विश्वकपमा पेनाल्टी सुटआउटः जसले उपाधि चुमे – Nepal Press
विश्वकप फुटबल

विश्वकपमा पेनाल्टी सुटआउटः जसले उपाधि चुमे

लन्डन । पेनाल्टी सुटआउटमा गोल गर्न नसक्नेहरुको बढी आलोचना हुन्छ भने गोल रोक्ने गोलरक्षकहरुको बढी तारिफ । सायद त्यसैले भनिन्छ, पेनाल्टी सुटआउटमा जो भाग्यमानी हुन्छ, उसैले जीत हात पार्छ । विश्वकपमा नकआउट चरण सुरु भएपछि विजेता छुट्याउन टाइब्रेकरका रुपमा पेनाल्टी सुटआउटको सहारा लिइन्छ ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयको खेल पनि बराबरीमा सकिए पेनाल्टी सुटआउटबाट नतिजा निकालिन्छ । चार वर्षअघि रुसमा सम्पन्न पछिल्लो विश्वकपमा चारवटा पेनाल्टी सुटआउट भएका थिए, तीनवटा प्रि-क्वार्टरफाइनल र एउटा क्वार्टरफाइनलमा । रुसले स्पेनलाई, क्रोएसियाले डेनमार्कलाई र इङ्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराएर क्वार्टरफाइनलमा पुगेका थिए । सेमिफाइनल पुग्ने क्रममा क्रोएसियाले रुसलाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो ।

क्रोएसिया र इङ्ल्यान्डबीचको खेल अतिरिक्त समयमा पुगे पनि पेनाल्टी सुटआउटको सहारा भने लिनु परेन । अतिरिक्त समयमा जीत हात पार्दै क्रोएसिया फाइनल पुगेको थियो । दुईवटा टाइब्रेकर जितेको क्रोएसिया फाइनलमा भने सजिलै पराजित भयो, फ्रान्ससँग ।

सन् २०१४ मा आयोजित विश्वकपमा चारवटा पेनाल्टी सुटआउट भए । प्रि-क्वार्टरफाइनलमा ब्राजिलले चिलीलाई र कोस्टारिकाले ग्रिसलाई पेनाल्टी सुटआउटमा हराएर अगाडि बढेका थिए । क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले कोस्टारिकालाई पनि पेनाल्टी सुटआउटमै हराएको थियो । अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

त्यसअघि प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्वीट्जरल्यान्डलाई अतिरिक्त समयमा पुगेर हराएको थियो । संघर्षपूर्ण तरिकाले फाइनल पुगेको अर्जेन्टिना उपाधि भिडन्तमा जर्मनीसँग अतिरिक्त समयमै १-० गोलले पराजित भएर उपविजेतामा सीमित भयो ।

विश्वकप फुटबलको इतिहासमा ६ वटा फाइनल अतिरिक्त समयसम्म पुगेको छ भने २ वटा फाइनलको नतिजा टाइब्रेकरमार्फत लिइएको थियो । सन् १९९४ को विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई टाइब्रेकरमै हराएर उपाधि जितेको थियो । सन् २००६ मा फ्रान्सलाई टाइब्रेकरमा हराएर इटाली विश्व च्याम्पियन बनेको थियो ।

टाइब्रेकरमा रिप्ले र पेनाल्टी सुटआउट

विश्वकपका सुरुवाती संस्करणमा टाइब्रेकरका रुपमा पेनाल्टी सुटआउटको व्यवस्था थिएन । त्यतिवेला खेल बराबरी भएमा अर्काे दिन फेरि खेल हुन्थ्यो । सन् १९३४ को विश्वकपको क्वार्टरफाइनलमा इटाली र स्पेनबीच अतिरिक्त समयसम्म पनि खेल १-१ गोलको बराबरी भएपछि भोलिपल्ट रिप्ले गरिएको थियो ।

भोलिपल्ट इटाली १-० गोलले विजयी भएर सेमिफाइनल पुगेको थियो । सन् १९३८ को विश्वकप क्वार्टरफाइनलमा स्वीट्जरल्यान्ड र जर्मनी तथा क्युबा र रोमानियाबीचको खेल अतिरिक्त समयसम्म पनि बराबरीमा सकिएपछि रिप्ले गरिएको थियो ।

विश्व फुटबल महासंघले सन् १९७० मा पेनाल्टी सुटआउटको नियम ल्याएको थियो । विश्वकपमा भने सन् १९८२ देखि मात्र लागू भयो । विश्वकपमा पहिलो पेनाल्टी सुआउट पनि त्यही संस्करणमा भयो । सेमिफाइनलमा फ्रान्सलाई सडन डेथमा पराजित गरी तत्कालीन पश्चिम जर्मनी फाइनल पुगेको थियो । निर्धारित समयको खेल १-१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि ३-३ गोलको बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटमार्फत लिइएको थियो ।

अतिरिक्त समयमा ३-१ गोलले अगाडि बढे पनि फ्रान्सले जोगाउन सकेको थिएन । पेनाल्टी सुटआउट पनि फ्रान्सको पक्षमा देखिएन । दुवै टोलीका सुरुका दुई वटा प्रहार गोल भए पनि तेस्रो प्रहारमा जर्मनी चुक्यो । फ्रान्सले तेस्रो प्रहारमा पनि गोल गरेपछि जर्मनी निराश हुनु स्वाभाविक थियो । तर, चौथो प्रहारमा विफल भएन । फ्रान्सले भने चौथो प्रहारमा गोल गर्न सकेन । दुवै टोलीका पाँचौं प्रहार गोलमा परिणत भए । छैटौं प्रहारमा जर्मनीले गोल गरेपनि फ्रान्सका म्याक्सिम बोसिस भने सफल हुन सकेनन् ।

यसरी विश्वकपको पहिलो पेनाल्टी सुटआउटमा जर्मनी फाइनल पुगेको थियो । सन् १९८६ को विश्वकपमा सेमिफाइनलमा पुगेका तीन टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउट जितेका थिए । ब्राजिलविरुद्ध भएको रोमाञ्चक टाइब्रेकरमा फ्रान्स भाग्यमानी रह्यो । निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा ब्राजिल पहिलो प्रहारमै चुकेको थियो ।

सोक्रेट्सले गोल गर्न सकेका थिएनन् । फ्रान्सले भने लगातार तीन गोल गर्‍यो । यता ब्राजिलले पनि लगातार तीन गोल गर्‍यो । चौथो प्रहारमा फ्रान्सका मिचेल प्लाटिनी चुके । पाँचौं प्रहारमा ब्राजिल पनि चुक्यो । तर, यसपटक फ्रान्स चुकेन र सेमिफाइनल पुग्यो ।

मेक्सिकोविरुद्ध भएको अर्काे खेलमा पश्चिम जर्मनीले सुरुका चार प्रहारमा गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो । पहिलो प्रहारमा गोल भयो । तर, पछि लगातार दुइटामा विफल भएपछि मेक्सिको अगाडि नबढ्ने पक्का भएको थियो ।

त्यसअघि उक्त खेल निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । स्पेन र बेल्जियमबीच भएको क्वार्टरफाइनल निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा बेल्जियमका पाँचै प्रहार गोल भए भने स्पेन दोस्रो प्रहारमा चुकेर अगाडि बढ्न असफल भयो । सन् १९९० को विश्वकपमा फाइनल पुग्ने क्रममा अर्जेन्टिनाले क्वार्टरफाइनलमा युगोस्लाभिया र सेमिफाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमै हराएको थियो ।

पश्चिम जर्मनीले पनि सेमिफाइनलमा इङ्ल्यान्डलाई टाइब्रेकरमा पराजित गरी अर्जेन्टिनासँग लगातार दोस्रोपटक उपाधि भिडन्त तय गरेको थियो । अर्जेन्टिना र युगोस्लाभियाबीचको निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा अर्जेन्टिनाले सुरुका दुई प्रहारमा गोल गरे पनि त्यसपछि डिएगो म्याराडोना र ट्रोलियो चुके । यता पहिलो प्रहारमा असफल भएको युगोस्लाभिया त्यसपछि लगातार दुईवटा प्रहारमा गोल गर्दै खेलमा फर्किएको थियो । तर, युगोस्लाभिया अन्तिम दुई प्रहारमा चुक्यो भने पाँचौं प्रहारमा गोल गर्दै अर्जेन्टिना सेमिफाइनल पुग्यो ।

सेमिफाइनलमा निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिना सुरुका चार प्रहारमा सफल भयो । यता सुरुका तीन प्रहारमा गोल गरेको इटाली त्यसपछि लगातार दुईवटामा चुकेर अगाडि बढ्न सकेन ।

जर्मनी र इङ्ल्यान्डको हकमा पनि ठीक यस्तै भएको थियो । फाइनलमा पनि पश्चिम जर्मनीले ८५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै १-० गोलले विजयी भएर विश्व विजेता बनेको थियो ।

सन् १९९४ को विश्वकप विजेताको टुंगो नै पेनाल्टी सुटआउटबाट लागेको थियो । ब्राजिल र इटालीबीच भएको त्यस फाइनल निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । टाइब्रेकरमा दुवै टोलीको पहिलो प्रहार गोल हुन सकेन । त्यसपछि दुवै टोलीले लगातार दुई गोल गरे । इटालीका लागि चौथो प्रहार गरेका मास्सारोले गोल गर्न सकेनन् ।

यता ब्राजिलको चौथो प्रहारमा अघि सरेका डुंगा भने सफल भए । इटालीको पाँचौं प्रहार पनि गोल हुन नसकेपछि एउटा प्रहार गर्न बाँकी छँदै ब्राजिल विश्व विजेता बन्यो । इटालीको उक्त प्रहार मिस गर्ने खेलाडी थिए रोबर्टाे बाजियो ।

त्यसअघि प्रि-क्वार्टरफाइनलमा बुल्गेरियाले मेक्सिको र क्वार्टरफाइनलमा स्वीडेनले रोमानियामाथि टाइब्रेकरमै जीत हात पारेका थिए । मेक्सिकोविरुद्धको टाइब्रेकरमा बुल्गेरियाको पहिलो प्रहार असफल भए पनि त्यसपछि लगातार तीन गोल गरेको थियो । मेक्सिको भने सुरुका तीन प्रहारमा चुकेको थियो ।

रोमानियाविरुद्ध पहिलो प्रहार असफल भए पनि स्वीडेनले त्यसपछि लगातार चारवटा प्रहार गोलमा परिणत गरेको थियो । सुरुका तीनवटा प्रहारमा गोल गरेको मेक्सिको चौथो प्रहारमा चुकपछि खेल सडन डेथमा पुगेको थियो । छैटौं प्रहारमा मेक्सिकोले गोल गर्न सकेन भने बुल्गेरियाका लार्सन चुकेनन् ।

सन् १९९८ को विश्वकपमा ब्राजिल सेमिफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो । ब्राजिलले सुरुका चारवटा प्रहारमा गोल गरेको थियो भने नेदरल्यान्ड्स सुरुका दुई प्रहारमा सफल भए पनि त्यसपछिका लगातार दुईवटा प्रहारमा असफल भएर फाइनल पुग्न असफल भएको थियो ।

ब्राजिल फाइनलमा भने फ्रान्ससँग पराजित भयो । फ्रान्सले क्वार्टरफाइनलमा इटालीलाई टाइब्रेकरमा हराएको थियो । निर्धारित तथा अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा सुरुका चार प्रहारमा दुवै टोलीको दोस्रो प्रहार गोल हुन सकेको थिएन । पाँचौं प्रहारमा इटालीका डी बियाजियोले गोल गर्न सकेनन् ।

ब्लाँले गोल गर्दै फ्रान्सलाई सेमिफाइनल पुर्‍याएका थिए । प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्डबीच पनि ठीक यस्तै भएको थियो ।

सन् २००२ को विश्वकपमा दुईवटामात्र पेनाल्टी सुटआउट भयो । प्रि-क्वार्टरफाइनलमा आयरल्यान्डलाई टाइब्रेकरमा पराजित गरेको स्पेन क्वार्टरफाइनलमा दक्षिण कोरियासँग टाइब्रेकरमै पराजित भएको थियो ।

दक्षिण कोरिया सेमिफाइनलमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो । सन् २००६ को विश्वकप फाइनल निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । इटालीले पाँचवटै प्रहारमा गोल गरेको थियो भने फ्रान्सका त्रेजेगुएट दोस्रो प्रहारमा चुकेका थिए ।

त्यसअघि क्वार्टरफाइनलमा जर्मनीले अर्जेन्टिनालाई र पोर्चुगलले इङ्ल्यान्डलाई टाइब्रेकरमा हराएको थियो । इङ्ल्यान्डका सुरुका चारमध्ये तीन प्रहार गोल हुन सकेन । पहिलो प्रहारमा गोल गरेर त्यसपछि लगातार दुईवटामा चुकेको पोर्चुगल अन्तिम दुई प्रहारमा गोल गर्दै सेमिफाइनलमा पुगेको थियो । पोर्चुगलको पाँचौं प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो थिए । प्रि-क्वार्टरफाइनलमा युक्रेनविरुद्ध भएको पेनाल्टी सुटआउटमा स्वीट्जरल्यान्ड सुरुका तीनवटा प्रहारमा चुकेर बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर