सन्दीप प्रकरणको साइड इफेक्ट : उत्कृष्ट फर्मका बाबजुद देव खनाल टिमबाहिर – Nepal Press

सन्दीप प्रकरणको साइड इफेक्ट : उत्कृष्ट फर्मका बाबजुद देव खनाल टिमबाहिर

काठमाडौं । नेपालले यूएइविरुद्ध खेल्ने एकदिवसीय शृङ्खलाका लागि नयाँ कप्तानसहितको राष्ट्रिय टिम दुई दिनअघि घोषणा गर्‍यो । घोषित १४ सदस्यीय टिममा उदीयमान युवा ब्याट्सम्यान देव खनाल अटाएनन् ।

देवले हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यूएइविरुद्धको शृङ्खलाका लागि खेलाडी छनोटको मुख्य आधार नै प्रधानमन्त्री कप थियो । तर, यसमा राम्रो प्रदर्शन गर्दागर्दै देव छनोट नहुनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका देव उच्च फर्ममा देखिएका थिए । ओपनिङ ब्याट्सम्यानका रूपमा खेलेका उनले ४ म्याचमा २४९ रन बनाए, जसमा ८३ रनको लोभलाग्दो औसत थियो । लुम्बिनी सेमिफाइनलमा नपुगे पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा उनी दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि तेस्रो स्थानमा छन् । यही प्रदर्शनका कारण आफू राष्ट्रिय टिममा छनोट हुनेमा देव ढुक्क थिए । तर, क्यानले भने उनलाई पन्छाएको छ ।

देव टिममा नपर्नुको कारणबारे आधिकारिक रूपमा क्यानले केही बताएको छैन । तर, क्यानको छनोट समितिका चेयरम्यान दीपेन्द्र चौधरीले यसमा ‘सन्दीप प्रकरण’ लाई औँल्याए ।

‘यो मुद्दामा उनी पनि एक गवाह भएको कारणले गर्दा अदालत धाउनु पर्ने हुनसक्छ । त्यसैले उनलाई हामीले २४ जनाको क्याम्पमा नै राखेका थिएनौँ,’ चौधरीले भने ।

सन्दीपमाथि जुन किशोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेकी छिन्, उनीसँग देव पहिलेदेखि साथी थिए । देवमार्फत नै सन्दीप र किशोरीको चिनजान भएको हो । तर, जुन घटनामा सन्दीप मुछिए त्यसमा देवको कुनै लेनादेना छैन । त्यस्तो केही हुँदो हो त उनी प्रधानमन्त्री कपकै लागि अयोग्य ठहरिन सक्थे । अहिले क्यानले राष्ट्रिय टिममा स्थान नदिएर निर्दोष खेलाडीमाथि ‘अघोषित कारबाही’ गरेको क्यानकै एक सदस्यले टिप्पणी गरे ।

‘राष्ट्रिय टिममा उनलाई स्थान नदिइएकोमा हामी पनि आश्चर्यमा परेका छौँ,’ ती सदस्यले भने, ‘उनीभन्दा कमजोर र खराब फर्ममा रहेका खेलाडीहरूलाई राखेर उनलाई पन्छाउनु भनेको क्यानको पूर्वाग्रही व्यवहार नै हो ।’

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि घुमाउरो तरिकाले सन्दीप प्रकरणकै कारण देव खनाललाई टिममा नराखिएको संकेत गरे ।

उनले नेपाल प्रेससँग भने, ‘प्रधानमन्त्री कप अगावै २४ जना खेलाडीलाई क्याम्पमा बोलाउँदा उनी परेका थिएनन् । अहिले छनोट समितिले पठाएको सूचीमा पनि उनको नाम थिएन ।’

सन्दीप प्रकरणमा जोडिएकाले देवलाई बाहिर राखिएको हो ? भन्ने प्रश्नमा उनले अस्पष्ट जवाफ दिए ।

‘पक्कै पनि मैदानभन्दा बाहिरका केही इस्यूहरु थिए । त्यसले उनको खेलमा असर पर्न सक्छ भनेर पनि टिममा नराखिएको हो,’ उनले भने ।

राष्ट्रिय टिमबाट तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र मल्ल अहिले राम्रो फर्ममा रहेकाले पनि देवको आवश्यकता नपरेको मल्लको भनाइ छ ।
‘ज्ञानेन्द्रले केन्यामा राम्रो प्रदर्शन गरेका थिए । तेस्रो नम्बरमा ज्ञानेन्द्र भइसकेपछि देवको अभाव खट्किँदैन भन्नेमा हामी आशावादी छौँ,’ उनले भने ।

पूर्वाग्रही क्यान

नेपाल क्रिकेट संघले गत वर्ष ज्ञानेन्द्र मल्ललाई हठात् कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो । उक्त निर्णयको निकै आलोचना भए पनि क्यान ब्याक भएन ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दको सन्दीपप्रति विशेष अनुराग त्यति बेलादेखि झल्किएको हो । सन्दीपविरुद्ध जाहेरी दर्ता भएर प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि क्यान उनलाई कप्तानबाट हटाउन बाध्य भयो । अहिले क्यानले रोहित पौडेललाई कप्तान बनाएको छ, जबकि टिममा उनीभन्दा थुप्रै सिनियर खेलाडीहरू थिए ।

खास गरी, दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाइने अपेक्षा थियो । यसअघि उपकप्तान रहेका दीपेन्द्रलाई क्यानले ज्ञानेन्द्रसँगै बर्खास्त गरेको थियो । उनलाई पन्छाएर उमेरले निकै कच्चा र करिअरले पनि धेरै जुनियर रोहितलाई कप्तानी दिनुमा पनि क्यानको दीपेन्द्रप्रति तुष बाँकी रहेको झल्किन्छ । यद्यपि, रोहितले एउटा युवा ब्याट्सम्यानका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

देव खनालप्रति क्यान पूर्वाग्रही हुनुमा चाहिँ सन्दीप प्रकरणमा उनले मिडियालाई दिएको प्रतिक्रिया र सरकारी वकिलको कार्यालयमा दिएको बयान मुख्य कारक रहेको स्रोत बताउँछ । देवले सन्दीपलाई बल पुग्ने गरी बयान नदिएको क्यान नेतृत्वको बुझाइ छ । साथै, यो मुद्दालाई लिएर मिडियामा प्रतिक्रिया दिएकोमा पनि अध्यक्ष चन्द देवसँग असन्तुष्ट रहेको स्रोत बताउँछ ।

क्यान अध्यक्ष चन्दले भने हिरासतमै पुगेर सन्दीपलाई भेटेका थिए र उनको निर्दोषिताको वकालत गर्दै अन्तरवार्तासमेत दिएका थिए ।

देव भन्छन्- टिममा नपर्नुको कारण थाहा छैन

देवले आफू राष्ट्रिय टिममा नपर्नुको कारण थाहा नभएको बताएका छन् । उनले क्यानले गरेको निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नरहेको पनि स्पष्ट पारे ।

‘मलाई केही भनिएको छैन,’ उनले भने, ‘म त खेलाडी मान्छे । मेरो काम खेल्ने मात्र हो । कसलाई टिममा राख्ने वा नराख्ने उहाँहरूको कुरा हो । यसमा म केही भन्न चाहन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर