एमाले-सत्तागठबन्धनका कार्यकर्ताको कुटपिटपछि दार्चुलामा सडक अवरुद्ध (भिडिओ) – Nepal Press

एमाले-सत्तागठबन्धनका कार्यकर्ताको कुटपिटपछि दार्चुलामा सडक अवरुद्ध (भिडिओ)

कैलाली । दार्चुलामा गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगाको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । आफ्ना कार्यकर्तामाथि एमालेका कार्यकर्ताहरूले कुटपिट गरेको भन्दै सडक अवरुद्ध गरिएको कांग्रेस नौगाड सभापति प्रेमसिंह धामीले बताए ।

‘पसलमा बसिरहेका बेला एमाले कार्यकर्ताले निर्घात कुटपिट गरे, अहिले उनको अवस्था गम्भीर छ’ उनले भने ‘त्यो झडप हैन, सयौँले एकैजनालाई कुटपिट गरेका हुन् ।’
कुटपिटमा संलग्नहरूलाई कारबाहीको माग गरेको उनले बताए ।

‘हामीले धेरै केही भनेका छैनौँ । कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्छ भन्ने मात्रै हो’ उनले भने ।

एमालेका गाउँ इन्चार्ज मङ्गलसिंह ठगुन्नाले भने सत्तागठबन्धनका कार्यकर्ताहरूले एमालेको कार्यक्रममा अवरोध गरेको बताए ।

‘हाम्रो चुनावी सभालाई सत्तागठबन्धनका कार्यकर्ताहरूले बिथोल्न बिहानैदेखl सडक अवरुद्ध गरेका हुन्’ उनले भने ‘एमालेको कार्यक्रममा सहभागी हुन नदिन उनीहरूले समस्या सिर्जना गरेपछि दुबैतर्फबाट झगडा भएको हो ।’

आफ्ना कार्यकर्ताहरूलाई सुरुमा सत्ता गठबन्धनका कार्यकर्ताहरूले कुटपिट गरेको उनले आरोप लगाए । अहिले पनि सडक अवरुद्ध भएको भन्दै उनले कार्यक्रममा गएका कार्यकर्ताहरूलाई पनि फिर्ता हुन नदिएको आरोप लगाए ।

‘प्रहरी प्रशासन पनि मुकदर्शक भएको छ’ उनले भने ‘सडक नखुल्दा चुनावी सभामा गएकाहरू पनि उतै रोकिनु भएको छ ।’

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सडक सुचारुको पहल भएपनि अवरोध कायमै रहेको बताए ।

‘सडक खुलाउने प्रयास भइरहेको छ तर, अझै सहमति हुन सकेको छैन’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर