सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री, दुई मन्त्री र १५ पूर्वमन्त्री चुनावी मैदानमा, चारजनाको हार अहिले निश्चित ! – Nepal Press

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा प्रधानमन्त्री, दुई मन्त्री र १५ पूर्वमन्त्री चुनावी मैदानमा, चारजनाको हार अहिले निश्चित !

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा अहिले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, अन्य दुई बहालवाला मन्त्री र १५ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा डडेल्धुराबाट प्रतिनिधि सभाको उम्मेदवार बन्दा बहालवाला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम १ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिस्पर्धामा छन् ।

पूर्वमन्त्रीहरू गणेश ठगुन्ना, दामोदर भण्डारी, भानुभक्त जोशी, कर्ण थापा, प्रेम आले, लेखराज भट्ट, एनपी साउद, रमेश लेखक, नारदमुनि राना, रामजनम चौधरी, विना मगर, गौरीशङ्कर चौधरी पनि उठेका छन् ।

संघीय तर्फका १३ जना पूर्वमन्त्री प्रतिनिधिसभाका उम्मेदवार बन्दा प्रदेशका दुई पूर्वमन्त्री पनि पनि रेसमा छन् । पूर्वमन्त्री तारा लामा तामाङ र झपट बोहरा प्रतिनिधिसभाका उम्मेदवार छन् ।

क-कसको टक्कर ?

शेरबहादुर देउवा

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सातौं पटक चुनाव लड्दै छन् । २०४८ सालको प्रतिनिधिसभामा ‘डेब्यू’ गरेका देउवा त्यसयताका छ वटै चुनाव जिते । यो पटक देउवा सत्तागठबन्धनको साझा उम्मेदवारको रूपमा अघि सरेका छन् ।

देउवालाई बीपी कांग्रेसबाट कर्ण मल्लले चुनौती दिएका छन् । मल्ललाई यहाँ एमाले र नेकपा एसले समर्थन गरेको छ ।

लेखराज भट्ट

भट्टले नेकपा माओवादीबाट २०६४ सालमा पहिलो संविधानसभाको चुनाव कैलालीबाट जितेका थिए । दोस्रो संविधानसभा पराजित भट्ट २०७४ मा भने निर्वाचित भएका थिए । उनी हाल एमालेको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका भट्टको प्रतिस्पर्धा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग हुँदैछ । बलायर कांग्रेसका प्रदेश सभापति पनि हुन् । डोटीबाट चुनाव लड्दै आएकोमा बलायर यसपटक सत्ता गठबन्धनका कारण डोटीबाट कैलाली ओर्लिएका हुन् । बलायर अघिल्लोपल्ट प्रेम आलेसँग पराजित भएका थिए ।

विना मगर

२०७५ मा केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएकी विना मगर माओवादी केन्द्रको तर्फबाट कञ्चनपुर-१ बाट उम्मेदवार बनेकी छिन् २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उम्मेदवार बनेकी मगर त्यो बेला पराजित भएकी थिइन् । त्यसपछि २०७४ सालमा वाम गठबन्धनको तर्फबाट उनले चुनाव जितिन् ।

मगर २०७५ मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेकी थिइन् । ओलीले संसद् विघटन गरेपछि राजीनामा दिएकी थिइन् । उनी अहिले एमालेका पूर्वमन्त्री तारा लामा तामाङसँग चुनावी प्रतिस्पर्धामा छन् ।

एनपी साउद

पूर्वसिंचाइमन्त्री एनपी साउद नेपाली कांग्रेसबाट कञ्चनपुर-२ मा गठन्धनका उम्मेदवार बनेका छन् । २०५१ सालबाट निर्वाचन लड्न सुरु गरेका साउद त्यो बेलामा पराजित भए । २०५६ मा चुनाव जितेर संसद पुगेका साउद २०६४ को पहिलो संविधानसभा चुनावमा हारे । २०७० को दोस्रो संविधानसभा चुनावमा साउदले जिते ।

२०७४ मा साउद वाम गठबन्धनका साझा उम्मेदवार एमालेका धामीसँग पराजित भए । अहिले पनि साउद र धामी प्रतिस्पर्धामा छन् । साउद २०७० पछि सुशील कोइरालाको प्रधानमन्त्रीकालमा सिंचाइमन्त्री भएका थिए ।

रमेश लेखक

श्रम तथा यातायातमन्त्री रमेश लेखक कांग्रेसबाट कञ्चनपुर-३ मा उठेका छन् । उनी २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका लेखक दोस्रो संविधानसभा विजयी भएका थिए । अघिल्लो पटक पराजित भएका उनी फेरि सोही क्षेत्रबाट निर्वाचनमा होमिएका छन् । उनको प्रतिस्पर्धा एमाले नेतृ निरु पालसँग भइरहेको छ । पाल अघिल्लो पटकको समानुपातिक सांसद हुन् ।

दिलेन्द्रप्रसाद बडू

दार्चुलाबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा होमिएका दिलेन्द्रप्रसाद बडू बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन् । अघिल्लो पटक समानुपातिकबाट सांसद बनेका बडू यो पटक प्रत्यक्षतर्फ  निर्वाचनमा होमिएका छन् । उनले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए । बडूको प्रतिस्पर्धा यहाँ पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँग भएको छ ।

गणेश ठगुन्ना

पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना दार्चुलाबाट निर्वाचनमा होमिएका छन् । २०७७ मा प्रधानमन्त्री केपी ओलीले ठगुन्नालाई मन्त्री बनाएका थिए । २०७० र २०७४ सालको चुनाव जितेका ठगुन्ना तेस्रो जीतका लागि चुनावी मैदानमा छन् । उनी बहालवाला मन्त्री बडूसँग प्रतिस्पर्धा गर्दैछन् ।

दामोदर भण्डारी

एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीमा चुनावी प्रतिस्पर्धामा छन् । २०७० को दोस्रो संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्यमा विजयी भण्डारी पूर्वअर्थ राज्यमन्त्री हुन् । अघिल्ला दुई निर्वाचनमा लगातार विजयी भएका भण्डारी २०६४ सालको निर्वाचनमा पराजित भएका थिए ।

भण्डारीको प्रतिस्पर्धा नरेन्द्र कुवरसँग परिरहेको छ । २०६४ मा कुवर विजयी हुँदा भण्डारी पराजित भएका थिए भने २०७० मा भण्डारी विजयी हुँदा कुँवर पराजित भएका थिए । अहिले यी दुवैको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

भानुभक्त जोशी

दुई पटक सांसद भएर एक पटक मन्त्री भएका भानुभक्त जोशी बझाङमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

२०५१ सालको मध्यावधि चुनावमा कांग्रेसका अर्जुनजंग सिंहलाई पराजित गर्दै सांसद भएका जोशी २०४८ सालमा भने पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा बझाङ १ बाट विजयी भएका जोशी झलनाथ खनाल नेतृत्वको ६ छ महिने सरकारमा वन तथा वातावरण मन्त्री भए ।

जोशीको प्रतिस्पर्धा अहिले एमालेका ऐन महरसँग छ । एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका ऐर पहिलो पटक संसदीय निर्वाचनमा होमिन लागेका छन् ।

कर्ण थापा

एउटामात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधि सभा तर्फ एमालेका नेता कर्ण थापा उम्मेदवार छन् । २०५६ सालमा चुनावमा डेब्यू गरेका थापाले २०७० को चुनाव जितेर उनले संसद्को यात्रा तय गरेका थिए । थापा २०७० पछि बनेको कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए । थापाको प्रतिस्पर्धा अहिले कांग्रेस सहमहामन्त्री बद्री पाण्डेसँग छ ।

शेरबहादुर कुँवर

बहालवाला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एकीकृत समाजवादीको तर्फबाट अछाम- १ मा चुनावी मैदानमा छन् । उनलाई चुनावमा सत्तागठबन्धनको साथ छ । गत फागुन २० गतेसम्म राष्ट्रियसभा सदस्य भएका कुँवर गैर सांसदका रूपमा अहिले मन्त्री छन् । कुँवर २०६४ सालबाट पहिलो संविधानसभा निर्वाचनमा अछाम-१ बाट निर्वाचित भएका थिए । २०७४ सालमा राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट निर्वाचित भएका थिए ।

कुँवरको प्रतिस्पर्धा अहिले प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरासँग छ । अघिल्लो पटक प्रदेश सभामा माओवादी केन्द्रबाट विजयी भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाको उम्मेदवार छन् ।

प्रेम आले

डोटीबाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले चुनावी मैदानमा छन् ।अघिल्लो पटक उनी नेकपा एमालेबाट निर्वाचित सांसद हुन् । २०६४ सालको पहिलो संविधानसभामा डोटी-२ मा उनी पराजित भएका थिए । २०७० सालको दोस्रो संविधानसभामा भने उनी निर्वाचित भए ।एमाले विभाजन भएपछि उनी एकीकृत समाजवादीमा लागे ।

ओली सरकारको पालामा वन तथा वातावरण मन्त्री बनेका आले पार्टी विभाजन भएपछि पनि देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने ।

आलेसँग एमालेकी गौरी ओली चुनावी मैदानमा छिन् । ओलीसँगै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्का पनि यहाँ प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।

नारदमुनि राना

पूर्व वन तथा वातावरण मन्त्री नारदमुनी राना कैलाली ५ बाट प्रतिनिधि सभाको उम्मेदवार छन् । राना२०५१ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख भएका राना त्यसपछि समानुपातिक सांसद भएका थिए । अघिल्लो चुनावमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका रानाको प्रतिस्पर्धा अहिले कांग्रेसका डिल्लीराज पन्तसँग भइरहेको छ ।

रामजनम चौधरी

पूर्व स्वास्थ्य मन्त्री राम जनम चौधरी कैलाली-१ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । २०४८ सालमा पहिलो पटक चौधरी कैलाली-२ बाट सांसद बनेका थिए । त्यसपछि चार पटक सांसद बनेका चौधरी छैटौँ पटक पनि सांसद बन्ने दाउमा छन् । उनको प्रतिस्पर्धा यहाँ नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र एमालेका तपेन्द्र रावलसँग भइरहेको छ ।

गौरीशङ्कर चौधरी

लगातार पाँच पटकसम्म सांसद भएका कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई हराएर चर्चामा आएका पूर्व मन्त्री गौरीशङ्कर चौधरी अहिले कैलाली क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । उनी २०७० र २०७४ मा लगातार विजयी भएका थिए । दुई पटक सम्म माओवादी केन्द्रबाट उम्मेदवार भएका उनी अहिले एमालेबाट उम्मेदवार भएका छन् । चौधरी एक पटक श्रम रोजगार तथा सामाजिक सुरक्षा र एक पटक कृषि मन्त्री भएका थिए ।

चौधरीको प्रतिस्पर्धा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्तिबाट गङ्गा चौधरीसँग भइरहेको छ ।

तारा लामा तामाङ

सुदूरपश्चिम प्रदेशसभा सदस्य हुँदै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री भएका एमाले नेता ताला लामा तामाङ अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । प्रदेशसभामा वाम गठबन्धन हुँदा विना मगरसँगै रहेर प्रदेशसभामा विजयी भएका तामाङ अहिले विनामा मगरकै प्रतिस्पर्धी भएर उत्रिएका छन् । तामाङको प्रतिस्पर्धी मगर पनि पूर्वमन्त्री हुन् ।

झपट बोहरा

अछाम-१ मा एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका झपट बोहरा अघिल्लो पटक माओवादी केन्द्रबाट प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।
पूर्व प्रदेशका अर्थमन्त्री बोहराको प्रतिस्पर्धा बहालवाला संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भइरहेको छ ।

चारजनाको हार !

सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा होमिएका मन्त्री र पूर्वमन्त्रीहरूमध्ये चारजना रेडजोनमा देखिएका छन् । विभिन्न चार क्षेत्रहरूमा मन्त्री र पूर्वमन्त्रीहरूनै भिडिरहेका बेला उनीहरूमध्ये एकजना पराजित हुने निश्चित छ ।

दार्चुलाका बहालवाला मन्त्री दिलेन्द्र बडू र पूर्वमन्त्री गणेश ठगुन्नामध्ये एकजना मात्रै सांसद हुने छन् । यस्तो हुँदा एकजनाको संसदीय यात्रामा पाँच वर्षको लागि ब्रेक लाग्नेछ ।

यता कैलाली ४ का पूर्व मन्त्रीहरू लेखराज भट्ट र वीरबहादुर बलायर, अछाम- १ का बहालवाला मन्त्री शेरबहादुर कुँवर र पूर्वमन्त्री झपट बोहरा मध्ये एक/एक जनामात्रै विजयी हुने छन् ।

त्यस्तै कञ्चनपुर-१ मा पूर्व संघीय मन्त्री विना मगर र पूर्व प्रदेशका मन्त्री तारा लामामध्ये एकजना मात्रै विजयी हुने छन् ।

विभिन्न चार क्षेत्रमा पूर्व मन्त्री र बहालवाला मन्त्रीबीच भइरहेको प्रतिस्पर्धा रोचक बन्ने आँकलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर