जनता यो सेटवाद र सिण्डिकेटलाई तोड्न आतुर छन् । त्यसो हुनाले केही चिन्ता नमानेर मजाले मैले जित्छु र अगाडि बढ्छु ।

कालिकोटमा मैले सरकार सञ्चालनको क्रममा धेरै सामाजिक अभियानहरु सुरु गरेको छु, मैले भोलिको कालिकोटको २० वर्षे विकासको रणनैतिक खाका बनाइराखेको छु, त्यो खाकामा आम मान्छेलाई रोजगारी सिर्जना गर्नेदेखि कालिकोटमा भएका सबै चिजसम्ममा सुशासन कायम गर्ने, समग्र राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने र जिल्लालाई एकताबद्ध गर्ने अभियान थालिरहेको छु । जनताले मैले चालेको कदमलाई स्याबासी दिएर हामी तपाईंको पक्षमा छौं, अगाडि बढ्नुस् भन्ने कुरा ठाउँ-ठाउँबाट आएको हुनाले मैले जित्ने आधारमा कुनै शंका नरहेको क्लियर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर