हिमालपारीको गाउँ उपल्लो गोरखा पुगेर प्रचण्डले दिए विकासको आश्वासन – Nepal Press

हिमालपारीको गाउँ उपल्लो गोरखा पुगेर प्रचण्डले दिए विकासको आश्वासन

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गरेका छन्।

गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गरे।

गोरखाको विकास र समृद्धिका लागि नै आफूले यस पटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिए।

अहिले संविधान पक्षधर र विरोधीहरूको लडाई रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रगमनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताए।

राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने आश्वासन दिए।

उनले भने, ‘यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिनुपर्छ।’

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको सुनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर