दोहोरीमा जेरीको रोदनः पीर बिसाउने चेष्टा कि आँशुको व्यापार ? – Nepal Press

दोहोरीमा जेरीको रोदनः पीर बिसाउने चेष्टा कि आँशुको व्यापार ?

काठमाडौं । दोहोरी खेल्ने कलाकारहरू गीतमा संवाद गर्छन्, काल्पनिक विषयवस्तु बनाएर । दोहारीमा गरिने माया-प्रेम वा धोका र विछोडका कुराहरू प्राय काल्पनिक हुन्छन् र दोहोरीमै सीमित हुन्छन् । तर, चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् ।

श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो । उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् । जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् ।

तर, अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् ।

जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ । संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शोकाकुल छन् । कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डिभोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।

उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् ।

दोहारीमा विजय भन्छन्ः उहीलाई रोजेउ भन्दा नि खराब छ, तिम्रा निर्दोष आँशुले सराप्छ

जेरी जवाफ दिन्छिन्ः थाथ्यो पहिल्यै थिएन लायक, अरु मनै परेन ऊबाहेक

दोहोरीमा जेरीले आफ्नो छोरीलाई जोडेर केही हृदयविदारक कुराहरू गरेकी छन्ः

हिँड्ली भाञ्जी अटेरी बनी, नपिटेस है बाउजस्तै छ भनि

यो आगो त उल्लाइ नि झोसियो, दुई वर्षमै बाउको काख खोसियो

सँगै राख्नु भाञ्जीको घर छैन, मर्छु होला मेरो त भर छैन

बच्चा सम्झि पागलै भाथेँ म सँगै लेर मर्न नि गाथेँ म

समयमा सुताउनु खुवाउनु, म मरे नि भाञ्जीलाई नरुवाउनु

०००

लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले डिभोर्सपछि मात्रै ४० वटा दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् । दोहोरी गायकहरू रविन लामिछाने, बालचन्द्र बराजलगायतले जेरीका पूर्वपति शंकरको भूमिकामा रूपमा पेश भएर उनीसँग दोहारी गाएका छन्, जुन निकै हास्यास्पद लाग्छ ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । तर, यतिबेला दोहोरी सञ्चालकहरूले उनको आँशुलाई बिकाउ वस्तु बनाएको जस्तो प्रतित हुन्छ । उनको पीर-वेदनलाई व्यापारको साधन बनाइएको भान हुन्छ । आफ्नो वास्तविक कथालाई दर्शक/स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । तर, यसले उनको व्यक्तित्वलाई नै हलुंगो बनाउने खतरा बढेको छ । पीर बिसाउने बहानामा उनले आफूलाई अर्को मिना ढकाल बनाउनुहुँदैन भन्ने शुभचिन्तकहरूले चाहेका छन् । भोलि छोरी बुझ्ने भएपछि यस्ता दोहोरी हेर्दा उनलाई कस्तो असर पर्न सक्छ भन्ने सायद जेरीले सोचेकी छैनन् ।

जेरीले डिभोर्स भएलगत्तै दिन ‘चोट’ बोलको गीत पनि युट्यूवमा सार्वजनिक गरेकी छिन् । यो गीत पनि उनको वास्तविक जीवनकै कथामा आधारित छ । यद्यपि, जेरीले यो गीत आफूले शंकरसँग भेट हुनुभन्दा अगाडि नै रचेको बताएकी छन् । पहिले गरेको कल्पना अहिले सत्यमा बदलिएकाले आफूले सार्वजनिक गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

One thought on “दोहोरीमा जेरीको रोदनः पीर बिसाउने चेष्टा कि आँशुको व्यापार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *