संकटमा रोनाल्डोको व्यावसायिक करियर, विश्वकपपछि के हुन्छ ? – Nepal Press

संकटमा रोनाल्डोको व्यावसायिक करियर, विश्वकपपछि के हुन्छ ?

लन्डन। पाँच पटकका फिफा वर्ष खेलाडी क्रिष्टियानो रोनाल्डोको व्यावसायिक करियर संकटमा देखिएको छ। कतार विश्वकपमा जानुअघि दिइएको एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक र व्यवस्थापनप्रति गम्भीर आरोप लगाएपछि उनको क्लब भविष्य अब के हुन्छ भन्ने अन्योलता बढेको छ।

अन्तर्वार्तामा रोनाल्डोले म्यान युनाइटेडले आफूलाई धोका दिएको र प्रशिक्षक एरिक टान हागसहित व्यवस्थापनका केहीले निकाल्न खोजिरहेको दाबी गरेका छन्। प्रशिक्षक हागले आफ्नो सम्मान नगरेको र त्यही कारण आफूले पनि उनको सम्मान नगर्ने गरेको रोनाल्डोको भनाई छ।

रोनाल्डोले क्लब व्यवस्थापनविरुद्ध यसरी बोलेका छन् की उनले म्यान युनाइटेड छाडिसकेका छन्। तर कतार विश्वकपपछि उनी म्यान युनाइटेड फर्कनुपर्ने छ।

यस्तो अन्तर्वार्ता र यसले ल्याएको विवादबीच उनी कसरी म्यान युनाइटेडमा रहनेछन् र उनको त्यहाँ भविष्य के हुनेछ भन्नेबारे अनेकन् अनुमान सुरु हुन थालिसकेका छन्।

त्यसो त प्रशारण हुन बाँकी रहेको उक्त अन्तर्वार्ताको बाहिर आएको क्लिपबारे आफू सूचित रहेको भन्दै म्यान युनाइटेडले पुरा अन्तर्वार्ता बाहिर आएपछि मात्र बोल्ने प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ।

अन्तर्वार्ता पछाडिको पुरा तथ्यसमेत परीक्षण हुने उसले जनाएको छ।

पछिल्लो समय रोनाल्डो म्यान युनाइटेडको पहिलो रोजाइमा पर्न छाडेपछि उनी क्लब प्रशिक्षक हाग र व्यवस्थापनप्रति रुस्ट देखिन्छन्।

गत महिना उनी खेल नसकिँदै बेन्चबाट उठेर बाहिरिएपछि विवाद थप चर्को बनेको थियो। प्रशिक्षक हागले अर्को खेलमा रोनाल्डोलाई बेन्चमा रहने सूचीमा समेत राखेका थिएनन्।

प्रशिक्षकको निर्णयमा म्यान युनाइटेड व्यवस्थापनले मौन समर्थन देखाएको थियो।

यद्यपि रोनाल्डोलाई त्यसपछि पहिलो रोजाइमा राखिएको थियो भने कप्तानीसमेत गर्न दिइएको थियो। आइतबार फुलहाममाथि जित हात पारेपछि हागले अब टिम एक ढिक्का भएको प्रतिक्रिया दिएका थिए। त्यसको केही समयमा रोनाल्डोले दिएको अन्तर्वार्ताबारे बाहिर समाचार आएको थियो।

म्यान युनाइटेडले रोनाल्डोलाई साताको ५ लाख पाउन्ड पारिश्रमिक दिँदै आएको छ। तर यो सिजन रोनाल्डो लगभग हराएजस्तै छन्।

हागले भन्दै आएका छन्, ‘मैले क्लब र टिमको भलाइका लागि निर्णय गर्नुपर्छ। त्यो मेरो काम हो। को के हो ? उसको प्रख्याति वा उमेरबारे मेरो सरोकार रहँदैन ।’ यता रोनाल्डोले गत सिजन नै आफूलाई क्लबका केहीले निकाल्न खोजेको आरोप लगाएका छन्। प्री सिजन टुरमा आफू पारिवारिक समस्याका कारण सहभागी हुन नसक्दा व्यवस्थापनले नपत्याएको उनको भनाई छ। रोनाल्डो यसै सिजनको सुरुवातमा अन्य क्लब जान चाहेका थिए। तर अरू क्लब लैजान तयार नदेखिएपछि उनीसँग म्यान युनाइटेडलाई झेल्नुको विकल्प रहेन।

आफूलाई पहिलो रोजाइमा नराखेर र अन्तिम समयमा उतारेर प्रशिक्षकले सार्वजनिक बेइज्जती गर्ने गरेको गुनासो रोनाल्डोको छ।

यस्तै उनले म्यान युनाइटेडको भान्छा, जिम र प्रशिक्षण मैदानमा समेत कमीकमजोरीहरू औँल्याएका छन्। प्रशिक्षक सर एलेक्स फर्गुसनले सन् २०१२ मा म्यान युनाइटेड छाडेपछि क्लब भद्रगोल बनेको उनले टिप्पणी गरेका छन्।

सन् २००४ देखि २००९ सम्म म्यान युनाइटेडमा रहेका रोनाल्डो सन् २०२१ मा फेरी पुरानै क्लब फर्किएका हुन्। रोनाल्डोले त्यतिबेला म्यान युनाइटेडसँग पछि एक वर्ष लम्बिन सक्ने सर्तसहित २ वर्षको सम्झौता गरेका थिए।

म्यान युनाइटेडमाथि आफूलाई छाड्न बाध्य बनाउने गरी रोनाल्डोले यसरी बोलेको हुन सक्ने पनि विश्लेषण गरिएको छ। बीबीसी लेख्छ, ‘अहिलेको अवस्थामा रोनाल्डोले हागको प्रशिक्षणमा खेलेको कल्पना गर्न सकिँदैन।’

यता म्यान युनाइटेडकै पूर्व खेलाडीले पनि रोनाल्डोको पछिल्लो आरोपका कारण उनको पक्ष लिन नसकिने बताएका छन्। रोनाल्डोसँगै खेलेका रियो फर्डिान्ड भन्छन्, ‘यो सबै कुरा एउटै कामका लागि भएको छ त्यो भनेको उनलाई क्लब छाड्न दिन।ु उनले अन्तर्वार्ताको विषय बाहिर नआउँदासम्म रोनाल्डोको पक्षमा बोल्न सक्ने भएपनि अब पक्ष लिन नसक्ने बताएका छन्। फर्डिनान्डलाई उद्धृत गर्दै बीबीसी लेख्छ,’ ‘मलाई लाग्दैन की अब फर्किने कुनै सम्भावना छ। मलाई लाग्दैन कि म्यान युनाइटेडले अब रोनाल्डोलाई राख्ने छ। मलाई लाग्दैन की रोनाल्डो फेरी म्यान युनाइटेडमा फर्कन चाहन्छन्।’

३७ वर्षीय रोनाल्डोले अहिले आफू विश्वकपमा केन्द्रित भएको भन्दै सोमबार तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । उनले कतार विश्वकपलाई आफ्नो अन्तिम संस्करण बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर