६ वर्षअघि लगातार ४ छक्का दिएर उपाधि सुम्पिएका स्टोक्स त्यसपछि निरन्तर दुई फाइनलमा चम्किए – Nepal Press

६ वर्षअघि लगातार ४ छक्का दिएर उपाधि सुम्पिएका स्टोक्स त्यसपछि निरन्तर दुई फाइनलमा चम्किए

काठमाडौं । टी-२० विश्वकपको इतिहासमा सन् २०१६ को संस्करण कमैले भुल्न सक्छन् । वेस्ट इन्डिज र इङ्ल्यान्डबीच भएको फाइनलको अन्तिम ओभर रोमान्चक बनेको थियो ।

वेस्ट इन्डिजलाई अन्तिम ओभरमा जितका लागि १९ रन आवश्यक रहेका बेला बलिङमा आएका थिए बेन स्टोक्स स्ट्राइकमा थिए, कार्लोस ब्राथवैट । ब्राथवैटले पहिलो बलदेखि लगातार छक्का प्रहार गर्न थाले। सुरुका चार बलमा लगातार छक्का प्रहार गरेपछि, जित्ने ढुक्क भएको इङ्ल्यान्ड स्तब्ध बनेको थियो ।

उनै स्ट्रोक्सले इङ्ल्यान्डलाई पछिल्ला तीन वर्षमा दुई उपाधि जिताउन निर्णायक भूमिका खेलेका छन् । सन् २०१९ मा आयोजना भएको एकदिवसीय विश्वकपको फाइनलमा स्टोक्सकै अविजित ८४ रनको मदतमा इङ्ल्यान्डले खेललाई टाई बनाएर सुपर ओभरमा पुर्याएको थियो । सुपर ओभरमा जित हात पार्दै इङ्ल्यान्ड त्यतिबेला विजेता बनेको थियो ।

२४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डलाई अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको थियो । ५० औँ ओभरको सुरुका दुई बलमा रन लिन नसकेका स्टोक्सले तेस्रो बलमा छक्का प्रहार गरेका थिए भने चौथो बलमा रन लिनेक्रममा न्युजिल्यान्डलका फिल्डरले गरेको थ्रो बल स्टोक्सको ब्याटमा लागेर चौका भएको थियो। त्यस बलमा इङ्ल्यान्डले ६ रन प्राप्त गरेको थियो ।

यद्यपी यो निकै विवादपूर्ण रह्यो। पाचौँ र छैटौँ बलमा इङ्ल्यान्डका ब्याट्सम्यान रनआउट भएपनि दुवैमा एक एक रन जोडेपछि खेल बराबरी भएको थियो। अन्तिम बलमा इङ्ल्यान्ड अलआउट पनि भएको थियो ।

त्यसअघि स्टोक्स र जोस बटलरले पाचौँ विकेटका लागि एक सय १० रनको साझेदारी गरेका थिए । पछि सुपर ओभरमा यही जोडि उत्रिएर इङ्ल्यान्ड एकदिवशीय विश्व विजेता बनेको थियो ।

स्टोक्स प्लेयर अफ दी फाइनल बनेका थिए। आइतबार अस्ट्रेलियामा सम्पन्न टी–२० विश्वकपको उपाधि इङ्ल्यान्डले जित्दा पनि स्टोक्स निर्णायक बने । उनको अविजित ५१ रन मदतमा इङ्ल्यान्डले एक सय ३८ रनको लक्ष्य एक ओभर बाँकी रहेको अवस्थामा ५ विकेट गुमाएर पुरा गर्यो । इङ्गल्यान्डले ४५ रन जोड्दा तीन विकेट गुमाएको अवस्थामा स्टोक्सले सम्हालिएर खेले।

उनले चौथो विकेटका लागि ह्यारी ब्रुकसँग ३९ र पाँचौँ विकेटका लागि मोइन अलीसँग ४६ रनको साझेदारी गरे । प्लेयर अफ दी म्याच साम करन भएपनि स्टोक्सलाई उक्त अवार्ड दिनुपर्ने भन्दै उनको प्रशंसा गरे ।

३१ वर्षीय अलराउन्डर स्टोक्सले इङ्ल्यान्डका लागि ८६ टेस्टमा १२ सतक र २८ अर्धसत तथा एक सय ९२ विकेट लिएका छन् भने एक सय ५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सतक र २१ अर्धसतक तथा ७४ विकेट हात पारेका छन् । यस्तै ४१ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्धसतक र २५ विकेट लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर